काठमाडौं/ माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पनि गत मंसिर २६ गते यताको बैठक जस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्ष मात्रै हुने भएको हो। बुधबारसाँझ बसेको कांग्रेसको पदाधिकारीहरुको बैठकमा पनि पौडेल पक्षका कुनै पनि नेताहरु सहभागी भएनन्।
आज (बिहीबार) दिउँसो बस्ने बैठकमा पौडेल पक्ष सहभागी नहुने नेता नविन्दराज जोशीले जानकारी दिए। ‘सभापतिज्यूले केही दिन अघि जसरी पेलेर निर्णयहरू गर्नुभयो त्यो फिर्ता नभएसम्म हामी बैठकमा सहभागी हुँदैनौँ,’ उनले भने, ‘आज राष्ट्रियसभाको निर्वाचनलाई उम्मेदवार चयन गर्न बैठक आह्वान गरिएको भनिएको छ। तर, हामी अस्तिको निर्णय नसच्याएसम्म बैठकमा सहभागी हुँदैनौँ। पार्टी त एउटै हो नि।’ केन्द्रीय कार्यालयको बैठक बहिष्कार गर्ने जनाएको पौडेल पक्ष भने पार्टी महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा दिउँसो ३ बजे भेला हुने तयारी गरेको छ।