मन्त्री नेम्वाङद्धारा राँके–रबी–भेडेटार सडक अनुगमन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मन्त्री नेम्वाङद्धारा राँके–रबी–भेडेटार सडक अनुगमन


दमक/भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले पूर्वीपहाडी जिल्लाहरु जोड्ने राँके–रबी–भेडेटार सडक खण्डकोे स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणको काममा ढिला सुस्ती भएपछि मन्त्री नेम्वाङ अनुगमनमा पुगेका हुन् ।

उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, स्थानीयबासी र सरोकारवालासँग छलफल गर्दै समयमै काम सक्ने वातावरण बनाउन पाँचथर, इलाम र धनकुटाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।

नेम्वाङले आयोजनाका इन्जिनियर र ठेकेदार कम्पनीका प्रतिनिधिसँग पनि काममा ढिलाइ भएकोबारे फिल्डमै छलफल गरेका छन् ।

अनुगमनमा भौतिक पूर्वाधार सचिव देवेद्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, धनकुटाका संघीय सांसद राजेन्द्र राई, मोरङका संघीय सांसद घनश्याम खतिवडा लगायतका पनि सहभागी थिए ।


मेची र कोसी राजमार्ग जोड्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियाताम नै यो सडक कालोपत्रे गर्न ठेक्का लागेको थियो ।

भारतको आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोडमा ठेक्का लागेको हो । यो परियोजनामा १३ प्रतिशत लगानी नेपालले पनि गर्दैछ भने ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोगबाट हुनेछ ।

१०१ किलोमिटर लामो यो सडकको भारतीय कम्पनी एप्कोले निर्माणको जिम्मा लिएको छ । यति लामो सडक खण्डमा कल्भर्टबाहेक ठूला पूलहरु बनाउनुपर्ने अवस्था छैन ।

मन्त्री नेम्वाङले यो खण्ड विस्तारमा ठूलो अवरोध र चुनौती नभएकाले तोकिएको समयभित्रै आयोजना निर्माण गरिसक्ने ठेकेदार कम्पनीलाई पनि निर्देशन दिए ।

केही स्थानमा मात्रै पोलहरु हटाउनुपर्ने अवस्था रहे पनि समन्वय गरेर हटाउँदै फटाफटी कालोपत्रे गर्न उनले निर्देशन दिएका हुन् ।

२०४६ सालमानै ट्रयाक खुलेपनिे सडक स्तरोन्नती गर्न ढिलाइ भएको थियो । गत वर्ष प्रधानमन्त्री ओलीले नै यो सडकको शिलान्यास गरेका थिए । दुई लेनमा विस्तार हुने यो सडक तीन वर्षभित्र बनाइसक्ने गरी ठेक्का लागेको हो ।

सम्बन्धित खवर