प्रदेश ३ नामकरण : नाम बागमती, राजधानी हेटौंडा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश ३ नामकरण : नाम बागमती, राजधानी हेटौंडा


दमक/प्रदेश ३ को नामकरण तथा स्थायी राजधानी कायम गरिएको छ । प्रदेशसभाको आइतबार हेटौंडामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा बाग्मती नामकरण गरिएको हो भने स्थायी राजधानी हेटौंडा कायम गरिएको हो ।

मकवानपुरको हेटौंडालाई प्रदेशको राजधानी बनाउने पक्षमा मतदानमा सहभागी एक सय आठ सांसदमध्ये हेटौंडाको पक्षमा एक सय पाँच मत र बिपक्षमा तीन मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

हेटौंडाको पक्षमा प्रदेशसभामा रहेका सदस्य संख्याको दुई तिहाइ बहुमत पुगेकाले मकवानपुर जिल्लाको हेटौंडा स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव पारित भएको सभामुख श्रेष्ठले घोषणा गरेका थिए ।

प्रदेशसभामा एक सय १० सांसद रहेकोमा सभामुख श्रेष्ठ मतदानमा सहभागी भएनन् भने स्वतन्त्र सांसद प्रेम तामाङ संसद्मै उपस्थित भएनन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडा कायम गरियोस् भनी संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रस्ताव पेस गरेका थिए । प्रस्तावलाई नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रीता माझी र राप्रपा संयुक्तकी सांसद रीना गुरुङले समर्थन गरेका थिए । सो उपधारामा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ ।

एक सय १० जना सांसद रहेको प्रदेशसभामा नेकपाका दुईतिहाइ बढी अर्थात् ८० सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका २२, विवेकशील साझा (विवेकशील नेपालीका दुई, साझा विवेकशीलका एक) का तीन, नेमकिपाका दुई, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका एक–एक सांसद छन् ।

राजधानी काभ्रेपलाञ्चोकको धुलिखेलको पक्षमा तत्कालीन विवेकशील साझाको तीन मत मात्र परेपछि प्रस्ताव अस्वीकृत भयो ।

विवेकशील साझाका तर्फबाट प्रस्तावक रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठले धुलिखेलको पक्षमा मतदान गरे । रसुवाका स्वतन्त्र सांसद प्रेम बहादुर तामाङ र नेकपा काभ्रेका चारसहित पाँचजना सांसद तटस्थ बसे ।

धुलिखेल प्रस्तावको मतदानमा काभ्रे नेकपाका सांसदहरू बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, रत्नप्रसाद ढकाल र चन्द्रबहादुर लामा तटस्थ बसे । काभ्रेलाई राजधानी तोक्नुपर्ने पक्षमा लबिङ गर्दै आएका उनीहरूले नेकपा सचिवालय बैठकको निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक र मिडियामा धारणा राख्दै आएका थिए ।

केही समयअघि काभ्रे स्थायी राजधानी हुनुपर्ने भन्दै उनीहरूले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता पनि गरेका थिए । तर नेकपा प्रदेश संसदीय दलले नेकपा सचिवालयको निर्णय राजधानी हेटौंडा र नाम बाग्मतीमा अनिवार्य ह्विप जारी गरेपछि उनीहरू पार्टी निर्णय मान्न बाध्य भए ।

प्रदेशको नाम र स्थायी राजधानी तोकिएपछि बाग्मती प्रदेश सरकारको पहिलो बैठक आइतबारै बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सातवटा निर्णय गरेको छ ।

बैठकले घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गर्ने सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष २०७७र७८ का लागि संघीय विशेष अनुदान सम्बन्धमा, आर्थिक वर्ष २०७७र७८ का लागि संघीय समपूरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपूरक अनुदानको दोस्रो चरणका योजनाहरू स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

सम्बन्धित खवर