चीन र जापानमा एकैखाले नयाँ भाइरस भेटियो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चीन र जापानमा एकैखाले नयाँ भाइरस भेटियो


एजेन्सी/ एक नयाँ भाइरसको कारण चीनमा केही समयदेखि भय उत्पन्न भएको छ । उक्त भाइरसको कारण एक जनाको ज्यान गइसकेको छ भने दजनौंलाई अस्वस्थ बनाएको छ । उक्त भाइरसबारे पर्याप्त सूचना संकलन नभएकाले एसियाभरी भाइरसलाई लिएर भय सिर्जना भएको छ ।

सो भाइरस कोरोना–भाइरसको नयाँ स्ट्रेन रहेको पाइएको छ । यो प्राणघातक सार्स र मर्सका लागि जिम्मेवार भाइरसको परिवार रहेको वैज्ञानिकले बताएका छन् । यो रोगको पहिलो लक्षण केन्द्र चीनको सबैभन्दा ठूलो सहर उहानमा उत्पति भएको थियो । र यही रोगको भाइरस जापानमा पनि पहिचान भएको छ । यस अघि थाईल्याण्डमा पनि भाइरस पत्ता लागेको थियो । रहस्यमयी भाइरसको लुनार नयाँ वर्षको समयमा देखिएकाले अधिकारीहरु महामारीको सम्भावनालाई लिएर सतर्क भएका छन् ।

विश्वभरका भाइरोलोजिष्ट अहिले चिनियाँ अनुसन्धानदाताले दिएको भाइरसको जिनोम सिक्वेन्स अध्ययन गरिरहेका छन् । अनुसन्धानदाताले अझै यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना खुट्याउन सकेका छैनन् ।

बुधबार अमेरिकी ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ ले उहानको भ्रमण गर्न चाहने यात्रुलाई पहिलो तहको भ्रमण सतर्कता जारी गरेको छ । यो तीन तहको यात्रा सतर्कतामा सबैभन्दा न्यून चेतावनी हो । विश्व स्वास्थ संगठनका अनुसार ६१ वर्षीया जापानी महिलाले आफू विगतमा उहानको स्थानीय बजारमा नियमित जाने गरेको स्वीकारेकी छन् । तर उनी जनवरी ५ मा रोग सार्वजनिक हुनुभन्दा अघि त्यहाँ गएकी थिइन् ।

नयाँ भाइरसबाट संक्रमित पहिलो विरामी उहानको नन्हुआ होलसेल समुन्द्री खाद्य बजारमा भेटिएको थियो । त्यसपछिका अधिकाँश व्यक्ति पनि सोही बजार क्षेत्रमा गएका व्यक्तिमा भेटिएको थियो । हाल उक्त बजार सक्रमण–निरोध पार्न बन्द गरिएको बताइएको छ । उहान स्वास्थ निकायले उक्त बजारबाट लिएको ‘नमूना’ मा भाइरस भेटिएको बताएको छ ।

माछाको अतिरिक्त, बजारमा चरा, खरायो तथा साँपजस्ता जीवित जनावर बेचिने भएकाले तिनको खरिद गर्नेहरुमा पनि भाइरस सरेको चिन्ता बढेको छ । सार्स र मर्स पनि जनावरबाट मानिसमा सरेको थियो ।


के भाइरस  मानिस मानिस बीचमा पनि सर्छ ?

यो भाइरस मानिस बीचमा पनि सर्ने विषयबारेमा हालसम्म अन्यौलता देखिन्छ । मानिस बीचमै सर्ने अवस्थामा यो निकै खतरनाक हुनसक्छ । चीनमा भर्खरै लुनार नयाँ वर्षको यात्रा सिजन सुरु भएको छ । यसक्रममा करोडौं चिनिया रेल, बस र जहाजमा कोचिएर घरपरिवारलाई भेट्न जाने गर्छन् । लुनार नयाँ वर्ष जनवरी २५ मा पर्छ ।

चिनिया स्वास्थ अधिकारी र विश्व स्वास्थ संगठनले गरेको अध्ययनमा यो भाइरस मानिस मानिसबीचमा सरेको कुनै ‘स्पष्ट प्रमाण’ नभेटेको बताएको छन् । हालसम्म कुनै पनि स्वास्थ उपचारमा संलग्न कर्मचारीलाई यो रोगको लक्षण नदेखिनुलाई पनि त्यसको प्रमाणको रुपमा हेरिएको छैन । तथापि शुक्रबार कुनै स्पष्ट प्रमाण नदिइकन उहान स्वास्थ निकायले ‘मानिस मानिसबीचमा भाइरस सर्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने’ बताएका छन् । समाचार अनुसार एक नयाँ संक्रमित जोडीमा श्रीमान ‘नन्हुआ होलसेल समुन्द्री खाद्य बजार’मा काम गर्ने भएपनि उनकी श्रीमती कहिले पनि बजारमा नगएको बताइएको छ ।

अन्य केही बिरामीले पनि आफू संक्रमण सुरु भएको बजारमा कहिल्यै नगएको बताए । हङ्कङ्बाट उहान गएका चिकित्सकले पनि संक्रमित जोडीको अध्ययन गरेर श्रीमानबाट श्रीमतीमा सरेको हुन सक्ने भएकाले मानिसबाट मानिसमा संक्रमण सर्न सक्ने सम्भावना रहेको बताए । तर कुनै पनि चिकित्सकीय स्टाफमा संक्रमण नफैलिएकोमा दिर्घकालीन खालको सर्ने जोखिम नरहेको बताए ।

सार्सजस्तो खतरनाक छैन्

यो नयाँ कोरोना भाइरस सार्स वा मर्सजतिको खतरनाक वा सरुवा देखिएको छैन । यसको लक्षण ज्वरो वा खोकीमात्र हो, केहीमा सास फेर्ने गाह्रो देखिएको छ । बिहिबार ६ जना बिरामी नाजुक अवस्थामा देखिएका थिए । केहीमा मिर्गौला र कलेजोको समस्या देखिएको छ र दुई जना लाईफ सपोर्टमा राखिएको छ ।

सन् २००३ मा चिनियाँ स्वास्थ अधिकारीले सार्स प्रकोपको स्तर लुकाएका थिए । तर यसपटक भने तिनले आफ्ना जानकारी विश्व स्वास्थ समुदायसँग जानकारी गरेका छन् ।

सम्बन्धित खवर