पवित्रहाङमा कप प्रतियोगिताको खेल तालिका सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप प्रतियोगिताको खेल तालिका सार्वजनिक


ज्ञानु केदेम लिम्बू
माङसेबुङ/हाम्रो पहिचान, राष्ट्रको शान भन्ने नाराका साथ १० औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता धार्मिक पर्यटकीयस्थल माङसेबुङमा सञ्चालन हुने भएको छ ।

प्रतियोगिता माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा सञ्चालन हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता आगामी माघ २३ गते सुरु हुने छ ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, पान्थर, झापा, मोरङ र सुनसरीका ८ टीमको सहभागीता रहने हक्चातका सचिव सरिता राईले बताइन् ।

प्रतियोगितामा ए. पि. एस. सी. माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एम. सि. सि. फूटबल क्लब सूर्योदय न.पा. इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलामको सहभागिता रहने आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिए ।

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजक समिति हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो ।

प्रेस विज्ञप्ती

सम्बन्धित खवर