अनियन्त्रित कोरोना भाइरसको कारण चीन–नेपाल नाका बन्द - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनियन्त्रित कोरोना भाइरसको कारण चीन–नेपाल नाका बन्द


दमक/ चीनबाट महामारीको रुपमा फैलिएको प्राणघातक नोवेल कोरोना भाइरसको कारण चीनले नेपालसँगका अधिकांश सीमा नाका बन्द गरिदिएको छ ।

विश्वब्यापीरुपमा तिब्र रुपले कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि संक्रमण रोकथामको लागि सीमा नाका बन्द गरेको हो । चीनले नेपालसंग जोडिइको नाका बन्द गरिदिएपछि उत्तरी उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ ।

चीनले नाका बन्द गरेपछि चीनको स्वशासित क्षेत्र तिब्बतका सिमावर्ती बजारमा निर्भर नेपाली बस्तीमा खाद्यन्न अभावको समस्या देखिन थालेको छ । रोजगारी र बजारका लागि चीन पुगेका नेपालीहरु सीमानाका बन्द भएपछि उतै थुनिएका छन् ।

चीनिया स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्क राखेर सामान्य ज्वरो आएका मानिसहरुलाई समेत रोक लगाएका छन् । सिन्धुपाल्चोकको कोदारी–तातोपानी नाकाबाट माघको पहिलो सातादेखि नै आयात–निर्यात बन्द गरिएको छ । रसुवाको रसुवागढी नाका पनि कोरोनाका कारण ठप्प छ । ताप्लेजुङको ओलाङचुङगोला नाका पनि चीनले माघ १६ गतेदेखि नै बन्द गराइसकेको छ । । त्यसतै संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका पनि १७ दिन अघीदेखी बन्द भएको छ ।

तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । सडक निर्माणका लागि नेपालतर्फ आएका आफ्ना नागरिकलाई फिर्ता बोलाएर चीनले नाका बन्द गरिदिएको हो ।

चीनसँगको नाका बन्द भएपछि खाद्यन्न अभाव हुन थालेको र हेलिकोप्टरबाट ढुवानी गर्न पहल भइरहेको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताएका छन । दार्चुलाको तिंकर, मुस्ताङको कोरोला, गोरखाको लार्केपास र हुम्लाको यारी नाकामा पनि चीनले आवतजावतमा कडाइ गरेको छ । यीमध्ये केही नाकामा भने हिमपातका कारण हिउँदयाममा बाक्लो आवतजात हुँदैन ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरका कारण करिव ५ सय जनाको ज्यान जानुको साथै २० औ हजारमा संक्रमण देखिएको छ ।

चीनले कोरोना भाइरसबाट सक्रमणमा रहेकाहरुलाई छुट्टै अस्पतालमा राखेर उपचार गर्नका लागि अस्पताल बनाई सकेको छ । चिनले १० दिनमै नयाँ अस्पतालको निर्माण गरि कोरोना भाइसबाट संक्रमणमा परेकालाई उपचार गर्दै आइरहेको जनाएको छ ।

नेपाल, भारतलगायत १८ देशमा कोरोना भाइरस फैलिसकेको छ । अमेरिका र अष्ट्रेलियाले चिनियाँ नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न प्रतिबन्ध लागाएका छन् । नेपालस्थित चीनिया दूतावसले पनि चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

सम्बन्धित खवर