आन्छुमे नसान
माङसेबुङ/इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगितामा माउण्ट एभ्रेष्ट स्पोर्टिङ क्लव सुनसरीले बिजयी सुरुवात गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलाम र माउण्ट एभ्रेष्ट स्र्पोटिङ क्लव सुनसरी बिच शुक्रबार सम्पन्न खेलमा माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामलाई ट्राईब्रेकरमा ३–२ ले पराजित गर्दै माउण्ट एभ्रेष्ट स्पोर्टिङ क्लव सुनसरीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेलकोे सुरुवाती समयमै दुवै टीमका खेलाडीहरु आक्रमक भएर मैदानमा उत्रेका थिए । खेलको पहिलो हाफको २० औं मिनेटमा सुनसरीका कविता चौहानले गोल गदै टीमलाई अग्रता दिलाए । उनले माङसेबुङका गोलकिपरबाट रिवाउन्स भएको बललाई कुनै गल्ती नगरी जाली चुमाएका थिए ।
मध्यान्तर पछि भने माङसेबुङ थप आक्रमक भएर मैदान प्रबेश गरेका थिए । मध्यन्तर पछिको सुरुवाती समयमा सुनसरीलार्ई निकै दवावमा राख्दै खेलको ५३ औं मिनेटमा माङसेबुङका सुमिका राईले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । उनले फ्रिकिक्बाट उत्कृष्ट गोल गरेका थिए ।
त्यपछि भन खेलको निर्धारित समयमा दुबै टीमले गोलगर्ने थुप्रै मौकाहरु पाएपनि गोल गर्न भने सकेनन् । निर्धारित समयमा बराबरीमा रोकिए पछि खेल अतिरक्ति समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयमा पनि दुबै टीमबाट गोल हुन नसकेपछि नतिजा ट्राईब्रेकरमा पुगेको थियो ।
ट्राईब्रेकरमा सुनसरीका रेजिना श्रेष्ठ, मुना मगर र सुस्मीता राईको प्रहार गोलमा परिनत भयो भने मनिसा बिष्ट र कविता चौहानको प्रहारलाई माङसेबुङका गोल किपरले बचाए ।
यसैगरि माङसेबुङका बिनिता राई र उपासना लिम्बूको प्रहार मात्र गोलमा परिनत भयो भने समिता राई र लक्ष्मी र सिता राईको प्रहारलाई सुनसरीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै टीमलाई जीत दिलाए । खेलको वुमन अफ दी म्याच माङसेबुङका शिला राई भए ।
विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता अन्तरगत शनिबार चुलाचुली गाउँपालिका खेलकुद बिकास समिति इलाम र कन्काई एकाडेमीक स्पोर्टस क्लव झापा बिच हुने आयोजक समितिका सचिव सरिता राईले बताए ।
जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने प्रतियोगितामा ए. पि. एस. सी. माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एम. सि. सि. फूटबल क्लब सूर्योदय न.पा. इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलामको सहभागिता रहेको सचिव राईले बताए ।
यसरीनै प्रतियोगितामा फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आङबुहाङले बताए ।
आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।
पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।
म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजक समिति हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।
माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो ।