प्रथम रेडस्टार गोल्डकप प्रतियोगिता सुरु, आयोजक रेडस्टार अन्तिम चारमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम रेडस्टार गोल्डकप प्रतियोगिता सुरु, आयोजक रेडस्टार अन्तिम चारमा


माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ ।

आइतबार देखि शुरु भएको रेडस्टार गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडस्टार क्लव विजयी शुरुवात गरेको छ । एफसीडीसी फाकफोकथुम ७ इलामलाई सडन डेथमा पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा समेत २–२ को बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म कुर्नुपरेको थियो ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले प्रतियोगिताको उद्घाटन गरेका छन् । रेडस्टार क्लब माङसेबुङ २ इलामको आयोजनामा संचालन हुने प्रतियोगितामा इलाम र पाँचथरका ८ टिमको सहभागिता रहेको आयोजक रेडस्टार क्लबकमा अध्यक्ष मदन राईले जानकारी दिएका छन् ।

प्रतियोगितामा आयोजक रेडस्टार क्लब माङसेबुङसँगै एफसीडीसी फाकफोकथुम ७ इलाम, देउमाई खेलकुद विकास समिति इलाम, इलाम एफसी इलाम, गुनमुने एफसी इलाम, राइजिङ स्टार क्लब रवी पाँचथर, फुवा युवाक्लब इलाम र एपीएफसी माङसेबुङ इलामको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल ११ फागुनमा हुनेछ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संचालन गर्न लागेको प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

उद्घाटन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष इदिङ्गोले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिने बताउदै त्यसका लागि गाउँपालिका लागिपरेको बताए । यस्ता प्रतियोगितामा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

रेडस्टार क्लबका अध्यक्ष मदन राइको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत क्लबका सल्लाहकार पृथीमान जवेगू र संचालन सचिव हरी राईले गरेका थिए ।

सम्बन्धित खवर