थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टि २० मा मलेसियासँग नेपाल भिड्दै - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टि २० मा मलेसियासँग नेपाल भिड्दै

दमक / थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको बैंककस्थित ट्रेड थाई मैदानमा मध्याह्न हुने खेलमा नेपाल निश्चित जितका लागि मैदानमा उत्रने भएको छ । राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी अगष्टमा हुने एसिया कप छनोटमा स्थान बनाउने छन् ।

पाँच टोलीबीच हुने प्रतियोगितामा नेपालले मलेसियासँगै हङकङ, थाइल्यान्ड र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । मलेसिया पनि पहिलो खेलमा नेपाललाई पराजित गर्न सके उपाधि होडमा पुग्ने विश्वासमा छ ।

नेपालविरुद्ध खेल्नुअघि मलेसियाले हङकङविरुद्ध पाँच खेलको टि २० सिरिज क्लिन स्वीप गर्दै आफू बलियो रहेको संकेत दिएको थियो । प्रतियोगितामा नेपाल पहिलो खेलबाटै आफ्नो बलियो उपस्थिति देखाउने प्रयासमा हुनेछ ।

कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगितामा सहभागी हुनुअघि आफूहरूले कुनै टोलीलाई कमजोर नठन्ने बताएका छन् । मलेसिया र नेपाल हालसम्म टि २० मा सातपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् ।

जसमा नेपालले ६ खेलमा जित हात पार्दा मलेसियाले एक खेलमा जित निकालेको छ । नेपालले पहिलोपटक सन् २००७ मा कुवेतमा भएको एसिसी टि २० मा मलेसियाको सामना गरेको थियो ।

उक्त खेलमा नेपालले २१ रनको जित निकालेको थियो । त्यसपछि नेपालले सन् २००९ को एसिसी टि २० मा पहिलोपटक मलेसियासँग ६ विकेटले पराजित भयो । त्यस्तै, २०१३ को एसिसी टि २० मा घरमै भएको प्रतिस्पर्धामा नेपालले १९ रनको जित निकालेको थियो ।

सन् २०१८ मा मलेसियामा भएको टि २० एसिया रिजनल छनोटमा नेपालले आठ विकेटको जित निकालेको थियो । नेपालले २०१९ को जुलाई १३ र १४ मा दुई खेलको टि २० सिरिज खेलेको थियो, जसमा नेपाल दुवै खेलमा विजयी भएको थियो ।

पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । अर्को खेलमा नेपालले ६ रनको रोमाञ्चक जित निकालेको थियो । पछिल्लोपटक भने नेपालले आइसिसी टि २० विश्वकप छनोट अन्तर्गत एसिया रिजनल फाइनलमा २४ जुलाई २०१९ मा मलेसियालाई सात विकेटले पराजित गरेको थियो ।

सम्बन्धित खवर