मेलबर्न / आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया पाँचौ पटक विश्व च्याम्पियन बनेको छ ।
नेपाली समय अनुसार आइतबार बिहान मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलो पटक फाइनलमा पुगेको भारतलाई पराजित गर्दै अष्ट्रेलिया पाँचौ पटक च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि एलिसा हिलेले ३९ बलमा ७५ रनको शानदार पारि खेलिन् । उनले महिला टी–२० मा अष्ट्रेलियाका लागि २ हजार रन पूरा गरेकी छन् ।
उपाधि दिलाउने क्रममा बेथ मुनीले अविजित ७८ रन जोडिन् । पराजित भारतका लागि बलिङतर्फ दिप्ती शर्माले २ र पुनम यादवले १ विकेट झारिन् । १८५ रनको चुनौतीसहित जवाफी ब्याटिङ आएको भारतीय महिला टिम ९९ रनमै अलआउट भएपछि उपाधि अष्ट्रेलियाको पोल्टामा गएको हो ।
पराजित भारतका लागि २ विकेट लिएकी दिप्ती शर्माले ब्याटिङमा पनि सर्वाधिक ३३ रन बनाइन् । भारतका लागि अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो ।
उपाधि जितेको अष्ट्रेलियाका लागि मेगन सुटले ४ विकेट झारिन् । जेस जोनासेनको नाममा ३ विकट रह्यो । योसँगै अस्ट्रेलियन महिला टोलीले पाचौँ पटक टी–२० विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि विश्वकप जितेको थियो । एजेन्सी