फेदेनमा याक्थुङ प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कृत - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फेदेनमा याक्थुङ प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कृत


फेदेन / याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालले एक जना स्रष्टालाई सम्मान तथा तीन जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

साहित्यकार प्रेम ओझाको प्रमुख आतिथ्यमा सोमबार पान्थरको सदरमुकाम फिदिमस्थित होटल सगुनको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठान नेपालले झापाको बाह्रदशीका लिम्बूभाषी साहित्यकार टेकबहादुर योङहाङ ‘मुन्ना’ लाई यम्बुगेन सम्मानबाट सम्मान गरेको हो ।

यसैगरि याक्थुङ नाल्बो पत्रकारिता पुरस्कारबाट सिक्किम दरापका लिम्बूभाषी स्रष्टा तथा पत्रकार हर्क खाम्दाक पुरस्कृत भएका छन् । सम्मानपत्र सहित नगद १६ हजार रासीको उक्त पुरस्कारबाट खाम्दाक पुरस्कृत भएका हुन् ।

लिम्बू भाषा–साहित्यको बिकासमा योगदान पु¥याउने स्रष्टालाई हरेक बर्ष पुरस्कृत गरिने बमजय स्मृति साहित्य पुरस्कारबाट सिक्किम तिम्रङका स्रष्टा रुपलाल खाम्दाक पुरस्कृत भएका छन् । उक्त पुरस्कारको रासी सम्मानपत्र सहित नगद १५ हजार रुपैंयाँ रहेको छ ।

सुभाष फेजोङ नेम्बाङ नवोदीत साहित्य पुरस्कारबाट भने पाँचथर मिक्लाजुङ ८, दुर्दिम्बा स्थायी ठेगाना भई हाल झापाको दमकमा रहेर लिम्बू साहित्य सिर्जना र पत्रकारितामा सक्रिय युवा स्रष्टा डिल्लीश्वर मुसाहाङ ‘अम्याङसा’ लाई पुरस्कृत गरिएको छ । पुरस्कारको रासी सम्मानपत्र सहित नगद पाँच हजार रुपैंयाँ रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्रेम ओझाले चारै जना स्रष्टाहरुलाई सम्मान पत्र र नगद राशीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि ओझाले लिम्बू भाषा–साहित्यको क्षेत्रमा याक्थुङ प्रज्ञा प्रतिष्ठानले गरिरहेका गतिबिधिहरुको प्रशंसा गरे । ओझाले विभिन्न भाषाभाषीको साहित्यको प्रबद्र्धनका लागि राज्यले उल्लेख्य काम गर्न नसकेको समेत बताए ।

कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको तीन वटा कृतिहरुमा मलिसा याक्थुङ्बा लिम्बूको नारीवादी कथा संग्रह ‘मेन्छुमा नु युप्पारुङ’, सिकुमदाङ याक्थुङबाको खण्डकाब्य ‘लोलीमहाङ्मा’ र राजेन्द्रकुमार जबेगु हाङवासाङ याक्थुङबाको लेखमाला ‘साप्पेन पोना’ कृतिको बिमोचन गरिएको थियो ।

याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जबेगूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक दर्जन कविहरुले कविता सुनाएका थिए ।

सम्बन्धित खवर