चौथो संस्करणको राजर्षि जनक कपको उपाधि नेपाल पुलिस क्लवलाई - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चौथो संस्करणको राजर्षि जनक कपको उपाधि नेपाल पुलिस क्लवलाई

सर्लाही / सर्लाहीको बागमतीमा जारी चौथो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधी नेपाल पुलिस कल्वले कव्जा गरेको छ ।

सर्लाहीको बागमती ११, कर्मैयास्थित स्व.सन्तोष स्मृति खेल मैदानमा आइतबार दिउँसो भएको खेलमा पुलिसले कञ्चनजंघा एफसी सिक्किमलाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधी कव्जा गरेको हो ।

उपाधी कव्जा गरेसँगै पुलिस राजर्षि जनककपको पहिलोपटक च्याम्पियन बनेको छ । यो सँगै पुलिसले १० लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको कञ्चनजंघाले पाँच लाख रुपैयाँमा चिक्त बुझायो ।

खेलको पहिलो मिनेटमा पुलिसका राम वाजीले दिएको क्रस पासलाई तीर्थ राना मगरले डिबक्स बाहिरबाट गरेको प्रहारबाट पहिलो गोल गर्दै पुलिसलाई खेलमा अग्रता दिलाए ।

खेलको १२औँ मिनेटमा पदम भट्टराइको क्रस पासलाई जुमानु राईले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै २–० को अग्रता दिलाए ।

यसैगरि यता खेलको १९औं मिनेटमा कञ्चनजंघाका अमिर लामाले पुलिसका खेलाडीबाट बल खोस्दै डिबक्स बाहिरबाट गरेको प्रहारबाट पुलिसको गोल पोष्टको जाली चुमाउदै खेललाई २–१ मा फर्काएका थिए ।

यसपछि भने प्रतिस्पर्धात्मक खेलमा दुबैबाट गोल हुन नसक्दा नतिजा पुलिसको कव्जा गएको थियो । २२ फागुनबाट शुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित १२ टीमले सहभागिता जनाएको थियो ।

पुलिसका जुमानु राई सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५१ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै सर्लाहीका उदयमान खेलाडी बागमती युवा क्लबका विजय घलानले १५० सिसिको पल्सर मोटरसाइकल प्राप्त गरे ।

यसैगरि सर्वोत्कृष्ट डिफेन्डर निवास राना (कञ्चनजंघा), उत्कृष्ट गोलकिपर संजिब श्रेष्ठ (पुलिस), उत्कृष्ट मिडफिल्डर रुपबहादुर लामा (पुलिस), उत्कृष्ट प्रशिक्षक संजिव जोशी (पुलिस) घोषित भए । विधागत उत्कृष्ट खेलाडीले नगद २०–२० हजार प्राप्ते गरे ।

सम्बन्धित खवर