विद्यालय समय ९ बजे देखि लागू गर्ने सरकारको तयारी - Mangsebung News
  • शनिबार, मङि्सर १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विद्यालय समय ९ बजे देखि लागू गर्ने सरकारको तयारी

दमक / विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म सरकारले देशभर लागू हुने गरी तोक्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने तयारी गरेको हो ।

हाल आधिकारिक विद्यालय समय भने १० बजेदेखि ४ बजेसम्मको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न र गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ ।

विद्यालय समय ९–४ नै किन ?

विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय समान छ । अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने गर्दछन् । कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् ।

‘खासगरी काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको हो,’ शिक्षा सचिव दाहालले भने । यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ओसार्छन् । सार्वजनिक, सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्या छ ।

त्यसैले नयाँ समय लागु गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरेको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयबारे सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु थिए ।

शिक्षा मन्त्रालयले विद्यालय सन्चालनको नयाँ समय लागू गराउने विषयमा सरोकारवालासँग छलफल गर्दै आएको छ । यसमा आवश्यक सुझाव दिन शिक्षा शाखा प्रमुख कृष्णप्रसाद काप्रीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ ।

सम्बन्धित खवर