यो पंक्तिकार १७ बर्षको ठिटो थियो । वि सं २०४९ सालको माघ महिना थियो । माङआज्ञा भए अनुसार किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङबाट भविष्यवाणी गर्नुपर्ने भएकोले गुरुआश्रम लारुम्बाबाट कार्यक्रममा उपस्थित हुनुपर्ने उर्दी आयो । इलामको तत्कालीन बाँझो ९ स्थित भालुटारमा भव्य धार्मिक अनुष्ठान हुने पुर्वका सबै क्षेत्रमा सनसनी फैलिएको थियो ।
चराचर जगत र ब्रह्माण्डका बारेमा भविष्यवाणी हुने कुराले सबैलाई कौतुहल्ता पैदा गर्यो। जुन कुरा मजस्ता कलिलो मस्तिष्कमा पनि प्रवेश गर्यो र लारुम्बा जाने निधो गरियो। म मेरो गाउँ महमाई ६ त्रिवेणी वस्तीबाट दर्जनौं साथीहरू सँग कार्यक्रम लारुम्बा लाग्यौं। खासमा त्यति टाढा होइन कार्यक्रम स्थल तर टाढा लाग्थ्यो। करिबकरिब ४ घण्टा बडी पैदलयात्रा पछि कार्यक्रम स्थल लारुम्बा पुगियो।
उतिबेला घर टहरा केही थिएन । स्याउला काटेर कटेराहरु आयोजकले बनाएको थियो त्यहीं बसियो। भोलिपल्ट अर्थात २०४९ माघ ३ गते भव्य कार्यक्रम शुरू भयो। तोरणहरुले झकिझकाउ यज्ञमण्डपमा मुन्धुम वाचन गर्दै माङसेवा सम्पन्न भयो। त्यसपछि किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युबाट भविष्यवाणी प्रारम्भ भयो।
धर्मगुरु ज्युले भन्नुभयो! “मलाई भन्न अप्ठ्यारो लागेपनि माङको आज्ञाले गर्दा तपाईंहरुलाई माङको खबर सुनाउँदै छु। हामी बस्ने पृथ्वीको गती बिग्रिँदै गइरहेको छ, त्यसले पृथ्वीमा बस्ने प्राणीहरुमा व्यवहारिक परिवर्तन आउनेछ। अनेकन महामारी, औषधी नलाग्ने नयाँनयाँ रोगहरु आउने, पृथ्वीमा ठूलाठूला उथलपुथल आउने, ठूलाठूला राजनीतिक परिवर्तनहरु आउने, रक्तपात हुने छ ।”
भविष्यवाणीमा धर्मगुरुले पृथ्वीको गति र अन्य ग्रहको क्रियाकलापले सम्पूर्ण प्राणी, वनस्पति र प्रकृतिलाई प्रत्यक्ष प्रभाव पार्ने भएकोले पृथ्वीमा ठूलाठूला विपत्ति र मानवीय संकट निम्तिने खतरा औंल्याउनुभएको थियो। राजनीतिक परिवर्तन, रक्तपात र विभिन्न संकटको बिषयमा लामो चर्चा गर्नुभएको थियो। धर्मगुरु ज्युले गर्नुभएको भविष्यवाणीलाई विश्व ब्रह्माण्ड र महाप्रलयबारे भविष्यवाणीझ नामबाट पुस्तकमा ल्याईएको छ।
–दोस्रो भविष्यवाणी २०५९
किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युले दोस्रोपटक २०५९ सालमा तत्कालीन बाँझो ९ माङसेबुङ ( हाल माङसेबुङ ५ ) मा भविष्यवाणी गर्नुभएको थियो। यसबेला पनि अघिल्लो ( २०४९ ) कै भविष्यवाणीहरुलाई दोहोर्याइएको थियो।
यसपटकको भविष्यवाणीमा भुकम्प र महामारीको बिषयमा धेरै चर्चा गर्नुभएको थियो। बिशेश गरेर पृथ्वीको आयु र मानवीय संकटका बारेमा धेरै चर्चा भएको थियो। ग्रहहरुको उथलपुथलले पृथ्वी ठूलो संकटमा पर्ने बताउनुभएको थियो। यसका अतिरिक्त अज्ञात रोग र महामारीहरुले मानवीय अस्तित्व पनि संकटमा पर्ने कुरा सुचित गर्नुभएको थियो।
–अन्तिम भविष्यवाणी २०६१
किरात धर्मगुरुले आफ्नो भविष्यवाणीको अन्तिम अध्यायको रुपमा वि सं २०६१ मा भविष्यवाणी गर्नुभएको थियो। यसलाई केही परिस्कृत र थप भविष्यवाणीको रुपमा बुझ्न सकिन्छ।
यसपटकको भविष्यवाणीमा पनि पृथ्वीमा आइपर्ने संकट र यसबाट वच्न सकिने उपायबारे सुचित गराइएको थियो। विश्वमा आउनसक्ने राजनीतिक परिवर्तन, विज्ञान प्रविधिको विकास र यसको असर, अज्ञात रोग तथा महामारी लगायतका बिषयमा भविष्यवाणी केन्द्रीत थियो।
–भविष्यवाणीप्रति मेरो बुझाईः
किरात धर्मगुरु ज्युले विभिन्न बिषयमा भविष्यवाणी गर्नुभएको छ। प्रकृति प्रकोप, मानवीय संकट, राजनीतिक परिवर्तन, समसामयिक लगायतका बिषयमा बिस्तृत रुपमा भविष्यवाणी दिनुभएको छ।
तथापिस् यतिबेला अज्ञात रोगहरुका कारणले विश्व आतङ्कित भइरहेको अवस्थामा यही बिषयमा छोटो चर्चा गर्न चाहान्छु। किरात धर्मगुरु ज्युले पटकपटक गर्नुभएको भविष्यवाणी र उपदेशहरुमा अज्ञात र खतरा भाइरसहरुको बारेमा चर्चा गर्नुभएको छ।
वहाँले अज्ञात रोग र भाइरसहरु उत्पन्न भएर मानव सभ्यता जोखिममा पर्नसक्ने खतरा औंल्याउनुभएको छ। वि सं २०४९, २०५९ र २०६१ को हरेक भविष्यवाणीमा यो बिषयलाई दोहोर्याउनु भएको छ। यसबाट पनि मानव समुदाय विभिन्न भाइरस अथवा अज्ञात रोगहरुबाट जोखिमपूर्ण अवस्थामा छन् भन्ने पुष्टि हुन आउँछ।
धर्मगुरु ज्युले गर्नुभएको भविष्यवाणी पश्चात् विभिन्न नयाँनयाँ दीर्घ रोगहरु देखापर्दै आएका छन्। एचआईभीएड्स, प्लेरोग, स्वाईनफ्लु, बर्डफ्लु, डेंगु लगायतका महामारीहरु देखापरेका छन्। र अहिले विश्वलाई आतङ्कित बनाउने इबोला र कोरोना भाइरस सबैभन्दा आक्रामक रुपमा फैलिएको छ।
साडे तीनदशक अघिदेखि सचेत गराउँदै आउनेक्रममा अहिले आएर विश्वमा मानव जीवन संकटमा परेको छ। मानव जीवन त्राहिमाम बनेको छ। दैनिक सयौंको संख्यामा मृत्युवरण भइरहेको छ। सर्वसाधारण मात्रै नभएर शासकहरुनै त्रसित बनेका छन् ।
मेरो बुझाईमा यी घटनाहरु शुरूवात मात्रै हुन। यो भन्दा अझ भयानक रोगहरु उत्पन्न हुनसक्ने खतरा बढ्दै गएको छ। प्रविधिको विकास, खानपान, रहनसहन आदिले वातावरण प्रतिकुल बन्दै गएको छ।
धर्मगुरु ज्युको भविष्यवाणी माथि धेरै नकारात्मक अफवाहहरु फैलाउने प्रयास पनि भएको छ। विभिन्न अनलाइन र सामाजिक सञ्जालमा हामीले देखिरहेका छौँ। तर पनि धर्मगुरुबाट व्यक्त भविष्यमावाणीहरु पुग्दै नै आएको छ र पुग्नेक्रम जारी छ।
वि सं २०४९ देखि अहिलेसम्म पंक्तिकार जानकार छ कि पृथ्वीको आयु र यसको बचाउका लागि धर्मगुरु ज्युले ठूलो चिन्ता व्यक्त गर्नुभएको छ। केही वर्षयता पृथ्वीमा आउनसक्ने घटनाबारेमा हरेक पटकको उपदेशमा समेत चर्चाको बिषय बनाउनुभएको छ। भर्खरै गत फागुन ३ गते सम्पन्न भएको गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सव समारोहमा आशीर्वचन दिने क्रममा पनि पृथ्वीको आयु र अज्ञात रोग बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो। अहिले आएर कोरोना त्रास बढिरहेका बेला विश्वको वैज्ञानिकहरुको संस्था नासाले अप्रिल २९ मा पृथ्वी नजिकै एउटा चट्टान आइरहेको जनाए सँगै विश्वमा अर्को सन्त्रास फैलिएको छ।
धर्मगुरु ज्युले इबोला र कोरोना भाइरस लगायतका रोगहरु मानवीय कारणले नै उत्पन्न हुने बताउनुभएको थियो / छ। कतिपय भाइरस वैज्ञानिकहरुका कारणबाट उत्पन्न भएको आशंका गर्नुभएको छ। यससँगै खानपान र रहनसहनले पनि रोगको उत्पन्न हुने बताउनुभएको थियो / छ। नभन्दै, चीनको वुहानमा सर्प र चमेरोको मासु सेवनबाट कोरोना भाइरस ( COVID-19 ) उत्पन्न भएको विभिन्न सञ्चारमाध्यमले प्रसारण गरेका छन्। यस्ता अज्ञात रोगहरुलाई धर्मगुरु ज्युले औषधीले नभेट्ने रोग भन्ने गर्नुहुन्छ।
–आफ्नो भविष्यवाणी विरुद्ध धर्मगुरुः
किरात धर्मगुरु ज्यु बिश्वमा हुनसक्ने सम्भावित खतराको बारेमा भविष्यवाणी गर्नुहुन्छ तर आफुले गरेको भविष्यवाणी नपुगोस् अथवा पृथ्वीमा मानवीय संकट नआवस भनेर सेवाभक्ति गर्नुहुन्छ।
नेपालमा रक्तपातपुर्ण गृहयुद्ध हुने भविष्यवाणी धर्मगुरु ज्युले गर्नुभएको थियो। केही बर्षपछि माओवादी युद्ध शुरु भयो। यसको अध्यात्मिक रोकथामका लागि वि सं २०५९ सालमा १३ दिने महायज्ञ गर्नुभएको थियो। त्यसअघि पृथ्वीमा पुछ्रेतारा ठोकिन आउँदैछ भनेर धर्मगुरु ज्युले भविष्यवाणी गर्नुभएको थियो। यसबाट वचन बचाउनका लागि धर्मगुरु ज्युले किरात हाङसाम मुजोस्लुङ माङहिममा १५ दिने विशेष सेवा गर्नुभएको थियो।
त्यस्तै २०६४ मा विनाशकारी भुकम्प जानसक्ने भविष्यवाणी गर्नुभएको थियो। त्यसबाट वचन बचाउन धर्मगुरु ज्युले पुर्वको सबै उच्च हिमशृङखलाहरुमा महायज्ञहरु गराउनुभएको थियो। २०७२ को भुकम्प अघि पनि यस्तै सेवाको आयोजना गरिएको थियो। अहिले कोरोना भाइरस ( कोभिड १९ ) लाई निस्कृय बनाउन अथवा यसबाट वचन र बचाउनका लागि पनि यही चैत २० गते विशेष धार्मिक अनुष्ठानका लागि आह्वान गरिसक्नुभएको छ भने ब्यक्तिगत रुपमा घरघरमा धुपवत्ती बाल्ने निर्देशन यसअघि दिइसक्नु भएको छ।
यसर्थमा धर्मगुरु आफ्नो भविष्यवाणीको विपक्षमा उभिएर मानव र प्रकृतिको रक्षाको काममा लागिरहनुभएको छ। तर यस्तो यथार्थ नबुझेको समुहले धर्मगुरु ज्युको विरुद्धमा अफवाह फैलाउनेरदुस्प्रचार गर्ने दुस्साहस पनि गरिरहेका छन्।
जेभए पनि धर्मगुरु गुरु ज्युको भविष्यवाणी त छँदै थियो अहिले आएर विश्व स्वास्थ्य संगठन डब्लु एच ओले समेत मानव जीवन संकटग्रस्त अवस्थामा पुग्न लागेको सार्वजनिक गरिसकेको छ। यसले हामी सचेत नागरिकलाई चिन्तित अवश्य बनाएको छ। यसको उपचार अब औषधीबाट हुने छाँट देखिँदैन। यसको अन्तिम विकल्प भनेको किरात साम्जिक मुन्धुम अनुसार सेवा भक्ति गर्नु नै हो। यही सन्देश किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले दिनुभएको छ। हामी सबैलाई तागेरा निङवाभुमाङ र गुरुहरुको आशीर्वादले रक्षा गरुन् ।