कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार नाघ्यो, छिमेकी देश भारत १८औँ स्थानमा - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार नाघ्यो, छिमेकी देश भारत १८औँ स्थानमा


एजेन्सी ।
कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ४६ हजार ८ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या २१ लाख ८३ हजार १ सय ४८ पुगेको छ । ५ लाख ४७ हजार ६ सय ७९ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि भारत कोरोनाबाट अति प्रभावित देशको सूचीको १८औँ स्थानमा उक्लिएको छ । ढिलोगरी कोरोना संक्रमण फैलिएको भारतमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

भारतमा अहिलेसम्म १३ हजार ४ सय ३० संक्रमित भएका छन् । जसमध्ये ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । १ हजार ७ सय ६८ जना भने उपचारपछि घर फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११ हजार २ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारत सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउनलगायतका विभिन्न उपायको अवलम्वन गरिरहेको छ । पछिल्लो २० दिनमा सयको संख्यामा रहेका संक्रमित बढेर १३ हजार भन्दा धेरै भइसकेका छन् । नेपाल सीमावर्ती सबै राज्य कोरोना संक्रमणले प्रभावित भएका छन् ।

कोरोना भाइरसबाट अमेरिकामा ३४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन् । इटालीमा २२ हजार १ सय ७० जना, स्पेनमा १९ हजार ३ सय १५ जना र फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा १३ हजार ७ सय २९, जर्मनीमा ४ हजार ५२, इरानमा ४ हजार ८ सय ६९, बेल्जियममा ४ हजार ८ सय ५७, चीनमा ३ हजार ३ सय ४२, नेदरल्यान्डमा ३ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

कोरोना अति प्रभावित मुलुकको सूचीमा भारतभन्दा माथि अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, ब्राजिल, क्यानडा, नेदरल्याण्ड्स, रसिया, स्वीट्जरल्याण्ड, पोर्चुगल र अष्ट्रिया छन् ।

सम्बन्धित खवर