उदयपुर र चितवनबाट एकैदिनमा १४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा ३० पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उदयपुर र चितवनबाट एकैदिनमा १४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा ३० पुग्यो

काठमाडौं / उदयपुरमा १२ जना र चितवनमा २ जना गरि एकैदिनमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ ।

शुक्रबार एकैदिनमा उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका हुन् । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

त्यसैगरी चितवन पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

उदयपुरमा संक्रमण हुनेहरु अधिकांश भारतीय नागरिक छन् । उनीहरु त्रियुगाको मस्जिदमा बसेका थिए । भुल्केको मस्जिदमा बसेका भारतीयको मंगलबार स्वाब संकलन गरिएको थियो । कोशी अस्पतालमा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा कोरोना संक्रमित क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष छन् ।

त्यस्तै चितवनमा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुरमा पोटेटिभ देखिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । उनीहरुको काठमाडौंमा पनि कोरोना संक्रमण भएको पाइएको स्रोतले जनाएको छ । चितवनमा संक्रमित आमा छोरा हुन् ।

विराटनगरबाट यी १२ सहित अन्य शंकास्पद १० जनाको पनि स्वाब टेकुमा ल्याइएको थियो । वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा समेत अनुगमन गरेर स्वाब संकलन गरिएको थियो ।

सम्बन्धित खवर