लकडाउन एक साता थप्न उच्चस्तरीय समितिको सिफारिस, मन्त्रीपरिषद बैठकले निर्णय लिने - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन एक साता थप्न उच्चस्तरीय समितिको सिफारिस, मन्त्रीपरिषद बैठकले निर्णय लिने

काठमाडौं / सरकारले एक महिनादेखि लागु गरेको लकडाउनलाई एक साता थप्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छ ।

शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन खोल्ने वा नखोल्ने वा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो ।

यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।

छलफलमा समितिका सदस्यहरुले तत्काल पूर्ण रुपमा लकडाउन खोल्न सक्ने अवस्था नरहेको बरु निश्चित ठाउँमा लकडाउनको स्वरुप परिवर्तन गर्न सकिने सुझाव दिएको बताइएको छ ।

उच्चस्तरीय समन्वय समितिको बैठक लगत्तै लकडाउनको मोडालिटिका सम्बन्धमा मुख्यसचिवको नेतृत्वमा रहेको कार्यदलको बैठक पनि बसेकोे थियो ।

कार्यदलको सुझाव र समितिमा भएको छलफलका आधारमा लकडाउन अरु एक साता लम्ब्याउन सिफारिस गर्ने तयारी भएको बताइएको छ । यसबारे आइतबार बस्ने मन्त्रीपरिषद बैठकले लकडाउनका सम्बन्धमा निर्णय लिनेछ ।

सम्बन्धित खवर