बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्किए, तत्काल बेलायतमा ‘लकडाउन’ नहट्ने - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्किए, तत्काल बेलायतमा ‘लकडाउन’ नहट्ने

काठमाण्डौं / कोरोना भाइरसको संक्रमणबाट निको भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन काममा फर्किएका छन् ।

बेलायती प्रधानमन्त्री सोमबारदेखि जिम्मेवारीमा फर्किएका हुन् । उनी पाँच सातादेखि कायम ‘लकडाउन’लाई खुकुलो पार्दै जान तथा कोरोना भाइरस परीक्षणको क्षमतालाई बढाउनका निम्ति सरकारमाथि दबाब चुलिएका बेला काममा फर्किएका हुन् ।

तीन सातापछि आइतबार बेलुका ‘डाउनिङ स्ट्रिट’स्थित कार्यालय फर्किएका उनले सोमबार बिहान सम्बोधन गर्दै देशबासीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

देशले विश्वयुद्धपछि सबैभन्दा ठूलो समस्याको सामना गरिरहेको भन्दै प्रधानमन्त्रीले यस कठिन समयमा आआफ्नो तर्फबाट सहयोगी भुमिका खेल्ने सबैको योगदानको कदर गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले तत्काल लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना भने नरहेको स्पष्ट पारेका छन् ।

अहिले नै ‘लकडाउन’ लचिलो बनाउँदा दोस्रो ‘पिक पोइन्ट’को खतरा हुने भन्दै प्रधानमन्त्री जोन्सनले उक्त जोखिम उठाउन आफु तयार नरहेको स्पष्ट पारेका छन् ।

उनले स्थितिमा सुधार आएपछि ‘लकडाउन’ कसरी खुकुलो पार्दै जाने भन्नेबारे सरकारले पारदर्शी रुपमा सबैलाई जानकारी गराउँदै जाने बताए ।

गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका प्रधानमन्त्री जोन्सनको अवस्था कमजोर हुंदै जाँदा अप्रिल ५ मा अस्पताल भर्ना भएका थिए । एक सातासम्म लण्डनको सेन्ट थोमस अस्पतालमा बसेका जोन्सन कामबाहिर रहेको तीन साताको अवधिमा प्रधानमन्त्रीको जिम्मेवारी सरकारका परराष्ट्रमन्त्री डोमिनिक राबले सम्हाल्दै आएका थिए ।

उनलाई तीन रातसम्म ‘इन्टेसिभ केय युनिट’ (आइसियू) मै राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भएका उनी त्यसयता बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमै आराम गर्दै आएका थिए । (बीबीसी)

सम्बन्धित खवर