काठमाडौं / नेपालमा एकैदिन थप १० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा ९ जना र पर्साको वीरगञ्जमा एकजना गरी आइतबार नेपालमा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यससंगै नेपालमा कोरेना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।
देवकोटाका अनुसार नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालस्थित ल्याबमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना देखिएको हो। उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ।
वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो ।
उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।
संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले जानकारी दिए । यसैगरि संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।