नेपाली भूमि मिचेर भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली भूमि मिचेर भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

काठमाडौं  / नेपालको लिपुलेकबाट मानसरोवर जाने सडक भारतले बनाएकोमा नेपाल सरकारले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।

भारतले शुक्रबार नेपाली भूमाग मिचेर धार्मिक स्थल तिब्बतमा पर्ने कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डको धार्चुलाबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्ने सडक उद्घाटन गरेपछि नेपाल सरकारको आधिकारिक प्रतिक्रिया दिदैं आपत्ति जनाएको हो ।

भारतीय कदमको देशैभर विरोध भएपछि परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर भारतीय कदमको बिरोध गरेको छ ।

लिपुलेकबारे चीन र भारतले गरेको एकलौटी सहमतिको पनि चर्चा गरिएको छ । भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमतिको पनि विपरित भएको भन्दै परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा ‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ ।’ भनिएको छ ।

परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ ।

सरकार २ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर