नेपाल–भारत सीमा क्षेत्रमा ४ किलोमिटर काडेँतार - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल–भारत सीमा क्षेत्रमा ४ किलोमिटर काडेँतार


काठमाडौ / नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पर्साको ठोरी गाउँपालिका–३ मा काँडेतार बार्ने काम भएको छ ।

विकास बजेट काँडेतारमा सीमा क्षेत्रनजिक दशगजा छाडेर ठोरी–३ मा ४ किलोमिटर जमिनमा ठोरी–३ का वडाध्यक्ष सूर्य लामाको अगुवाईमा काँडेतार लगाइएको हो ।

गत स्थानीय तहको निर्वाचनमा आफू वडाध्यक्ष भएपछि जनताकै चाहना अनुसार बिकास बजेटबाट काँडेतार लगाइएको वडाध्यक्ष लामाले बताए ।

भारतीय पक्षसँग नै सहमति गरेरै काँडेतार लगाएको बताउदै वडाध्यक्ष लामाले भने ‘हामीले भारतीय एसएसबी, नेपालका सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनीधि सहितको सहमतिमा आफ्नो भूभागमा जंगली जनावरसँग बाली बचाउन भनी काँडेतार लगाएका हौं’ ।

यो काम २०७४ सालबाटै सुरु भएको हो । वडा नम्बर ३ मा साढे ५ किलोमिटर जति भूभाग सीमा क्षेत्रमा जोडिएको छ। त्यसमा ४ किलोमिटर क्षेत्रमा काम सकिएको छ । अब डेढ किमिक्षेत्रमा बाँकी काँडेतार लगाउन बाँकी रहेको छ ।

‘हामीले ठोरीको ठुटेखोलास्थित ४३४ नम्बरको जंगेपिलर हुँदै पहिलो वर्ष १५ लाख, दोस्रो बर्ष १० लाख र चालु आर्थिक वर्षमा ८ लाख बजेट काँडेतार लगाउनमा नै खर्चिएका छौं’, वडाध्यक्ष लामाले विस्तारमा भने। हाम्रो प्रमुख उद्देश्य भारतबाट आउने जंगली जनावरलाई सीमा कट्न नदिनु रहे पनि अहिले भूगोलको संरक्षण भएको कुरा पनि स्वभावैले महसुुस भइरहेको उनको भनाइ छ ।

यस कामले गर्दा २०/२५ बर्षबाट जंगली जनावरले खेतीबाली खाएर हैरान भएका पर्साको ठोरी–३ का बासिन्दा काँडेतार लगाएपछि भने अहिले ढुक्क हुन थालेका छन् ।

पहिले जनता बचाऊँ ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले पनि भारतीय जंगलबाट आउने जंगली जनावरसँग नेपाली किसानको बालीनाली संरक्षण गर्न विकास बजेटलाई काडेतार लगाउन खर्चिएको बताए। काँडेतार लगाएपछि के के फाइदा भयो? के के बेफाइदा भयो समीक्षा गर्ने बताउँदै उनले यसबाट नागरिकलाई केही राहत भने मिलेको बताए । ‘गाउँपालिकाले नागरिकको बाली र खेतीयोग्य जमिन बचाउन सिमानातर्फ र खोलामासमेत तटबन्ध गरिरहेका छौं’, उनले भने, ‘पहिले जनता बचाउने काम हुन्छ । त्यसपछि अन्य कुरामा समीक्षा हुन्छ ।’

सम्बन्धित खवर