सरकारको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनःउत्थानमा : राष्ट्रपति भण्डारी - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनःउत्थानमा : राष्ट्रपति भण्डारी

काठमाडौं  / सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनःउत्थानमा हुने उल्लेख गरेको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनःउत्थानमा हुनेछ ।’

उनले भनिन्, ‘सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड– १९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का पुगेको छ तर अव सरकारको प्राथमिकता बदलिएका छन् ।’

‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन ।’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो सरकारको प्रतिबद्धता हो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गरिन् ।

उनले वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामथ्र्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कटिबद्ध रहेको पनि बताइन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता भएको उनले स्पष्ट गरिन् ।

सम्बन्धित खवर