इलामको पशुपतिनगर नाका हुदै भारतबाट सयौं नेपाली भित्रिए - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको पशुपतिनगर नाका हुदै भारतबाट सयौं नेपाली भित्रिए

इलाम / इलामको पशुपतिनगर नाका हुदैं भारतबाट ४३ जना नेपाल भित्रिएका छन् । सोमबार दोलखाका ३३ जना, तेह्रथुमका ९ र झापाका १ जना गरि ४३ जना नेपाल भित्रिएका हुन् ।

उनीहरुमध्ये ३४ जनाको आरडिटि परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई गृह जिल्ला पठाईसकिएको सूर्योदय नगरपालिका वडा नं–१० का अध्यक्ष पेमाउगेन लामाले जानकारी दिए ।

उनले बाँकी ९ जनालाई भने क्वारेन्टाईनमा राखिएको बताए । यसैगरि आइतबार मात्र दोलखा चितवन, काठमाडौँ र तेह्रथुमका गरि ७६ जनाको उद्धार गरिएको थियो ।

६७ जनामा गरिएको पहिलो चरणको आरडिटि परिक्षणमा ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ देखिनेहरुमा दोलखा जिल्लाका ७ जना पुरुष र १ महिला रहेका छन् । लामाले उनिहरुको स्वाब नमुना लिएर पिसिआर परीक्षणका लागि पठाईएको बताए ।

अहिले सम्म पशुपतिनगर नाका हुदैं भारतबाट १ सय १९ जना भित्रिएका छन् । उनीहरुमध्ये २७ जनालाई सूर्योदयको क्वारेन्टाईनमा राखिएको छ ।

सुकिया, दार्जिलिङ, मिरिकलगायतका स्थानमा कामका सिलसिलामा पुगेर उतै लकडाउनका कारण रोकिएकालाई नेपाल प्रवेश गराउन शुरु गरिएको हो ।

सूर्योदय नगरपालिकाको पशुपतिनगर कन्याम र करफोकमा गरि चार सय जनालाई राख्ने तयारी गरिएको छ ।

नेपाल प्रवेश गर्ने सबैको आरडिटि गरिने छ भने प्रदेश नम्बर १ का नागरिकको पीसीआर परिक्षणसमेत गरिने छ ।

उनीहरुलाई होल्डिङ एरियामा राखेपछि सम्बन्धित जिल्लामा सम्पर्क गरेर पठाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए ।

सम्बन्धित खवर