माङसेबुङ / किरात धार्मिक संस्थाहरुको साझा आवाजको रुपमा सञ्चालन गर्न सुरु गरिएको अनलाइन सञ्चार माध्यम किरात इङसे डट कमको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ ।
किरात इङभो पान्जुम्भोद्धारा सञ्चालन गरिने किरात इङसे अनलाइन खबरलाई बिहिबार औपचारिक रुपमा उद्घाटन गर्न आवश्यक तयारी पूरा गरिएको यस पान्जुम्भोका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भयो ।
इलामको माङसेबुङमा उद्घाटन गरिने अनलाइनलाई मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ्’ ज्यू तथा मुहिङ्गुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको हस्तबाहुलीबाट उद्घाटन गरिने अध्यक्ष योङहाङले जानकारी दिनु भएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आत्मासात गरी, सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू बुलन्द गर्दै, समानता, समावेशीता, धर्र्मिनरपेक्षता तथा धार्मिक, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सदा पहरेदार बनि अघि बढ्ने प्रणका साथ किरात इङसे अनलाइन खबरलाई सञ्चालन गरिने सञ्चालक समितिले जनाएको छ ।
अनलाइन खबरसँगै निकट भविष्यमा युटयुब च्यानल र पत्रिका समेत सञ्चालन गरिने बताइएको छ ।