किरात धार्मिक तिर्थस्थल तपोभूमि खत्रक्पा र फुलुङगीमा वृक्षारोपण - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धार्मिक तिर्थस्थल तपोभूमि खत्रक्पा र फुलुङगीमा वृक्षारोपण

माङसेबुङ / किरात धर्मदर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन र मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको तपोभूमि, किरात धार्मिक तिर्थस्थल खत्रक्पा र फुलुङगीमा वृक्षारोपण गरिएको छ ।

किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ्’ ज्यू तथा मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनज्यूहरुको हस्तबाहुलीबाट वर पीपल, लामपाते, कटहर र आँप लगायतका बोट विरुवाहरु रोपेर आइतबार आयोजना गरिएको वृक्षारोपण कार्यक्रमलाई उद्घाटन गर्नुभएको थियो ।

यसरी उद्घाटनमा अङ्सीमाङ तथा अङ्सीमामाङज्यूको हस्तबाहुलीबाट विरुवा रोप्ने क्रममा कटहर र आँप लगायतका प्रजातिहरु वर्तमान किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ्’ तपोभूमि गुफाडाँडा फुलुङगीमा रोप्नु भएको थियो । भने वर पीपल, बाँस र केराका बोटहरु फुलुङगीमा रोप्नु भएको हो ।

त्यसैगरी लामपाते र वरपीपललाई किरात धर्मदर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको तपोभूमि खत्रक्पामा अङ्सीमाङ तथा अङ्सीमामाङज्यूहरुले रोप्नु भएको थियो ।

वृक्षारोपण कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले अमृतमय माङ आशीर्वचन समेत दिनु भएको थियो । माङ आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले महागुरु फाल्गुनन्दको तपोभूमि खत्रक्पामा तटबन्धन लगाई माङहिम बनाउनु पर्ने बताउनु भएको छ ।

यसरी माङ आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दको मार्ग दर्शनलाई शुद्धता भई सबैले अंगिकार गरौं ।’ वहाँले थप्नु भयो, ‘महागुरुले खत्रक्पामा ज्ञान प्राप्त गर्नु हाम्रो भाग्यदय हो ।’

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले आशीवर्चन दिने क्रममा विश्वव्यापी फैलिएको कोरोनाको संकट समाधान भएपछि विश्व युद्ध हुन सक्ने संकेत रहेको बताउनु भएको छ ।

वृक्षारोपण कार्यक्रममा वर पिपल, आँप, लिची, कटहर, सुपारी, नरिवल, केरा, लामपाते, खयर, ओखर, बाँस लगायत विभिन्न किसिमका फलफूलका विरुवाहरु रोपिएको वर्तमान किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ्’ तपोभूमि फुलुङगी फाउण्डेसनका सचिव उदय विक्रम तुम्बापोले जनाएको छ ।

सचिव तुम्बापोका अनुसार इलामको माई नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाले छोएको माई, देउमाई र मेक्वा खोलाको संगमस्थल तपोभूमि फुलुङगी र खत्रक्पामा यस वर्ष सुरु गरिएको वृक्षारोपण कार्यक्रमलाई हरेक वर्ष जेठ २५ गते सञ्चालन गर्दै लाने योजना रहेको छ ।

महागुरु ज्ञानभूमि खत्रक्पा संरक्षण समिति र वर्तमान किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ्’ तपोभूमि फुलुङगी फाउण्डेसनको संयुक्त आयोजनाको रुपमा वृक्षारोपण वर्ष २०७७ संयुक्त योजना सञ्चालन गरिएको संरक्षण समितिका अध्यक्ष लोकबहादुर लिङ्देनले बताएको छ ।

ज्ञानभूमि खत्रक्पामा किरात धर्मदर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूले करिब ८ वर्षको उमेरमा समाधि ज्ञान प्राप्त गर्नु भएको थियो । त्यसैगरी फुलुङगीको गुफाडाँडामा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले वि.स. २०२७ साल भदौं १ गतेदेखि गुफा साधना सुरु गर्नु भई सोही वर्ष माघ १ गते चुक्चिनाम्बामा गुफा पूरा गर्नु भएको थियो ।

समितिका अध्यक्ष लिङ्देनका यस वर्ष सुरु गरिएको वृक्षारोपण कार्यक्रममा रोपिएका विभिन्न प्रजातिका बोट विरुवाहरुको संरक्षणका लागि तत्काल फाउण्डेसन र समितिको संयुक्त बैठक बसी दीर्घकालीन नीति योजना ल्याइने छ । संस्थागत भूमिमा भक्तजनहरुबाट संकलन गरी १ सय ८ प्रजाति ५ हजार बढी विरुवाहरु रोपिएको फाउण्डेसनका सचिव तुम्बापोले बताए ।

वृक्षारोपण कार्यक्रममा सामाजिक दूरी कायम गर्दै, आयोजना गरिएको समापन कार्यक्रममा माई नगरपालिकाको मेयर दीपक थेबे प्रमुख आतिथि रहनुभएको थियो भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ विशेष अतिथि रहनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिह थेगिम, निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, चुरे संरक्षण समितिका अध्यक्ष नन्दकुमार नेम्बाङ, माइ नगरपालिका वडा नं. १ का वडाध्यक्ष पदमकुमार फागो लगायत विभिन्न धार्मिक तथा राजनीतिक संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महागुरु ज्ञानभूमि खत्रक्पा संरक्षण समितिका अध्यक्ष लोकबहादुर लिङदेनको अध्यक्षता र वर्तमान किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ्’ तपोभूमि फुलुङगी फाउण्डेसनको अध्यक्ष जगत लाओतीको सह अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमलाई समितिका सचिव काजी लिङ्देनले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर