सर्लाही / सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ ।
शुक्रबार सर्लाहीको भारतीय सीमानाकासँग जोडिएको पर्सा गाउँपालिका–३ नारायणपुरमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको हो ।
मृत्यु हुने भारतीय नागरिकको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बतए । झडपमा परि दुई जना भारतीय नागरिक र दुई जना सशस्त्र प्रहरी पनि घाईते भएका छन् ।
झडपमा संलग्न मध्ये एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको गुलरीयाका एक व्यक्ति भारतीय सीमावर्ती गाउँ लालबनीमा आफ्नो छोरीकाँहा जान खोजेपछि सशस्त्र प्रहरीले सीमामा रोकेको थियो ।
महोत्तरीका ती व्यक्तिका ज्वाइसँग सशस्त्र प्रहरीको विवाद भएपछि सीमा नजिकै रहेको गाउँबाट ठूलो संख्यामा आएको भारतीय नागरिकहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि दोहोरो झडप हुन गएको पर्सा गाउँपालिका–३ का वडाध्यक्ष भिखारी साहले जानकारी दिए ।
झडप अनियन्त्रित भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले सुरुमा १० राउण्ड हवाई फायर गरेको थियो ।
तर स्थिति नियन्त्रणमा नआएपछि थप ५ राउण्ड गोली भारतीय नागरिकमाथि चलाउनु परेको नेपाली सुरक्षा अधिकारीले जनाएको छ ।
भारतीय नागरिकहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नुका साथै एसएलआर बन्दुक समेत खोस्ने प्रयास गरेपछि स्थितीलाई नियन्त्रणमा लिनका लागी गोली चलाउनु परेको वडाध्यक्ष साहले बताए ।