सांसदद्धारा संविधान संशोधन विधेयक सर्वसम्मत पारित - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सांसदद्धारा संविधान संशोधन विधेयक सर्वसम्मत पारित

काठमाडौं / कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसहमत पारित भएको छ ।

शनिबार बसेको प्रतिनिधिसभाकोे बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतले पारित गरेको हो ।

सांसदहरुको दस्तखतसहितको हस्ताक्षरका आधारमा मत संकलन गरिएको थियो । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपस्थित २५८ जना सांसदले नै संशोधनको पक्षमा मतदान गरेका छन् । उक्त मत प्रतिनिधिसभामा तत्काल रहेको कुल २७५ जना सांसदको दुई तिहाईभन्दा बढी हो ।

भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो ।

नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।

उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।

भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरेको हो ।

सम्बन्धित खवर