किरात धार्मिक संस्कार - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धार्मिक संस्कार

पृष्ठभूमि

आदिमकालमा नै किरात समाजमा धर्म र सभ्यताको शुरुवात भएको पाइन्छ । प्राचीन किरात भाषामा सभ्यतालाई खाःसाम भनिन्छ । उषाको प्रथम ज्योतिलाई किरात भाषामा ‘खा’ भनिन्छ । जब मानव आत्मामा ज्ञानको ज्योतिले प्रवेश गर्छ, तब सत्यका पालुवाहरु पलाउँदै जान्छन् । मानव प्राणीले त्यहीँ मार्गलाई पैल्याउँदै सत्य कर्म गर्दा प्रकृति र प्राणी जगतमा प्रेम, दया, अहिंसा, समानता र शान्तिको स्थापना हुन्छ ।
ज्ञान, विवेकले पूर्ण अलौकिक आत्माले गरेको कर्मको स्वरुपलाई किरात भाषामा खाःसाम (सभ्यता) भनिएको हो । मानव सृष्टि पश्चात जुन समयसम्म मानव सभ्यता पलाएको थिएन् । प्रकृतिको सिर्जनात्मक वस्तुहरुलाई मानिसहरुले चिन्न सकेको थिएन् । संसारमा सबै कुरा भए पनि ज्ञान चक्षु नखुलेसम्म कुनै कुराको पनि अध्ययन गर्न, चिन्न बुझ्न सकिन्न । त्यो अवस्थाका मानिसहरुमा ज्ञान विवेकको अभावले उनीहरुको व्यवहारमा पशुत्व थियो । मानिस लगायत सारा प्राणी हिंसा कर्मले जेलेको थियो । बलियोले निर्धोलाई जहिल्यै मारेको मारै हुन्थ्यो । त्यसबेलाको मानिसहरु पशुभन्दा निच कर्मगरी न्याय, प्रेम, दया, क्षमा, समानता र शान्ति जस्ता मानवीय विवेक र चेतनाको मूल स्रोत नै धर्म हो भन्ने कुरा उनीहरुलाई थाहा थिएन् । धर्म विना कर्म हुँदैन, कर्मविना संस्कार हुँदैन, संस्कार विना संस्कृति हुँदैन । उपरोक्त कुराहरु जबसम्म हुँदैन, आफ्नो अस्तित्व र पहिचाननै हुँदैन ।

सृष्टिकर्ता तागेरा निङ्वाभूमाङले मानव मृत्युपछि पनि आत्माले मुक्ति पाउन सक्दैन भन्ने विचार गर्नुभयो । मुन्धुमले भन्छ –मेन्छाङगेन नाम्याप्मी सावायेहाङ किरात आवुला सानु फोक्वा साःयो चङसाम्याम्बोन थान्छिङ् । मेन्छाङ्गेन नामयाप्मी साहा सिवादिङ खाहुन युक्तुङसिङ फाःआङ सिक्कुम्दीङ निङवा चोगुआङ येःहाङरे नासिङगेन कुधक याम्बेत्ना चङसाङ याम्बोन थान्छिङ । मेन्छाङगेन नाम्याप्मी साहा सिवादिङ खाहुन युक्तुसी ।

प्रथम युग पुरुष येःहाङको त्यो खोक्रो शरीरमा सृष्टिकर्ता ओत् तागेरा निङ्वाभूमाङ लीन भई ज्ञान उपदेश सुनाउनु थाल्नुभयो । अज्ञानताबस विकृति र पशुत्व कर्ममा जकडिएर रहेका समाजलाई ज्ञान, बुद्धि, विवेक र चेतनाबाट मुक्त गराउनको लागि धर्मदर्शन र शास्त्रका कुराहरु सिकाउँन थाल्नु भयो । धर्मले सभ्यताको मार्ग पैल्याउछ भनेर ज्ञान विवेकका कुराहरु व्यापक प्रचार–प्रसार गरे । ती युग पुरुषको जन्म अवतरणपछि मानव जगतमा ज्ञान, विवेक र चेतनाको विकास हुँदै गयो । दया, माया, प्रेम, अहिंसा, सत्य, न्याय, समानता र शान्तिको विजारोपण भयो ।

धर्तिमा मानिसको जन्मले मात्र मानव जीवन पूर्णता र आत्मा मुक्तिको कुनै आधार भएन् । कुनैपनि निश्चित टुङ्गोमा पुग्नलाई बाटोको आवश्यक परेझै एकपछि अर्को श्रेणी चढ्नलाई लिस्नुको आवश्यक परेझै, आत्माले यो लोकबाट परलोक पुग्नलाई संस्कारको जरुरत पर्दोरहेछ । किरात धर्म सभ्यताका दर्शनदाता प्रथम महात्मा येःहाङ थिए । महात्मा येहाङले ज्ञानलाई आठ विधामा विभाजन गरे । तथापि, धार्मिक उपदेशका विषयलाई मात्र उनले प्राथमिकता दिए । त्यसैले तागेरा निङवाभूमाङले कर्म, संस्कार, आविस्कार गर्ने साेंच बनाउनु भयो । र, सावायेहाङ र सुसुम्नाको कोखबाट पान तुम्याङ र तेन तुम्याङ दाजु भाइ र उनीहरुको चेली खाप्पुना मरङनाको जन्म भयो । खाप्पुना मरङना युवा अवस्थाको हुँदा उनको शरीरमा तागेरा निङवाभूमामाङ लीन हुनुभयो ।

खाप्पुना मुरङनाले धर्तीमा मानिसहरुको तिब्र वृद्धिलाई दृश्य अवलोकन गरिन् । उनले मानिसको वृद्धिलाई हेर्दा पृथ्वीले पनि आँट्न सक्दैन, विशाल आकाशले पनि ढाक्न सक्तैन भन्ने ठानिन् । खापुना मरङनामाले मानिसमा मृत्युको अनिवार्यतालाई भित्राइन् । मुन्धमु अनुसार मृत्यु तीन प्रकारको  हुन्छन् ।

क) अल्पायु ४० वर्षभन्दा अगाडि मृत्यु भएमा

ख) मध्य आयु ४०–६० वर्ष बीचमा मृत्यु भएमा

ग) चिरञ्जीवि आयु ६१ वर्ष भन्दापछि मृत्यु भएमा

खाप्पुना मरङनामाले अल्पायुमै आफ्नो प्राण त्याग गरिन् । त्यसपछि अल्पायू मृत्युको पनि जग बस्यो । त्यसबेला संस्कार आविस्कार भएको थिएन । त्यसैले पानतुम्याङ, तेनतुम्याङ दुई माइतीहरुले पहिला कै चलन अनुसार सिदि र मादी जातका बेतको चोयाबाट बनेको नाम्लो प्रयोग गरेर खापुना मुरङनामा ओढारमा पु¥याएर छोडे । साँझमा उनीहरुले तरुल, भ्यागुर खाने कुराहरु बनाई खाई सोकले ब्याकुल हुँदै आराम गरे । जुनबेला अहिलेको जस्तोे घरहरु बनिएको थिएनन् । भोलिपल्ट बिहान सबेरै उठेर वरपर हेरे । बहिनी खाप्पुना मुरङनामा जीवित रहँदा झै घरको काम गरिएको पाए । उनीहरु अचम्म पर्दै मृत खाप्पुना मरङनाले तयार पारेकोे खाने कुराहरु खाए । दिउँसो मेलापात जाने गर्थे । बेलुकी पख घर फिर्दा सबै कुरा तयार भइरहेको हुन्थ्यो ।

सोहीक्रम हप्तौ चलिरह्यो । मान्छे हे¥यो देखिंदैन । माइती पान तुम्याङ, तेन तुम्याङहरु सल्लाह गरे । हाम्रो एक मात्र चेली खाप्पुना मरङनाको प्राण अन्त्य भई केही परको ओढारमा पु¥याएको थियौं । मरेको मान्छे आएर हामीलाई जिस्क्याई रहेको छ – अब ढुकौंै । माइती पान तुम्याङ, तेन तुम्याङहरुले बेलुकी सुतै झै गरेर ढुक्न थाले ।

माइतीहरुले ढुकेको कुरा खाप्पुना मरङनामालाई थाहा भइसकेको थियो । उनमा स्वयम् सृष्टिकर्ता तागेरा निङ्वाभूमाङ लीन भएर युमामाङ भइसक्नु भएको थियो । त्यसैले सुन, चाँदी, हिल्ली मोती जस्ता बहुमूल्य धातुहरुले सिंगारिएर बिहानको मिर्मिरे उषासँगै प्रत्यक्ष रुपमा देखा परिन् । पानतुम्याङ, तेन तुम्याङहरुले समाउन खोज्दा उनले भनिन् – हे मेरा माइती राजाहरु हो मत समाउने छोरी होइन् । म त मृतआत्मा भइसकेकी छु । हामी सबै कुराबाट विछोड भइसकेको छौं । त्यसैले यो पृथ्वीमा चेतनशील मानव प्राणी भएर जन्म भएपछि यो लोक र परलोकमा आउने जाने कार्य निरन्तर रुपमा भइरन्छ । मृत्यु दर्शन स्थापना गर्नको लागि म स्वयम् मामाङको रुपमा आई उपदेश दिन लागिरहेको छु । उपदेश दिँदा युगान्तकारी मार्गदर्शन बन्न सकोस् । लिपिबद्ध गरी मुन्धुम बन्न सकोस् ।

माइतीहरुलाई उनले जन्म पूर्वदेखि मृत्युपछिका सबै कर्म, संस्कारहरु बताउन थाल्नु भयो । त्यो अवस्थामा माइतीहरुले उनका भनाइहरु लेख्न सुरु गरे । उक्त लिखित कर्म संस्कारहरु समयको काल खण्डहरुसँगै रुपान्तरण हुँदै जाँदा कहिले सुकर्म, सुसंस्कार त कहिल्यै कुकर्म, कुसंस्कारमा परिणत भए । येहाङ, सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजंगाहाङ, महागुरु फाल्गुनन्द र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ जस्ता अङसीमाङहरुको जन्म भयो । कु–संस्कारमा परिणत भएको संस्कारहरुलाई महागुरु फाल्गुनन्दबाट र वर्तमान किरात धर्मगुरु एवं गुरुआमाबाट सुधार गरिएको छ । ती कर्म संस्कारहरुलाई यहाँ संक्षेपमा उल्लेख गरिएको छ ।

(१) साप्पोक चोमेन (कोख पूजा)

महिलाहरु जब गर्भवती हुन्छन, गर्भमा रहेको शिशु र आमाको रक्षार्थ मुन्धुम अनुसार सेवा गरिन्छ । यो सेवालाई साप्पोक चोमेन अथवा कोख पूजा भनिन्छ । गर्भवती महिला सुत्दा ऐठन हुने, पेट दुःखी रहने हात खुट्टा र जीउ सुनिन्ने, हात खुट्टा कट्कट् खाने तथा सुत्केरी बेथा लाग्दा ठूलो दुःख, पीडा हुने गर्दछ । र जसको कारण पेट भित्रको शिशुलाई समेत असर पुग्ने, सुक्ने, सुकाउँने र तुहिने जस्ता खतरनाक हुने हुनाले त्यस्ताबाट जोगाउनुलाई साप्पोक चोमेन (गर्भपूजा) अनिवार्य गर्नु पर्ने हुन्छ ।

साप्पोक चोमेन गर्ने विधि

(क) वगङमा

महिलाहरु गर्भवती भएको पाँच वा छ महिनामा साप्पोक चोमेन सेवा गर्नु पर्छ । उक्त साप्पोेक चोमेन सेवामा सर्वप्रथम त वगङमालाई बुझाउनु पर्ने हुन्छ । वगङमा गर्दा घर नजिक कुनै पानी भएको ठाउँ वा खोला, खोल्सीमा जाने चलन छ । त्यो पानी वा खोल्सीमा पुल झैं साङभे बनाउनु पर्दछ । त्यसमा एउटा लिङगो गाडेर सेतो ध्वजा झुण्ड्याउँनु पर्दछ । त्यसपछि एउटा ढुङ्गा धोएर राख्ने । ढुङ्गालाई काँचो धागोले तीन फन्का बेर्नुपर्छ । त्यसमा सिन्दुर लगाएर सेतो पिठोले माङयोक (रेखी) लेखी र पाँच जोर लासो राखिन्छ । लासोमाथि माङ प्रसाद, फलाहार चढाउने र एउटा टपरामा चामल लगाई एउटा दियो र कलश राखी त्यसमा पाङबत्फुङ, सिमिरिक फूङ, सेक्मुरी फूङ, सेसेना फूङ्, यी चार जातका फूलहरु कलशमा लगाउने र वजङ फूङ्जङ्, धुप, कोइला अक्षता आदि आवश्यक सामग्री सबै तयार गरी साम्जिक मुन्धुम पढ्न सुरु गर्ने ।

(ख) पक्चानामा गर्ने विधि

पक्चानामा सेवा गर्दा त्यहीँ साङ्भेको बायाँतर्फ दुई जोर लासो राख्ने र त्यो लासोमाथि फूल, अक्षता र फलार राख्ने । एउटा ढुङ्गा गाढेर सिन्दुर लगाई धागोले तीन फेरा बाँध्ने । एउटा लिङ्गो गाढेर सेतो कपडाको ध्वजा बाँध्ने र त्यसपछि एउटा चिण्डोको आधा भागमा काट्ने । आधा चिण्डोलाई चारै सुरमा दुलो पारी दुईवटा लामो बाँसको सिन्का दूलोमा लामो सिन्काहरु सिउरिने । चारैसुरमा सिन्काको केही भाग बाहिर निकाल्नु पर्दछ ।
आधा चिण्डोको बाहिर निस्केको सिन्कामा पाँच रङको धागोले बेर्ने । सिन्कामा पाँच–पाँच फन्काको दरले बेर्नु पर्दछ । त्यसलाई मेरी हेम्बाङ भनिन्छ । त्यसको छेउको चारवटा सिन्काको टुप्पोमा इसेमा (भकिम्लो) को चारवटा मसिनु कर्दा जस्तो बनाई कालो अंगारको धर्का धर्का रेखा लगाई रङयाउनु पर्छ । र, धागोले बाँधी त्यो चिण्डोको बाहिर भागको चार सुरमा झुण्याउने र चिन्डोभित्र दुईजोर लासो राखी फलाहार, फूलपाती अक्षता चढाउने र त्यो चिण्डोको एक छेउको सिन्को केही लामो राखी समाउने बनाई राख्ने । आवश्यक सामग्री वजङ, फूङजङ, धुप, कोइला सबै तयार भइसकेपछि उपकार गर्नु पर्ने गर्भवती महिलालाई नजिकै राखी मुन्धुम वाचन गर्दै उनको शिरमाथि त्यो चिण्डो घुमाउनु पर्दछ । मुन्धुम वाचन गरी सकेपछि चिण्डो एउटा रुखको हाँगामा राखेर माङसेवा गनुपर्छ । साङभे ताक्तेनमा कुनारा सेमा गरेपछि सेवा गर्ने र त्यसपछि त्यो साङभे पल्टाई दिनु पर्दछ । र, वगङमा पक्चाना कर्म सकिन्छ ।

(ग) कुदाप्माङ गर्ने विधि

कुदाप्माङ गर्दा जुनै शीर्षकमा गरे पनि गर्ने विधि भने एउटै हुन्छ । एउटा साना बाँसको हाँगाको टुक्रालाई पाँच तलाको खिपी थुङ्गे बनाउने । त्यसलाई पाँच चिरा बनाई फुटाउने र निश्चित ठाउँ बनाएर एउटा लिङ्गो र लिङ्गोको फेदमा एउटा ढुङ्गा गाढी पानीले सफा पारी सिन्दुर लगाई धागोले तिनफेरा बेर्नु पर्दछ । खिपी बनाएको पाँच सिन्का टाट्ना झै बुनी त्यो ढुङ्गाको पछाडि रोप्नु पर्छ । र, धागोले पाँच फेरा माकुराको जालो झै गरेर बुन्नु पर्छ । त्यसपछि पाँच जोर कोलाको पत्ताको लासो राख्ने र ढोकेको नाममा दुईजोर लासो राखी भएका फलार फूलपाती अक्षता सबै चढाई सकेपछि साप्पोक चोमेनको कुदापमाङ साम्जीक मुन्धुम पढ्नु पर्छ ।

(ङ) खन्जमा गर्ने विधि

खन्जःमा सेवा गर्दा एउटा लिङ्गो र एउटा ढुङ्गा गाढी अघि झै धागोले बेर्नु र सिन्दुर लगाई, उन्युको पत्ता ल्याई गोठ झै बनाई तीन जोर लासो राखी फलाहार सबै राखी सकेर मुईनाम कपडा राखी आवश्यक सामग्री सबै तयार गरी सकेपछि साम्जीक मुन्धुम वाचन गर्ने ।

(च) पुङसाम्माङ गर्ने विधि

पुङसाम्माङ गर्दा एउटा लिङ्गो र एउटा ढुङगा गाढ्ने । उक्त ढुङगामाथि झै ढुङ्गालाई धागोले बेर्ने सिन्दुर लगाउने र त्यहाँ साङ्भे हुँदैन, त्यसैले मात्र दशजोर लासो राखी फलाहारहरु सबै राखेर मुईनाम कपडा राखी सेवा गरी दिनु पर्दछ ।
साप्पोक चोमेन (कोख पूजा) गर्दा तेनेबा, थुङथाङवा र सेसेवा यी तीन माङहरु खमा गर्न आवश्यक पर्दैन । बाहिरका यी माङहरुको सेवा सकेपछि घरमा युमा, थेबा र हिम्माङको साङ्भे बनाई सेवा गर्नु पर्दछ ।

(छ) युमा, हिम्माङ र थेबामाङ सेवा गर्ने विधि

युमा, थेबा र हिम्माङको सेवा गर्दा घरको आँगनमा सफा ठाउँ हेरी त्यहाँ खुर्की लिपि सफा गरीे एकतले तीन कोठाको साङ्भे बनाउनु पर्छ । उक्त साङ्भेमा कोलाको पात बिछ्याई युमामा सात जोर लासो, हिम्माङमा नौं जोर लासो र थेबामा आठ जोर लासो राख्ने । ढोकेहरुमा दुई–दुईजोर लासो राखि फूल, अक्षता, फलाहार सबै राखी सकेपछि तीनवटा मसिनो लिङ्गो रोप्ने र त्यो लिङ्गोमा युमा थेबामा सेतो र बीच हिम्माङमा रातो कपडाको मसिनो ध्वाजाहरु झुण्ड्याउने र साङ्भेमा पनि युमालाई पहेंलो हिम्माङलाई रातो, थेबालाई सेतो कपडाले छाजन दिनु पर्दछ । सबै आवश्यक सामग्री पूरा भइसकेपछि साप्पोक चोमेन चोक्मा युमा थेवाको साम्जीक मुन्धुम वाचन गर्नुपर्दछ । उक्त सेवा गर्दा चोमेनदाङ्मा युमा, थेवा गर्नु पर्ने व्यक्ति स्वयम् सेवा गर्दै बस्नु पर्ने हुन्छ । त्यसपछि युमा, थेबा र हिम्माङको सेवा सकेपछि अन्तिम कर्म माङ्गेन्ना गर्नु पर्दछ ।

(ज) माङ्गेन्ना गर्ने विधि

एउटा सफा थाल बनाई एक माना र एक मुठी चामल राखी एउटा कलश, एउटा दियो तयार गरी पाँच जातको फूल जम्मा गरी उक्त कलाशमाथि लगाउने र आवश्यक सामग्री जस्तै वजङ्फूङजङ अक्षता धुप कोइला बात्ति आदि तयार गरी सकेपछि गर्भवती महिलालाई राखी माङ्गेन्ना शिर उठाई दिनु पर्दछ । माथि उल्लेखित सेवाहरु सकेपछि साप्पोक चोमेन सेवा सकिन्छ ।

(२) याङदाङफोङमा (न्वारन कर्म)

बच्चा जन्मेको २३ दिनमा गरिने कर्मलाई याङ्दाङ्फोङ्मा (नुवारन कर्म) भनिन्छ । यस कर्मलाई परम्परागत किरात धर्म संस्कारमा छोरी भए तीन दिनमा, छोरा भए चार दिनमा याङदाङ फोङमा कर्म गरिन्थ्यो । छोरी भए शिशु जन्मेको दशौं दिनमा र छोरा भए एघारौं दिनमा आमा र बच्चा दुबै जनाको माङ्गेन्ना शिर उठाई दिने त्यसपछि पूर्ण शुद्ध भएको मानेर कर्म गर्ने चलन निक्कै लामो समयसम्म रह्यो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङद्वारा पहिलाको कर्म संस्कार पाण्डु लिपिमा रहेका साम्जीक मुन्धुमहरु सम्पादन संसोधन र सुधार गर्ने क्रमसँगै याङदाङ फोङमा गर्नेकर्म पनि पूर्ण संशोधन भएको छ ।

तीन र चार दिनमा गर्ने कर्म भनेको जति सुत्केरीलाई सुत्केरी भएको अवस्थामा सहयोग गर्ने बाहिरका महिला हुन्छन् । उनीहरुले छोरी भए तीन दिनको बिहान, छोरा भए चार दिनको बिहान पहिलो भालेको डाकसँगै अर्थात् तीन वा चार बजेभित्र पानी तताई मन तातो पानीले सफा गराई बच्चालाई डालोमा वा थुन्छेमा न्यानो कपडाले बेहेर लगाई सुत्केरीको सहयोगी मध्ये एकजनाले बाहिर निकाली हल्लाउदै भन्नुपर्छ– हे घामको पुत्र÷पुत्री घामले देख्यो । जुनको छोरा÷छोरी जुनले देख्यो है । पृथ्वी माताले देख्यो है । पृथ्वीमा नाग, नागेनी, सिमे भूमे पञ्चतत्व देव सबैले देख्यो है ।

बच्चालाई घाममा देखाएपछि आमासँग राख्ने र उज्यालो भएपछि माङसेवासावा नभए तुम्याहाङले बिहान आई बाहिरबाट शुद्ध पानी ल्याई तिल, जौं, सुन चाँदी पानी बनाउनु पर्छ । सुत्केरीका सहयोगी (सुडेनी) बाहिरकै भए उक्त पानीले सेसे साङसाङ गरी तीन पटक ख्वाई शुद्ध गराउने । यदि बाहिरको नभई परिवारभित्रको भए बच्चालाई बाहिरभित्र गर्ने कर्ममात्र हुन्छ, शुद्ध गर्ने कर्म हुँदैन । १०–११ दिनमा कर्म केही हुँदैन, जब बच्चा २३ दिनको हुन्छ । त्यस दिन बिहान सबेरै उठी घरभित्र बाहिर लिपपोत गरी सुत्केरी परिवार सबैगरी साम्बहाङ–येइङहाङ (पुरोहित) बोलाई सबै भन्दा पहिले घरको सिकुवामा रातो माटोले सानो गोलो आकारको लिप्ने र त्यसमा एउटा थालमा मानो चामल राखी त्यसमा एउटा दियो कलश स्थापना गर्ने । त्यसपछि आवश्यक सामग्री तयार पारी याङदाङ फोङ्मा साम्जीक मुन्धुम वाचन गर्नुभन्दा पहिला क्रमशः साप्योक लिङयोक सेवा, माङलाक फोङमा, तगिप सेवा, कुसाङ सेमा साम्जीक मुन्धुम पढ्नु पर्दछ । याङदाङ फोङमा मुन्धुम पढिसकेपछि त्यहीँबाट आमा र शिशुको माङ्गेन्ना गर्नु पर्दछ ।

त्यसपछि बाहिरको ताम्भुङ तेत्ला सबै तिल जौं पानीले अविसेक गर्दै जाने । तर, पुङसाम खल्येनीमा भने त्यहाँ भएको दियो कलश सबै सफा गरी दियो बाली राख्नु पर्दछ । त्यहाँ मुन्धुम वाचन गर्नु पर्दैन, साङसाङ सेसे गरे हुन्छ । तर, माङहरुको नाम भने सबै पुकार्नु पर्दछ । यदि बाहिरको माङहरु शुद्ध गरी सकेपछि घरको ढोका लिस्नु, मूलथाम हुँदै चुला अग्नि चोख्याउदै अन्न राख्ने भकारी ढिकुटी कन्तुर आदि सबै शुद्ध गर्दै पूजा गर्ने, कोठामा यूमा, हिम्माङ, थेबाहरुको दियो कलश सफा गरी कुसाङसेमा तान्छो युन्छो साम्जीक मुन्धुम पाठ गर्ने लासो राख्नु आवश्यक पर्दैन् ।
अन्त्यमा सिकुवामा चरु पोल्नको लागि सानो गोलो आकारको रातो माटोले लिप्ने र त्यहाँ कुयाम सेमा गरेर पिठोले अष्टदल रेखी लगाउने र त्यसमा नौं ग्रहको स्थानसमेतको रेखी लगाई अष्टदेवता नौं ग्रहसमेतको लासो राख्ने । लासोमा फूल, अक्षता तथा फलाहार राख्ने र समेदा पाँच तलाको लगाउने वरिपरी पाँच कलश, पाँच दियो तयार पार्ने । टपरामा एक–एक मुठी चामल लगाई त्यस माथि फूलको आसन दिई दियो कलश स्थापना गर्ने र सबै आवश्यक सामग्रीहरु तयार भइसकेपछि सेवा सुरु गर्नु अगावै चोमेन्दाङहरु शिशु र आमालाई त्यहीँ निर राखेर साम्जीक मुन्धुम, साप्योक सेवा, माङलाक फोङमा, तगिप सेवा, कुसाङ सेमा गर्दै चार वेद सावा येक्कोक फाङ साम्माङ अष्ट देवता नौं ग्रह आसनग्रहण सकेपछि संकल्प गराउने र मिधुङ मिराक उठाउने, मिधुङ मिराक उठिसकेपछि सोमाङ केमाङ र मिधुङ मिराक मुन्धुमले चरु पोल्न लगाउने यदि चरु कर्म सकेपछि न्वारन कर्म सकिन्छ । त्यो न्वारन कर्ममा बाल वा बालिकाको नाम सेवासावा कहाँ गएर जुराउनु पर्दछ ।

(३) तेन्धाम मेखिम (शुभ–विवाह)

मानिस जवान भएपछि विवाह गर्नु मानवीय अनिवार्य कर्म संस्कार हो । किनभने विश्व ब्राह्मण्डमा दुई तत्व र दुई पक्षविना सृष्टि हुन नसक्ने हुँदा ओत तागेरा निङवाभूमाङले यी हरेक दुई तत्वको सृष्टि गर्नु भएको कुरा किरात साम्जीक मुन्धुममा स्पष्ट वर्णन गरिएको छ । जस्तैः आकाश र पृथ्वी, दिन र रात, ठण्डा र गर्मी, नेगेटिभ र पोजेटिभ, महिला र पुरुष आदि । यी दुई तत्वको मिलन तथा समिश्रणविना अर्को बस्तुको सृष्टि नहुने हुँदा यो अनिवार्य संस्कार मानिएको छ ।

किरात धर्मदर्शन अनुसार विवाह कर्म गर्नु मुन्धुमी कालदेखिनै सुरु भएको पाइन्छ । किरातहरुले कुलपितृ अथवा इष्टमाङको रुपमा मान्दै आएको यूमा र थेवाबीच पनि बैबाहिक सम्बन्धनै जोडिएको थियो । अझ बहुविवाह गर्ने प्रचलन समेत मानव सृष्टिको दोस्रो पुस्ता सावा युक्पुङगेम्बाको पालाममा भएको थियो । त्यसैले किरात समाजमा महिला पुरुष दुवै पक्षले बहुविवाह गर्ने प्रचलन अझै पनि छ । तर, राम्ररी केटा केटीहरुको ग्रह गोचर जन्म कुण्डली, राशी, वर्ग आदि सबै मिलाएर विवाह गरे त्यो समस्या पनि समाधान हुने देखिन्छ ।
किरात जातिहरुमा विवाह चार प्रकारले गर्ने प्रचलन रहिआएको पाइन्छ ।

१.माङ मेखिम (देव विवाह)

२. नाक् मेखिम (मागी विवाह)

३. मिम्जिगेन मेखिम (प्रेम विवाह)

४. खुत मेखिम (चोरि वा जारि विवाह)

देव विवाह

माङ मेखिम भन्नाले देव विवाह भन्ने बुझाउँछ । मुहिङगुम अङसीमाङ र अङसीमामाङ परिवारमा गरिने विवाहलाइ मात्र माङ मेखिम अथवा देव विवाह भन्नु पर्दछ ।

नाक् मेक (मागी विवाह)

कुनै पनि विवाह गर्ने उमेर पुगेका युवाले ज्योतिष कहाँ गएर उसको जन्म सुतिका हेरकोर गरी शुभ लगन छ कि छैन पत्तो लगाउने पर्दछ । यदि शुभ लगन छ भने दुलहीको घर कुन दिशामा पर्छ ? कति डाँडा कति खोला नजिक टाढा ? घर कस्तो छ ? आदि सबै कुरा हेरी कन्यार्थमा जाँदा कति बजेको साइत जुर्ने ? कुन दिन यी सबै कुरा भइसकेपछि उक्त जुरेको ठीक समयमा दुलाहा र उसको साथी एक जना अनि इङमीबा (सरदार) दुईजना गरी जम्मा चार जनासम्म जानु पर्दछ । ठीक ठाउँमा पुगेपछि तुम्याङहाङहरु सबै बसेर पहिलो त नाता सम्बन्धको कुरो गर्नु पर्दछ । नाता सम्बन्धले नलाग्ने भयो भने दुलाहा र दलहीहरुको राशी, वर्ग, कुण्डली आदि हेरी कोरी मिलाउनु पर्ने हुन्छ ।

दुलाहा र दुलहीबीच विवाह गर्ने सम्बन्धमा अन्तर सम्बाद गराउने र यदि उनीहरुबीच समझदारी कायम भयो भने त्यसपछि मात्र दियो कलश बाल्ने । एउटा थालमा चामल राखी त्यस माथि तीनवटा दियो, कलश स्थापना गरी दीप प्रज्वलन गरी दुवै पक्षका तुम्याङहाङहरु बसेर केटी मगनी सुरु गर्नु पर्दछ । अघि पिता पुर्खाहरुले गरी मानी ल्याएको परम्परा अनुसार छोरा छोरीहरु यूवा अवस्थामा पुगेपछि कुटुम्बा खोजी विवाह गरिदिने चलन सबैलाई बिदितै छ । बुहारी–ज्वाँइको साइनो लाउने चलन भई आएको हुनाले आज हाम्रो गाउँमा हाम्रो घरमा हामीहरुको छोरो जवान भयो । कुटुम्ब खोज्दै आउँदा यस घरमा सुहाउँदी कन्या देख्यौं, त्यसैले हामी तपाईहरुको घर आँगनीमा आइपुगेका छौ । मगनीका बेली विस्तार गरी सकेर कुरो छिनो–फानो भई सकेपछि दुलाहाले हातमा फूल लिई दुलही पक्षका माता, पिता अन्य दाजु, भाइ, बंश बन्धु, मान्यजन सबैलाई आदर सम्मानका साथ सेवा ढोग गर्नु पर्दछ ।

वि.सं. १९८८ सालको सत्य धर्म मुचुल्का अनुसार आदान प्रदान, सम्मान आदि गरिसकेपछि शुभविवाहको मितिका सम्बन्धमा दुबै पक्ष बसेर सर सल्लाह गरीे निर्णय गर्नु पर्दछ । दुलाहा र दुलाही पक्षका बिदा लिई घर तर्फ फर्किन्छन् । शुभ–विवाहको पूर्व तयारी भइसकेपछि विवाह (लगन) हुनु दुई दिन अगाडि केटी मगनी गर्न जाने दल नै बेहुली लिन बेहुलीको घरमा पुग्दछन् । त्यस दिन बेहुलीको माइती घरमा माइती पक्षबाट केटीको शुभ–विवाहको कार्यक्रम भइरहेको हुन्छ । दुलाहीको घरमा पनि किरात धार्मिक नियम अनुसार आँगनमा लिपपोत गरी ङालाधुङ सेमी स्थापना गरी बेहुला र बेहुलीलाई सेवा मण्डपको पश्चिमतिर वा दक्षिणतिर आशनग्रहण गराउनु पर्छ । माङसेवासावाले उनीहरुको नौ ग्रह शान्ति गराई सुख, शान्ति, दिर्घायू र उत्तरोत्तर प्रगति अनि दाम्पत्य जीवन सुखमय रहोस् हार्दिक मंगलमय शुभकामनासहित ग्रह जप शान्ति गराई सेवा गराउनु पर्दछ । चरु पोली सकेपछि आरतीसहित पाँच फन्को परिक्रमा गराएर सेवा गर्ने ।

सेवा मण्डपकै दक्षिणतर्फ आशीर्वचन मञ्च निर्माण गरिएको हुन्छ । त्यो आशीर्वचन मञ्चमा एउटा टेबल राख्ने त्यसमाथि सेतो कपडा बिछ्याउने र त्यसमाथि काँशको थालमा अथवा तामाकै थाल भएपनि हुन्छ । एउटा थालमा दुईमाना चामल राख्ने र दुईजोर दियो कलश सफा गरी फूलको आशन राखी स्थापना गर्ने । एउटा सफा थालमा दही अक्षता मुछी तयार पार्ने साथै वजङ फूङजङ धुप कोइला आदि सबै आवश्यक सामग्री तयार गरी दुलाहा र दुलहीहरुलाई आशीर्वचन तथा स्वयम्बर मञ्चमा आशनग्रहण गराउने । साथमा एक–एक जना लोकन्दा लोकन्दीसमेत रहनु पर्ने हुन्छ । त्यसपछि दुलाहा र दुलहबीच फूलको मालाले स्वयंम्बर गरागर गरी भए चिनुसमेत आदान प्रदान गराउने । एक आपसमा सेवा गराउने र त्यसपछि दुलही पक्षका माता पिता र आदरणीय मान्यजन अनि आमन्त्रित अतिथि दर्शक सम्पूर्णको हस्तबाहुलीबाट दही अक्षताको टीकासहित आशीर्वाद ग्रहण गराउने । त्यसमा सर्वप्रथम सेवासावाको हस्तबाहुलीबाट सुरु गराउनु पर्दछ । र, आशीर्वाद ग्रहण गर्दा उभिनु पर्ने हुन्छ । आशीर्वाद दिने काम पूरा भइसकेपछि सबै मान्यजनहरुलाई आदर सम्मान पूर्वक दुलाहा दुलहीहरुले फूल बाँड्दै सेवा, ढोग गराउनु पर्दछ । त्यसपछि दुलहीका माइती पक्षको शुभ–विवाह कार्यक्रम पूरा हुन्छ । नजिक भए त्यसै दिनमा पठाउने । यदि टाढा हो भने भोलिपल्ट बिहान खानपिनपछि दुलहीका साथमा लोकन्दी र एक दुई जना माइतीहरु समेत उपस्थित गराई दुलाहाको घर तर्फ पठाउने ।

दुलाहाको घर नजिक पुग्ने बेलामा दुलाहाको तर्फबाट एउटा थालमा तीनजोर दियो कलश, वजङ फूङजङ धुप कोइला र दुईवटा फूलको माला तयार पारी माङबाजा ढोल, झ्याम्टा, शंख, डमरु, घण्टी, नौमती भएसम्मका बाजाहरुका साथ बजाउने । दुई जना कन्यालाई दियो कलश बोकाई स्वगतार्थ घरदेखि केही परसम्म बेहुलाका बुबा आमाहरुले बुबाले दुलाहालाई र आमाले दुलहीलाई फूलमाला लगाई दिने । अन्य लोकन्दीहरुलाई पनि फूलको गुच्छाले स्वागत गर्नु पर्दछ । यदि भइसकेपछि केटाको घरदेखि केही बाहिर लोकन्दी बस्ने डेरा बनाएको हुन्छ । त्यस ठाउँमा लगेर बेहुली र लोकन्दीहरुलाई अघि बोकेको दियो कलशलाई त्यही राखेर आशनग्रहण गराउनु पर्दछ । आशनग्रहण भइसकेपछि आउने लोकन्दी पाहुनाहरुलाई जलपान गराउने र बेलुकी खानापछि आराम गराउने । सकेमा माङलाङ केलाङ, याःलाङ, हाक्पारे, ख्याली, गर्दा पनि हुन्छ ।
भोलिपल्ट शुभ–लगनको दिन बिहान दुलाहाको आँगनमा ङालाधुङसेमी सेवा तयार पार्ने र आगनमा प्रवेश गर्ने बाटोमा एउटा प्रवेश गेट निर्माण गरी माङलाङ ताक्मा ब्यानर लेखी त्यो गेटमा टसाउने र गेटको दाहिने देब्रेतर्फ तामाको गाग्री ल्याई लिपपोत गरी स्थापना गर्ने । त्यसमाथि काँशको थालमा चामल लगाई एउटा–एउटा दियो कलश स्थापना गरी गेटमा रिबन टाँगी राख्ने । यी सबै डेकुरेशन कार्य सकेपछि बेहुला र बेहुलीहरुको कपडालाई बेहुला अन्माउने कोठामा दुईवटा थालमा एउटा–एउटा दियो कलश र चामलसमेत लगाई तयार पार्ने र एउटा थालमा दही र अक्षता मुछी तयार पार्ने । त्यसपछि बेहुला र बेहुलीको भाइ पर्ने एक जना लोकन्दे समेत राखी सर्वप्रथम स्थापित दीप प्रजलन गरी बेहुला र बेहुलीले लगाउने बस्त्र जस्तै तागावा मेख्ली र मेकपको सामग्रीहरु एउटा नाङ्लोमा राखी बेहुलालाई पुज्न लगाउनु पर्छ । माङसेवासावाले कुसाङसेमा साम्जीक मुन्धुम वाचन गरी शान्ति पाठ गर्ने र त्यसपछि बेहुलीका बस्त्रहरु सफा रुमालमा पोको पारी नाङलोमै राखेर तुत्तु तुम्याङहरुले बेहुली बसेको डेरा कहाँ लगि लोकन्दी प्रमुखको सामू राखी आदर सम्मानका साथ बिन्ति भाव टक्राउदै जिम्मा लगाउँछन् । त्यसपछि लोकन्दीहरुले ग्रहण गरेपछि बेहुलीलाई बस्त्र अन्म्याउने काम सुरु गर्दछन् ।

घरमा बेहुलालाई अन्माइ सकेर माङसेवासावाले माङलाम नाक्मा साम्जीक मुन्धुम वाचन गर्नुपर्दछ । बेहुलाको बुवा आमा र मान्य व्यक्तिहरुको हस्तबाहुलीबाट बेहुला र लोकन्दालाई दही अक्षताको टिको लगाई दिनु पर्दछ । त्यसपछि तीनजना कन्या केटीहरु तयार पारी बेहुलाले ती कन्या चेलीहरुलाई दही अक्षताको टिको लगाई दिएर दुई चार रुपैयाँ ती चेलीहरुको हातमा लगाई दिई दक्षिणा गरी ढोक्नु पर्दछ ।
यदि कर्म सकेपछि ती तीनजना कन्याहरुले दियो कलश र दही अक्षताको थाल बोकी अगाडि बढ्छन् । साथमा ढोल, झ्म्याटा, शंख, डमरु, घण्टीहरुको अगुवाइमा बेहुला अन्माइको कोठादेखि बेहुलाको भाइ, भतिजाले बोकेर आगनसम्म निकाल्ने काम गर्छन् । आँगनदेखि भने बेहुली बसेको डेरासम्म भएमा घोडा, डोली, कार आदिमा सवारी गराउन पनि सकिन्छ । सवारको अवस्थामा लोकन्देले बेहुलालाई छाता ओढाएको हुुनु पर्दछ । त्यसपछि बेहुला बेहुली बसेकोे डेरामा पुगेपछि आमने सामने उभ्याउनु पर्छ । पहिलो त बेहुलीले ती तीनजना कन्या केटीहरुलाई दियो कलश पुज्दै दही अक्षताको टिको लगाई दिनु पर्छ । त्यसपछि बेहुलीले पनि ती कन्याहरुलाई फूलसँग केही भेटी दक्षिणा गरी सेवा गर्नु पर्दछ । यदि सकेपछि बेहुलाले बेहुलीलाई दही अक्षताको टिका र एउटा फूलको मालासमेत लगाईदिने र त्यसपछि बेहुलीले पनि बेहुलालाई फूलको माला लगाई दिएपछि बेहुलीले बेहुलाको खुट्टामा ढोगी दिनु पर्नेहुन्छ ।

त्यसपछि दियो कलश अगाडि लगाई त्यसपछि बेहुली र पछाडि बेहुला लगाई बेहुलाको घर आँगनतर्फ सवार गराउनु पर्छ । जब मूल प्रवेश गेटमा पुग्दछन्, त्यहाँ केही क्षण रोकिएर अघि टाँगिएको रिवनलाई बेहुलीको हस्तबाहुलीबाट कैचीले काट्न लगाई उद्घाटन गराउने किनभने त्यो शुभ–लगनको कार्यक्रममा बेहुली प्रमुख अतिथिको रुपमा मानिएको हुन्छ । उद्घाटन्पछि बेहुला, बेहुली र लोकन्दीहरुलाई गेटमा प्रवेश गराउँदा बेहुला पक्षका मान्यजनद्वारा फूल अक्षताले बर्साउनु पर्दछ । त्यसपछि सेवामण्डप तर्फलगी पाँच फन्का परिक्रमा गराई मण्डपको दक्षिण भागमा आसन गराई पूर्वदिशामा स्थापना गरिएको दियोलाई बेहुलीको हस्तबाहुलीबाट प्रजलन गर्न लगाई सेवा उद्घाटन गराउने र अन्य दियोहरु अरुले बाले पनि हुन्छ । यसपछि माङसेवासावाले साम्जीक मुन्धुम वाचन गर्न सुरु गर्ने ।

शुभ–विवाहको सेवा मण्डपमा एकसारो रुपमा मुन्धुम वाचन गरे हुन्छ । यहाँ हाङसाम थेवा, निस्सेमाङ, फाङ साम्माङ, आदि गर्न आवश्यक पर्दैन । ग्रह शान्ति बेहुलीको माइती घरमानै भइसकेको हुन्छ । अथवा केटाको यदि अशुभ ग्रहहरु देखा परेको छ भने बेहुली लिन जानु अगाडिनै शान्ति ग्रह जप गरी सक्नु पर्दछ । माङ सेवासावाहरुले त्यसदिन पढ्नु पर्ने साम्जीक मुन्धुम साप्योक सेवादेखि क्रमशः माङलाक फोङ्मा, तगिपसेवा, कुसाङसेमा, लिसी साम्जीक, सावायेक्कोकमाङ, फाङ साम्माङहरुको आशन ग्रहणपछि संकल्प र त्यसपछि मिधुङ मिराक फोङमापछि सोमाङ केमाङ मिधुङ मिराक, केरेक माङहा चाविमासी मुन्धुमले चरु लगाई सकेपछि कुनारा सेमा गरेपछि यज्ञ मण्डपको सेवा सकिन्छ ।

लगन गर्नलाई जुन सेवा मण्डपदेखि दक्षिणतर्फ लगन तथा आशीर्वाद ग्रहण मञ्च स्थापना गरिएको हुन्छ । सेवापछि जलपान गराएर शुभ लगनको साइत कति बजे जुरेको छ त्यही साइतमा लगन गर्ने । लगन गर्दाको आवश्यक सामग्रीहरुमा एउटा काँशको थालमा दुई माना र दुई मुठी चामल लगाउने र काँसाकै लोहोटा सफा गरी दुईवटा कलश र दुई वटा दियो उक्त थालमाथि फूलको आशन दिई स्थापना गर्ने । दुई गिलासमा शुद्ध दही तयार पारी आवश्यक फूल अक्षता वजङ धुप कोइला आदि सबै तयार गरेर दाँयापट्टि बेहुला र बायाँतर्फ बेहुली अनि साथमा लोकन्दा र लोकन्दीहरु समेतलाई आशन ग्रहण गराउनु पर्दछ । दीप प्रजनन गरी कुसाङसेमा शान्ति पाठ गर्ने र शान्ति पाठ सकेपछि मेखिम माङ्गेन्ना मन्धुम वाचन शुरु गर्ने । मुन्धुममा हुनेदुबा–हुनेदुमा भन्ने ठाउँमा पुग्दा पञ्च वाक्य थोरै उच्चारण गर्नु पर्ने हुन्छ । जस्तै फलना थुम, गा.वि.स., वडा. नं., टोल बस्ने फलनाको नाति, छोरा, फलना थरले, फलना जिल्ला, फलना थुम, फलना गा.वि.स. वडा.नं. टोल, बस्ने फलनाको नातिनी, फलनीलाई आजको मितिदेखि वैवाहिक सम्बन्धमा बाँधी श्रीमान्–श्रीमती बन्न पाउँछन् हैन भनी पञ्च तुम्याङहाङहरुलाई सेवासावाले सोध्नु पर्दछ ।

तुम्याङहाङहरुले फलना र फलानीबीच साइनो सम्बन्ध आदि सबैले साथ दिएको हुँदा श्रीमान्–श्रीमती हुन पाउँछन् है भनी पञ्चले बोलेपछि बेहुलाले बेहुलीलाई माङफूङ (विगोत) लिई पञ्च तत्व र अष्ट देवताको नाममा चढाउन लगाई आजको मितिदेखि मेरो श्रीमती भयौ है भनी दाहिने हातको बुढी औलाले बेहुलीको निधारमा तीनपटक ठाढो माङफूङ लगाई दिनु पर्दछ । त्यसपछि पोते लगाई दिने, नभए फूलको माला लगाई दिने र बेहुलीले पनि उठेर बेहुलालाई फूलको माला लगाई दिएर बेहुलाको खुट्टामा एक पटक ढोक्नु पर्दछ । त्यसपछि यथास्थानमा बस्नुलाई माङसेवासावाले माङ्गेन्ना दियो कलशहरुलाई सारफेर गरी दिएर बेहुला बेहुलीलाई नयाँ दोसल्ला ओढाई राख्ने त्यसपछि माङ्गेन्ना मुन्धुम पाठ गरी सकेपछि बेहुला र बेहुलीहरुको माङ्गेन्ना उठाई दिनु पर्छ ।

त्यसबेला साम्जिक मुन्धुम पाठ गर्दा तुङ्गुन्वरक कामेच्छि, मिक्कीफूङ्वा कामेच्छि भन्ने ठाउँमा पुग्दा त्यो गिलासमा राखिएको शुद्ध दही पहिला बेहुलालाई खुवाउने र बेहुलीलाई खुवाई दिने । त्यो खुवाउने काम लोकन्दा र लोकन्दीले गर्नुपर्ने हुन्छ । यदि कर्म सकेपछि लगन मेखिम कर्म सकिन्छ ।

आशीर्वाद प्रदान

उक्त लगन माङ्गेन्ना सकिएपछि बेहुला–बेहुली लोकन्दा लोकन्दीहरुलाई उभ्याएर पहिला गुरुको हस्तबाहुलीबाट टिका ग्रहण गर्नेर त्यसपछि आफ्ना बुवा, आमा, बाजे, बोजु, बडाबा, बडीआमा र मान्यजन तथा आमन्त्रित अतिथिजन सबैबाट आशीर्वचन प्रदान गर्ने कर्म सकिएपछि घरमा भित्राउने क्रममा घरको मूलढोकादेखि बलेसीसम्म रातो माटोले लिपपोत गर्ने । त्यहाँ सेतो कपडा बिछ्याउने र त्यो कपडामाथि धान, फूल, अक्षता, भेटी डलर पैसा ठाउँ–ठाउँमा राख्ने र ढोकाको बाहिरपट्टि दुईवटा तामाको गाग्रोमा पानी भरेर फूल लगाई राख्ने । गाग्रीको फेदमा थालमा एउटा–एउटा दियो कलश स्थापना गरी तयार पार्ने र बेहुला–बेहुलीलाई माङ्गेन्ना मञ्चबाट उठाएर मूल ढोकातर्फ ल्याउने बलेसीमा पुगेपछि लगाएको जुत्ता खोल्न लगाई निर्मल पानीले अविसेक गर्ने ।

बिछ्याएको कपडामाथि टेक्दै मूल ढोकामा जाने र मूल ढोकामा पुगेपछि बाहिर पट्टी उभ्याउने र आफ्ना बुवा–आमा बाजे–बोजु र आफन्त मान्यजनहरुको हस्तबहुलीबाट दही अक्षताको टिका लगाई दिई सकेपछि भएमा आफ्नो जेठानी दिदीले नभए सासु आमाले एउटा नयाँ मजेत्रो ओढाई त्यसैले तानी घर भित्राउनु पर्दछ । घरभित्रनै बेहुला बेहुली लोकन्दी सबैलाई बसाएर जलपान र खानपिन गराउने र सकेपछि बेहुला बेहुलीहरुले आफ्ना माता–पिता र आदरणीय मान्यजन सबै जनालाई हातमा फूल दिदै सेवाढोग गराउने । त्यसपछि त्यो शुभ विवाहको दिन रातभर माङलाङ, केलाङ, याःलाङ, हाक्पारे, ख्याली आदि किरात संस्कृतिजन्य कार्यक्रम गरी उज्यालो पार्नु पर्दछ । त्यसलाई नाम्दाते भनिन्छ ।
त्यस दिन विहान बेहुलीले आफ्नै हातले खाना बनाएर खुवाउनु पर्ने चलन पनि छ । खानपिन पश्चात विदाई गर्नु अगाडि बेहुला बेहुलीहरुलाई ढोलनाचको तर्फबाट र भएमा नौमती बाजाको तर्फबाट अनि तुम्याङहाङको तर्फबाट आशीर्वचन दिनु पर्दछ । त्यसपछि त्यहीँ ठाउँमा बेहुला पक्ष र बेहुली पक्षबीच परिचयात्मक कार्यक्रम र ढोग भेटपछि बिदाई कार्यक्रम हुन्छ । त्यसपछि शुभविवाह सम्पन्न हुन्छ ।

नानुमिम मेक्खिम (प्रेम विवाह)

यो विवाह युवा र युवतीहरुबीच एक आपसमा नाता सम्बन्ध केलाई साइनु नलागेमा र मन परापर भएमा अविभावकहरुको अनुमति विना अप्रत्यक्ष रुपमा विवाह गर्ने सुनिश्चित गरेपछि हुुन्छ । केटाले केटी लिई केटाको घरतर्फ आउँछन् । यसरी आएको अवस्थामा सिधै केटाको घरभित्र पस्न मिल्दैन । कन्या जारी जे भएता पनि केही क्षणको लागि बाहिर कुनै एउटा घरमा केटीलाई राख्नु पर्ने हुन्छ । गाउँका बुढापाका, पञ्च भलादमी माङसेवासावा आदि सबैलाई सूचना गरी उपस्थित गराएर विधिवत मूल ढोकाको दाहिने देब्रे तामाको गाग्री र दुईवटै थालमा चामल दियो कलश स्थापना गरी माथि उल्लेख गरे झैं गरेर भित्राउनु पर्दछ ।

यसरी भित्राईसकेपछि लगनको लागि एउटा थालमा २ माना चामल एउटै थालमा राखी एकजोर कलश एक जोर दियो स्थापना गरी लगन गरिदिनु पर्दछ । त्यसरीनै अन्तिममा सेवा ढोग पछि विवाह कर्म सकिन्छ ।

चोरी वा जारी विवाह

यो विवाह किरात लिम्बू जातिमा आफ्नो परम्परा धर्म, भाषा, लिपि, संस्कार, संस्कृति भूलेर विकृति र विसंगतिको चापमा परी कुसंस्कार एवं कुरीतिहरुको रुपमा रहेको छ । आसुरी तवरले गरिने विवाहलाई चोरी वा जारी विवाह भनिन्छ । जसमा, दया, माया इमान, इज्जत बिर्सी कुटुम्बाहरुको छोरी चेलीहरु गाउँ घर वा मेला बजारबाट भएपनि आफूले एक लौटी मन पराएको भरमा केटीको इच्छा विपरित जबरजस्ती हातमा समाई मुडा ताने झै गरी तानेर केटाको घर पु¥याउने गरिन्छ । बेहुलीको बेमञ्जुर हुँदाहुँदै पनि भित्राई ढोका बन्द गरी लगन, गराई दिन्छन् ।
अन्त्यमा केटीले पनि मलाई जबरजस्ती भएपनि हात लगाए मेरो इज्जत खोसियो भनि अन्याय भएपनि स्वीकार्न बाध्य हुनु पर्दथ्यो । किनभने कानुनी कार्वाही गर्ने क्षमता उनीहरुमा हुँदैन थियो । त्यसैले यो संस्कार महिलाहरुप्रति गरिने अन्याय, अत्याचार मात्र होइन जघन्य अपराध पनि हो, पाप हो । त्यसैले धर्म दर्शनले यस्तो प्रकारको व्यवहारलाई घोर बिरोध गर्दछ । त्यसैले अब उप्रान्त यस्तो प्रकारको चोरी वा जारी विवाह कोही कसैले पनि गर्न हुँदैन् ।

खिम्बुङ नारासेमा खाजोङ (वैतर्नी कर्म, जेमुना )

मानिस विरामी हुँदा सबै औषधि उपचार गरी सकेपछि पनि विरामीको निको हुन नसकी जब अन्तिम अवस्थामा पुग्छ कि वार की पारको अवस्था हुन्छ । यस्तो अवस्थामा गरिने सेवालाई जेमुनारा सेमा भनिन्छ । उक्त जेमुनारा सेमा कर्म विरामीको सिरानीतिर भुइमा रातो माटोले लिप्ने । यदि रातो माटो नभए अन्य माटोले भए पनि लिपेर एउटा थालमा थोरै चामल राखी एकजोर दियो कलस स्थापना गरी आवश्यक सामग्री वजङ फूङजङ अक्षता, धुप, कोइला आदि जम्मा गर्ने । त्यसपछि साम्जीक मुन्धुमहरु क्रमसः साप्योक सेवा मुन्धुम, कुसाङसेमा गरी सकेपछि खिम्बुङ नारा अथवा जेमुनारा सेमा साम्जीक मुन्धुम पाठ गर्नु पर्दछ । अन्तिम कुनारा सेमा गरेपछि जेमुनारा सेमा कर्म पूरा हुन्छ । यदि आयु नपुगेको हो भने सुधार हुँदै आउँछ । आयु पुगेकै हो भने एक हप्ताभित्र मृत्यु हुन्छ ।

मानिस मृत्यु भएपछि गरिने कर्म संस्कार

मानिसको जन्मपछि एकदिन मृत्यु हुन्छ । मुन्धुम अनुसार मृत्यपछि गरिने संस्कार हुन्छ । त्यसलाई साम्सामा भनिन्छ । मानिसको मृत्युपछि साम्याङवा चुवात्, युप्पावा चुवात्, सिथाङ्गेवा चुवात्, सुन चाँदी पानी र तिल, जौ पानी बनाई तितेपातिको मुन्टाले मृतकको शरीरलाई शिरदेखि पाउसम्म धोई पखाली प्राण अन्त्य भएको ठाउँमा माटोले लिपी दुईवटा तक्ती बिछ्याउनु पर्छ । तक्ता माथि कपडा बिछ्याएर मृतकको शरिरलाई राख्ने । कपडा बिछ्याउँदा उनले बनेको कपडा प्रयोग गर्नु हुन्न । लासलाई सफा कपडा लगाई निधारमा एउटा ढक्की पैसा राखि दिनु पर्छ । सिक्का चाँदीको भए राम्रो हन्छ । त्यसपछि एउटा थालमा एकमाना चामल लगाई एउटा दियो र कलश बनाई सुगन्धित धुप बाली राख्ने र मुर्दालाई बेर्ने सेतो कपडा चे चिरिक कपडा दोकान कहाँ गएर ल्याउने र समयनुसार मुर्दा केही समय राख्नु पर्ने वा कसैलाई पर्खन्नु पर्ने अवस्था छ । कात्रो कपडाले नवेरी अन्य पुरानोनै कपडा ओढाई रुङ्नु पर्दछ ।

लास बनाउने बाँसको लागि बाँसको झ्याङतिर जाने र एक रुपैयाँ ढक्की पैसाले बाँस किन्नु पर्छ । आज फलना फलनी मृत्यु भएको छ – मृत शरीर बोक्नलाई बाँसको आवश्यक परेकोले फलना वा फलनीले बाँसको मूल्य एक रुपैयाँ चढाएको छ है भनी सकेपछि मात्र बाँस घारीमा त्यो एक रुपैयाँ फ्याकी दिनु पर्छ । र, बाँस काट्नु पर्दछ । बाँस काट्दा राम्ररी ठम्याएर मात्र काट्नु पर्ने हुन्छ । किन भने एउटै मुर्दा बोक्ने बाँस दुई वटा काट्नु हुँदैन भन्ने भनाइ छ । र, चोयाको लागि अर्कै झ्याङको त्यहीँ विधिले काट्नु पर्छ ।

चेधाप बनाउदा सबभन्दा पहिला डोलो बाँसलाई स्केल गरी नापी दुई टुक्रा बनाउने र मिलाई राख्ने । त्यही बाँसको आग्लो पुरुष भए चारवटा र महिला भए तीनवटा बनाउने । त्यसरी नै भाटा पनि तीन र चारवटा बनाउनु पर्छ । त्यसपछि त्यो डोलो बाँसमा तीन तला, चार तला आग्लो बाँधी भाटा बाँधी दिने । त्यसरी बाँधी त्यहीँ भाटाको मसिनो चार फूटको बनाई त्यही आग्लोमा मिलाएर बाँध्नु र त्यो बनाएको चेधापलाई उचालेर फर्काइ दिनुपर्छ । त्यो तीन र चारवटा सिन्का बाँधेकोलाई ठाडो पारी त्यहीँ बाँसमा बाँधी टुप्पामा तिखार्ने । त्यसलाई कन्दुवार भनिन्छ ।

नाम्धेकको लागि स–साना दुईवटा भाटा दुई–दुईफुटको टुक्रा बनाई प्लसको चिन्ह झैं बनाई बीचमा बाँध्ने । कात्रो कपडाको चारपाटे रुमाल च्याती तयार पारी त्यो बनाइएको सिन्काको टुप्पोलाई तिखारीे चारपाटे रुमाल टाँगी नाम्धेक बनाउने । नाम्धेकको बीचमा काँचो धागोलाई तीन जोेरे र चार जोरे बनाई महिला भए आठ तलाको र पुरुष भए नौतलाको गाँठो बनाई त्यो नाम्धेकको बीच भागमा झुण्ड्याउने र त्यसलाई साम्थरे भनिन्छ ।
लास बोक्न काटिएको बाँसको टुप्पो १०–१२ फूटको काटी लिङ्गो बनाउनु पर्छ । त्यो लिङ्गोमा एक मिटरको कपडाको ध्वजा झुण्ड्याउने र त्यसमा मुक्ति मन्त्र लेखी तयार पार्ने । त्यसरी नै अघि काटेकै बाँसको टुप्पोमा उल्टो गिडेर तीन र चारवटा ढुङ्ग्रो बनाउने । त्यसमा पानी हाली चोयाले बाँधी तयार पार्ने । धान भुटी लाया बनाउने र त्यसमा चानचुने डलर पैसाहरु लगाई एउटा टपरामा तयार पार्ने र अर्को सिरु खरको स–साना तीन चार मुठा तयार पार्ने । त्यसरी बाहिर आवश्यक सामग्री भइरहेको अवस्थामा भित्र साम्दक पकाउनु लगाउने ।

साम्दक पकाउदा पुरुष भए नौं मुठी महिला भए आठ मुठी चामल लगाई नपखाली एउटा भाँडामा सुन पानी चाँदी पानीले पकाउनु पर्छ । त्यसलाई छोप्नु चलाउनु हुँदैन । र, सब्जी पकाउन लगाई भएसम्मको फलार जम्मा गरी मृत आत्मालाई एक पटक चेसाम मुन्धुक्मा साम्जीक मुन्धुमले पिण्ड दिन लगाउने र पिण्ड दिन सकेपछि माङसेवा गर्ने । त्यसपछि मृत शरीरलाई चे–चिरीक कात्रो कपडा नापेर दुई टुक्रा बनाउने र एक टुक्रा ओछ्याउने, एक टुक्रा ओढाउने र दाहिने देब्रे दुवै पट्टी महिला भए तीन–तीन, पुरुष भए चार–चार मसिना बाँसकै सिन्का तीन इन्च जतिको टुक्रा बनाई दुबैतर्फ तिखारी कात्रो कपडामा उनि दिनु पर्छ । त्यसपछि मुर्दाको छेउमा पानीले लिपि चेगोक्सिं बाँसकै दुई टुक्रा दुई–दुईफुटको टुक्रा बनाई शिर पाउमा राखी त्यसमाथि चेधाप राखी त्यसमा ओछ्याउने । भए गुन्द्री नभए उनी बाहेकको केही तन्ना बिछ्याई मुर्दालाई त्यहाँ राख्ने र तीन ठाउँ चोया र कात्रो कपडा च्याती चोयासँगै मिलाएर मुर्दा लाशलाई बाँध्नु पर्दछ ।

साम्जीक मुन्धुम अनुसार वेतको चोयाले बाँध्ने र मुर्दाको शिर अनुहार माथि नाम्धेक राखी सकेपछि लाशको वरीपरी कात्रो कपडाको कन्दुवार लगाई तयार भई सकेपछि सिमिरिक फूङ सिन्दुरले छर्की दिनुपर्छ । भएमा मिक्चीरीफूङको वरिपरि माला बनाई लगाई दिने नभए अन्य फूलको भएपनि हुन्छ । यसरी चेधाप तयार भइसकेपछि एक जना तुम्भाक्साले धान भुटेको लाया बोकेर सबैभन्दा अगाडि लाया पैसा छर्दै हिड्ने र पछाडि लिङ्गो त्यसपछि दियो कलश थालमा र अन्य आवश्यक सामग्री सबै तयार गरी लाश बोक्ने क्रियापुत्री निजको छोरा वा हक्वालाहरुले बोक्नु भन्दा पहिला महिला भए तीन र पुरुष भए चार पटक ओत् हुम् भन्ने मन्त्र उच्चारण गर्दै उचाल्दै राख्दै गरी अन्तिममा काँधमा चढाएर लाश हिँडाउनु पर्दछ । लाश हिडाउँदा शिर घरपट्टि र पाउ वनपट्टि पार्नु पर्छ । माङसेवासावाले काम्भुनसिं लोमा र थुङ्वामा इक्वा काक्मा मुन्धुम वाचन गर्दै हिड्नु पर्दछ ।

माटो किन्ने

लाशलाई चेलुपदेन चिहान घारीमा पुर्याएपछि चेगोक माथि चेधाप लाशलाई भुइमा राख्नु पर्छ । लाशलाई छोरी, श्रीमती वा महिलाहरुले रुङ्ने गर्छन् । चिहानको लागि निश्चित ठाउँ हेरी सेवासावाले रु एकको सिक्का र दुबो हातमा लिई किरात साम्जीक मुन्धुममा खाम्इङमा मुन्धुमलाई वाचन गरी माटो किन्ने कर्म गर्नु पर्छ । क्रियापुत्रीहरु मध्ये जेठो पाकोले कोदालो टाङमुनि छिराई पछाडिपट्टि पारी चौकुनामा खुने झै गर्नु लगाउने । अरु मलामी जनहरुले कुट्टे, कोदालो, झेम्पल लिई खाडल खन्ने गर्नु पर्छ ।

लास राख्न पाँच फूटको गहिरो खुनेपछि अरु मलामीजनहरुले ढुङ्गा ओसार्ने काम गर्दछन् । त्यो ढुङ्गालाई खाडलमुनी बाकस जस्तो मिलाएर बनाउनु पर्छ । आजकल काठको तक्तिको वाकश बनाई लगाउने चलन पनि छ । यति भइसकेपछि लाशलाई अघि बोक्नेहरुलेनै बोकेर माङ्वाजाका साथ तीन र चार फन्को खाडल वरिपरि घुमाउनु पर्छ । त्यही एक साइडमा राखी लाश खोल्नु पर्दछ । र, छोरा छोरी, बुहारी सबैले खुट्टामा समातेर ढोग्नु लगाउने र मुन्धुम अनुसार सिदिङवा र युक्मीवा ल्याई भित्र बढार, कुढार गरी केही बिछ्याउना राखी लाशलाई दहन गर्ने । त्यसपछि लाशको हात खुट्टाहरु सोर्दै माङवा, हाङवा, तक्मुई याङमुई, साम्याङ युप्पा मुई, याङसा कुन्धे मुई, केरेक लन्देरो भन्ने वाक्यांश उच्चारण गरी एक जनालाई रुमाल वा टोपीमा थाप्न लगाई पोकोपारी घरमा ल्याउनु पर्छ ।

घरमा पुगेपछि मात्र सो पोको खोली दिनु पर्छ । अघि दियो कलश राखिएको थालको चामल रुमालमा पोको बनाएरु लासको सिरानीमा लगाई दिने । त्यसपछि त्यो वाकसमाथि छपोट ढुङ्गाहरु मिलाए राख्ने र माटो छिर्न नदिनको लागि कपडाहरुले छोप्नु पर्दछ । क्रमशः माटो, ढुङ्गा मिलाउदै तीन र चार तला माटोमुनी पु¥याउनु पर्छ । बाँसको हाँगा वा काठैको भएपनि ल्याई महिला हो भने आठ तला र पुरुष हो भने नौ तलाको खिपेर लाशको शिरतर्फ सुल्टो र पाउ पट्टी उल्टो गाड्ने जति पुर्दै ल्यायो, उती नै उभो तान्दै गर्नु पर्छ । जब माथि माटोकोे तहमा पुग्छ तब सबै मलामी जनहरुको सातो निकाली दिनुपर्छ ।

सातो निकाल्दा पाउतिरको सिन्का उधो भसाई दिनु पर्छ । शिर पट्टिको सिन्काले साम्लप्मा मुन्धुम वाचन गर्दैे एक जनाले तानी निकाली पूर्व तर्फ फ्याँकी दिनु पर्छ । त्यसपछि ंसबै मलामीहरुले देब्रे हातले उल्टो फर्केर माटो दिनु लगाउने । त्यसपछि महिलाहरु सबै फर्किन्छन् । पुरुष जतिले तीन र चार तलाको चिहान बनाई सकेपछि निज कृयापुत्रीहरुले पहिला आगो र दोस्रो पानी चिहानको वरिपरि तीन फन्का चार फन्का घुम्दै पछाडिबाट दिन लगाउने । त्यो चिहान माथि आठ, नौं तलाको बाँसको वा काठको हाँगा खिपेर बीचमा गाढेर सबै सकेपछि सिदिङवा युक्मिवाले हात खुट्टाको पैलाहरु बढारे झैं गरेर मेटाउनु पर्दछ ।

मलामी घरतर्फ फर्किन्ने त्यसरी फर्किन्दा अघि एक जना अगाडि गएर महिला भए आठ ठाउँ, पुरुष भए नौं ठाउँ सिदिङवा (अडेरी) को एक–एक कदमको फरकमा राख्दै लाने र जहाँ आठ र नौं पुग्छ । त्यहाँ बाटोमा आगो फुकी तितेपातीको धुप सल्काई लामदो मिखु आगो बालिराख्ने र एउटा भाँडामा सफा पानी ल्याई तिल जौ, सुन, चाँदी पानी युक्त गरी तयार पारी राख्ने र प्रत्येक मलामी जनहरुले त्यो धुप र पवित्र पानीले अभिसेक गरी शुद्ध भई जानु पर्दछ । र, मलामी खाजा खाएपछि बिसर्जन गर्ने ।

साम्दाखोङ

साम्दाखोङ भनेको अघि लाशमा लगाइएको कन्दुवार कपडालाई सानो रुमाल च्याती मर्ने मान्छेको चिनो औंठी, घडी, चश्मा नभए अन्य खुकुरी, कर्दा अनि इष्ट मित्रहरुले फूल लगाई दिएको पैसाहरु पको पारी सागरबाट घरतर्फ ल्याउनु पर्छ । बेलुकी कृयापुत्रीहरुले बार्न सुरु गर्नु पर्छ । कृया बार्दा किरात धार्मिक संस्कारमा केश खौरिने चलन भने गरिदैँन किनभने किरात मौलिक परम्परामा नभेटिएको विक्रम सम्वत १८३१ पूर्व कृया बार्दा केश खौरिने प्रचलन नभएको र जब नेपालको राजनीतिक परिवर्तनपछि देश हिन्दूकरण बन्न पुग्यो । त्यसपछि मात्र किरात जातिहरुमा कृया बार्दा केश खौरी छोपो ओड्ने धोती लगाउने हिन्दु संस्कारले प्रभाव पार्दै ल्याएको देखिन्छ । त्यसैले अब उप्रान्त क्रिया बार्दा केश नखौरिने र आफू भन्दा माथिको भए टोपी मजेत्रो खोल्ने र कपडा भने उनी बाहेकको भूइमा गुन्द्रीलाई उल्टो पारी उनी नभएको तन्नाहरु ओछ्याई बस्नु पर्दछ । एउटा थालमा मानो चामल राखी एक–एक दियो कलश र साम्दाखोङ कपडा बिछ्याएर त्यो कपडामाथि दियो कलश राखी धुप, दीप प्रज्वलन गरी माङ सेवासावाले साम्जा पिमा साम्जीक मुन्धुम वाचन गरी पिण्ड चढाउन लगाउने । पिण्ड चढाउदा मद, मंस बाहेक शुद्ध फलाहार, दुध, दही, भात, तरकारी आदि बनाई चढाउनु पर्दछ । यसरी विहान, वेलुकी महिला भए तीनदिन र पुरुष भए चार दिनको दिन नुन तेल गर्नु पर्दछ ।

युमनिगे नाक्मा थिम (नुन तेल माग्ने)

नुन तेल माग्ने कर्म गर्दा बिहानै घर लिपपोत गर्नु पर्छ । माङसेवासावा विहान सबेरै उपस्थित भई घरभित्र पिण्ड दिई सकेपछि आँगनमा सानो लिपी चारवटा स–साना लिङ्गो गाडी ध्वजा झुण्ड्याई दिनु पर्छ । महिला भए तीन फेरा र पुरुष भए चार फेरा काँचो धागोले बेरी चारै सुरमा दियो कलश र दुई–दुईजोर लासो राखी लासोमाथि फूल, अक्षता, फलहार राखेर लिसी साम्जीकको पूजा गर्ने । बीचमा समेदा भने तीन–तीन गर्दै तीन तला र पुरुष भए चार–चार तलाको समेदा राखी कुसाङसेमा, चार वेद, संकल्प गरेर चोक्फूङमाङ साम्जीक मुन्धुमले चरु पोल्ने र चरु पोली सकेपछि एउटा नाङलोमा माखो, हाम्बेक जम्मा पाँच चिज मिलाई पकाएको हुन्छ । नुनतेल, खोर्सानी, अदुवा, लसुन पकाएकोलाई टपरामा दुईभाग गरी राख्ने एउटा तुम्याङहाङ र एउटा कृयापुत्री र दाजु भाइ वंशहरुलाई युमनिङ्गे नाक्मा साम्जीक मुन्धुम वाचन गरी सकेर तुम्याङहाङ पाचासमेत गरी पञ्चले क्रियापुत्रीहरुलाई एउटा दुनाको माखो हाम्बेक खुवाउनु पर्छ । त्यसदिन देखि आधा कर्म सकिन्छ । कृयापुत्रीहरु कुनाबाट बाहिर निस्कन्छन् । बार्ने सवालमा कृया बारी बस्दा पशु प्राणीहरुसँग मात्र छुवाछुव गर्न हुँदैन । मानिससँग भने बार्नु पर्दैन ।

मानिसको मृत्य हुँदा महिला भए आठ दिन र पुरुष भए नौ दिन पुगेपछि कुस्रीङवा बार्नु पर्ने हुन्छ । कुस्रीङवा बार्दा पृथ्वीमा खन्नु, जोत्नु प्रतिबन्द हुन्छ । छाक बारन भने आवश्यक पर्दैन् । महिला भए नौ दिनको दिन र पुरुष भए दश दिनको बेलुकी सामहिम बनाई सामहिममा थालमा माना चामल र दियो कलश राखी साम्दाखोङ बिछ्याएर धुपदीप बाली फेरि अघि झैं कृयापुत्रीहरुलाई कुनामा राखेर पिण्ड दिन लगाउने र त्यो रात फेरि कृयापुत्रीहरुले छाक छोड्नु पर्ने हुन्छ । भोलिपल्ट महिला भए दश दिनको बिहान पुरुष भए एघार दिनको विहान घरदेखि पश्चिम तर्फ फजे ताक्तेन बनाउने । ताक्तेन बनाउनलाई पहिला भूमिलाई सफा बनाई चारवटा लिङ्गो गाड्ने र लिङ्गोमा धाजापाता र चन्दुवा झुण्ड्याउने । चन्दुवा साधा कपडाको हुनुपर्दछ । सेवा मण्डपमा इदुङसमेत बनाई महिला भए तीन तला र पुरुष भए चारतला, बाँसको भाटा मण्डपको वरिपरी बाँध्ने र त्यसरी नै धागो पनि महिला हो भने आठ फन्का र पुरुष हो भने नौ फन्को बेरेपछि नचुँडाइ त्यतिकै राख्नु पर्दछ ।

घरमा बिहानको पिण्ड दिई सकेपछि मन्दिर झैं बनाइएको विमानलाई कृयापुत्री मध्ये जेठो पाकोले डढेलोमा बोकी अगाडि लिङ्गो बोक्ने दोस्रो विमानमा राखिएको दियो, कलश, थाल सामदाखोङ समेत बोकेर ताक्तेनमा आवश्यक सामग्री सबै थुन्चेमा बोकाएर चेधाप निकाले झैं गरी एकहोरो शंख, डमरु, झ्याम्टा, घण्टी, बाजाहरु बजाउदै ताक्तेनतर्फ लाने ताक्तेनमा पुगेपछि वरिपरि तीन र चार फन्का परिक्रमा गराउने । मण्डपको पूर्वपट्टि विमानलाई भूइमा राखी विमानको पछाडि बोकी ल्याएको लिङ्गो गाड्ने । दियो कलश थाल यथावत विमानको साङ्भेमा साम्दाखोङ कपडा साङभे देखि भुइसम्म बिछ्याई साङ्भेमा थाल दियो कलश स्थापना गरी त्यस अघिको सेवा मण्डपमा बेरेको धागोले विमानको कलशमा तीन फेरा, चार फेरो बाँध्ने अनिमात्र चुडाउने अनि भूँइमा साम्दाखोङ कपडामाथि एउटा दियो र कलश स्थापना गर्ने ।

सामहिम विमानको पूर्व साइडमा साम्लोम्भे बिछ्याएर विभिन्न प्रकारको खाद्य पदार्थहरु बनाई टपरामा लगाएर सामलोम्भेमा पंक्तिबद्ध मिलाएर राख्न लगाउने । त्यहाँ चाहिने आवश्यक सामग्री पूरा भई सकेपछि माङसेवासावाले कुसाङसेमा हुँदै साम्सामा साम्जीक मुन्धुम वाचन सुरु गर्ने । त्यस ठाउँमा मृतकका आफ्ना आफन्त दाजु, भाइ, इष्टमित्र, मामा, मावली आदि सबैले पिण्ड दिनु पर्दछ । मुन्धुममा साम्भुहाङ फक्तुङधो वयाकाम्भुन केलोरे भन्ने शब्दमा पुग्छ त्यतिखेर भुइमा भएको दियोको सलेदो चिम्टाले च्यापी माथिल्लो साङभेको दियोमा लगाई मिलाइदिनु पर्छ । र, साम्सामा मुन्धुम पढी सकेपछि त्यो टाँगिएको धागोलाई खुकुरीले काटी दिएर तीन पाचा थिक हुम पाचा, निहुम पाचा, सुम हुम पाचा भनी खुकुरीले भुइमा चिरे झैं गर्नु पर्दछ ।

त्यसपछि तीनपटक माङसेवा गरेर सेवा मण्डब तर्फजाने, यज्ञमा चार दिशामा स्थापना गरिएको दीप जलाएर कुसाङ सेमा, चार वेदको पुजन गरिसकेपछि चरुमा संकल्प गराउने । मिधुङमिराक फोङ्मा गरेर चोक्फूङमाङ साम्जीक मुन्धुमले चरु लगाई सकेपछि अघि झैं विमान बोकी माङबाजाका साथ यज्ञ मण्डपमा आठ र नौ फन्का परिक्रमा गराउने । माङसेवासावाले पूर्वतर्फको लिङ्गोमा उभिएर पश्चिम दिशातर्फ फर्की एक फन्का पुग्दा एक डोरा चुढाउदै जानुपर्छ । आठ र नौं फन्का पुग्दा पुरै डोरी चुढाई सक्ने र जति चुढाउदै लग्यो त्यतिनै मुक्ति मन्त्र पनि जप्तै लानु पर्छ । त्यसपछि अन्तिममा विमानलाई पश्मिपट्टि फर्काएर अग्नी कुण्डमा लगाई जलाई दिनु पर्छ । मण्डपका लिङ्गोहरु सबै काटेर त्यही अग्नीमा जलाउने र पिण्ड चढाइएको खाने कुरा फलफूल सबै जलाई खाग बनाउने ।

मिक्वा साङमा (आँसु पुछ्ने)

मुक्ति मण्डपकै छेउमा सानो गोलो लिप्ने र एउटा दियो कलश थालमा चामल लगाई त्यसमाथि राख्ने दुईवटा तामाको भाँडामा आठ मूलको पानी लगाई सुन चाँदी पानी तिल जौं दुबो, ढुङ्गा आदि भेलाउनु पर्छ । तितेपातीको मुठा वा सिङ्वालीको चार मुठा बनाई महिला हो भने प्रत्येक मुठामा तीन–तीन ठाउँ चोयाले बाँध्ने, पुरुष हो भने चार–चार ठाउँ बाँधेर तयार गरी मिक्वासाङमा मुन्धुम वाचन गर्ने । पहिला मृतकको परिवार वंश, बन्धु सबैलाई पश्चिमतर्फ फर्काएर उभ्याई एउटा भाँडाको पानी र दुई मुठा सेउली लिई कुुटुम्बाले प्रत्येक व्यक्तिको शिरबाट उधो तीन र चार पटक अविसेक गर्दै जाने । सकिएपछि त्यो पानी र सेउली पश्चिम पट्टी नै फ्याँकी दिने । सबै जनालाई पूर्वतर्फ फर्काउने र अर्को भाँडाको पानीले बाँकी दुई मुठा सेउली फेरि हातमा लिई प्रत्येक व्यक्तिहरुको पाउदेखि शिरसम्म उभो छर्की दिने । यी कार्यहरु सकिएपछि त्यो पानीले मृतक भएको घरको ढोका लिस्नु बासुकी चुला अन्न राख्ने ढिकुटी, माङथान आदि सबै पानीले अबिसेक गरी, शान्ति गरी सकेपछि, नजिक भए घरभित्रका दाजुभाई सबैको घरमा पनि त्यसरी नै शान्ति गर्नुपर्छ । त्यसपछि शोकाकूल परिवारलाई नुहाउन लगाई नयाँ बस्त्र फेर्न लगाउने । छोरी चेली, भाना–भान्जाहरुलाई आफ्नो जेथा सक्दो पानी संकल्प गरी दान, दक्षिणसमेत गर्नु पर्दछ । त्यसपछि आफ्नो आदरणीय व्यक्तिहरुलाई आदर सम्मानका साथ सेवाढोग गराउने र सेवाढोग सकेपछि त्यो मुक्ति मण्डपमा दोहोरो बाजा शंख डमरु, झ्याम्टा, सितारा, घण्टी आदि बजाउदै त्यहीँ अघिको दियो कलश बोकी पाँच फन्का परिक्रमा गरी घरतर्फ फर्काएर भित्राएपछि अत्येष्टी कर्म सकिन्छ ।

अकाल मृत्यु

मानिस युवा वा बृद्ध जो भएपनि कुनै समयमा असोचनीय दुर्घटनाहरु हुने गर्दछन् । जस्तैः कोही रुखबाट लडि मृत्यू हुने, कोही भिरबाट त कोही सवारी साधन दुर्घटनाबाट, कोही हतियारबाट त कोही झुण्डिएर आत्माहत्या गर्ने गर्दछन् । कोही सुतकमा मृत्यु हुनेलाई सोघा, सुगुत भनिन्छ । नेपालीमा अकाल मृत्यू भनिन्छ । यस्ता प्रकारको मृत्यू भएमा मुक्ति कर्मगर्ने विधि अन्यभन्दा केही फरक हुन्छ । जस्तैः मुर्दालाई सगरमा लगेर तीन कुने धर्मकाच बनाउने पुरुष भएमा चारैचार थाक लगाउने, नौतालाको र महिला भएमा तीनै तीन आठतलाको बनाउने । त्यसमाथि मुर्दालाई राखी मृतकको छोराहरु वा क्रियापूत्रीहरुले तीन सुरबाट आगो लगाई जलाउनु पर्दछ ।

बेलुकीदेखि छाक बारी महिला हो भने तीन दिनको बेलुकी पुरुष हो भने चारदिनको बेलुकी प्रत्येक रातको बाह्रबजे र बिहानको प्रात समयमा पिण्ड दिनुपर्छ । आवश्यक सामग्री सबै तयार गरी पश्चिमतर्फ नै ताक्तेन बनाउने सो ताक्तेन बनाउँदा समेदा मात्र फरक अरु सबै यथावतनै बनाउनु पर्ने हुन्छ । समेदा राख्दा भने पहिला धर्मकाच बनाए झै तिनकुने महिला हो भने तीन तीन हुँदै आठतलाको बनाउने र पुरुष हो भने चार चारको नौ तलाको बनाउने र समय रातको ठीक बाह्र बज्दा मुक्ति कर्म गरिसक्नु पर्ने हुन्छ । त्यसपछि मिक्वा साङमा तथा मुइखेमा भने भोलिपल्ट बिहान गरेपनि हुन्छ । यदि गरिसकेपछि अकाल मृत्युको कर्म पूरा हुन्छ ।

सम्बन्धित खवर