‘माइलुङगेको जग्गा’ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘माइलुङगेको जग्गा’

  • सन्जित फलना

माइलुङगेको घर छेउको जग्गामा वार्ड अफिस राख्ने कुरो लगभग पक्कापक्की भयो । वार्ड समितिको सबै प्रतिनिधिहरुले सहमती जनाएपछि गाउँको समाजसेवी, बुद्धिजिवी र सरोकारवालाको राय नि सकरात्मक नै आयो । वार्ड अफिस राख्नको निम्ति त्यो जग्गा बाहेक पायक पर्ने उपयुक्त ठाउँ अन्त थिएन । तर यो कुरा माइलुङगेले भने थाहा पाएको थिएन । उनी प्राय खेती किसानिमै ब्यस्त रहनाले वार्ड भित्रको कुरो उसलाई त्यति थाहा हुन्थेन ।

याक्साबाट पराल लिएर आउँदा एकदिन पुर्णे दर्जिको मुखबाट उसले त्यो कुरा थाहा पाइहाल्यो । कुरा सुन्ने बित्तिकै उसको कान रिसले झननन तात्तियो । आफ्नै जग्गामा यसरी वार्ड अफिस राख्ने कुरो उठ्दा उसैलाइ थाहा नदिनुमा वार्ड समितिसंग गुनासो नि लाग्यो । उसले मनमनै हेरौँ न कसरी अर्काको जग्गामा राख्दो रैछ अफिस, अनपढ किसानी भनेर नपत्याको होला, खुकुरीले छिनाइदिन्छु सबैलाई भन्दै दागा धर्यो ।

हुन पनि त्यो जग्गा उसको पुख्र्यौली बिर्ता जस्तै थियो । कुरुम्बा गाउँमा सबैभन्दा बढी जग्गा हुनेमा माइलुङगे उर्फ बमप्रसाद लाओती पथ्र्यो । बुढापाकाको अनुसार उसको चेप्चुबाजेहरुको आँखाले नभ्याइन्जेल किपट थियो रे । किपटको वल्लो छेउबाट सिकार खेल्न निस्कियो भने पल्लो छेउमा पुग्न लगभग दुई दिन लाग्छ भन्थे देख्नेहरु । गाउँमा उनिहरुको रवाफै अर्कै थियो रे । किपट जग्गा जत्ती ठूलो थ्यो त्यतिनै ठूलो थियो रे उनीहरुका मन पनि ।

घाँस दाउरा माग्नेलाइ चार पाँचवटा रुखहरु त त्यसै दिन्थ्यो रे । पछि ०७ सालको प्रजातन्त्र ले देशमा धेरै परिवर्तन ल्यायो । अनि २१ सालमा भुमि सुधार एन आएपछि त उनीहरुको किपट थोरै मात्रै बाँकी राखेर सरकारले सरकारिकरण गर्यो । चाहेको भए त्यो जग्गा बेचेर शहरतिर सर्न सक्थे । तर कुरो सुबिधा भन्दा नि गाउँ घरको मायाको थियो । उसको बाउबाजेले कतै नबेची जोगाएर राखेको त्यो जग्गा आफु बूढो भएपछि आफ्नो छोरालाई हस्तान्तरण गर्ने पुख्र्यौली क्रमसंगै एकभाई भएको कारण सोझै उसको भागमा परेको थियो । खासमा चाहिं उसको एउटा दाजु पनि थियो । तर एघार बर्षको छँदै घाँस काट्न रुखमा चढ्दा रुखबाट खसेर मर्यो र त्यो जग्गा नि माइलुङगेको एकलौटी भयो । उसको बुबाको जम्मा तीनभाई छोरा बनाउने सपना थियो । त्यै भएर उसलाइ माइलुङगे भन्थ्यो । पछि पछि बमप्रसाद हराएर उसको नाम नै माइलुङगे बस्न गयो । सिलाङ कोइला खानीतिर काम गर्न जाँदा टिबि रोग भेटेर आको बुबा कान्छो छोरोको सपना पूरा नगरि खस्यो । जेनतेन घाँसदाउरा र मेलापात गर्दै उसको आमाले हुर्काएको थियो उसलाई । तर आमाले नि धेरै दिन थाम्नु भएन । ३÷४ बर्ष अघि आमालाइ नि बाथ रोगले लग्यो । दुबै बाउआमाको चिहान उसले त्यै जग्गामा राखेको थियो । यसकारण नि उसलाई प्यारो थियो वार्ड अफिस राख्न भनी हेरिएको त्यो जग्गा ।

बिहानै उठेर अनुहार धुन माइलुङगे लोहोटामा पानी बोकेर आँगनीमा गयो । अनुहार धुने बेला उसले मान्छेहरुको कल्याङमल्याङ सुन्यो । एसो टाउको उठाएर त्यतातिर हेर्यो । वार्ड अध्यक्ष र इन्जिनियर र केहि मानिसहरु उसको बाउआमाको चिहानछेउ उभिएर यताउता नापजाँच गर्दै बोलिरहेका थिए । छेउमा दूईवटा बाईकहरु बिसाइएको थियो । बिस्तारै त्यतातिर लाग्यो ।

‘ए माइलुङगे आइपुग्यौ ! ठ्याक्कै तिमिसंगै कुरा गर्नुपर्ने थ्यो !’ (अध्यक्षले हाँस्दै भन्यो)

‘ए केको लागि पो अध्यक्षज्यू ?’ (उसले जानिजानी नजानेजस्तै गरेर बोल्यो)

‘अरे थाहा छैन र ? यो तिम्रो जग्गामा हामिले वार्ड अफिस राख्ने निर्णय गरिसक्यौं नि ! एसो गाउँलेहरुले कुरा गर्दै थिएन ?’ (अध्यक्षले फेरि हाँस्दै भन्यो)

‘अनि मलाइ त खै केही सोध्नुभएको छैन ! जग्गा त मेरो हो !’ (उसलाई रिस उठेर पनि बिनम्र हुँदै बोल्यो)

‘आबो तिम्रै जग्गा भएपनी वार्ड अफिस राख्ने जस्तो कुरो हो । सबै गाउँलेको राय बुझि सकियो । तिमीलाई भनौं भन्ने त सोच्दै थियौं ! ठ्याक्कै भेटी हाल्यौं चिहान भको ठाउँहरु चैं जाला जस्तो छ ! नापजाँचमा त्यस्तै निस्कियो हैन इन्जिनियर साप ?’ (अध्यक्ष इन्जिनियरतिर सोझियो)

इन्जिनियरले नि सहमतिमा टाउको हल्लायो ।

‘कसरी बनाउँदो रैछौ अर्काको जग्गामा अफिस ? हेर्छु म पनि । अलिकती पनि ठाउँ छोयौ भने खबरदार !’ (अघिबाट थामेर राखेको रिस निकाल्दै माइलुङगे जङिगयो)

‘त्यस्तो मूर्ख कुरा नगर माइलुङगे ! तिमी एक्लैले नबनाउ भनेर हुन्छ ?’ (अध्यक्ष नि जङिगयो)

‘छोएर हेर न ! जाठा सबैलाइ छिनाइदिन्छु ! उनारको बाउको बिर्ताजस्तो गर्दो रहेछ । मान्छे चिनेको छैन होला ?’ (काम्दै यति भनेर माइलुङगे घरतिर लाग्यो)

माइलुङगे यसरी जङिगएको देखेर छक्क पर्दै अध्यक्ष र इन्जिनियरहरु उभिरहयो ।

साँझ माइलुङगेहरु खाना खाँदै थियो । उसको छोराको नाकबाट तुरर सिँगान चुहियो ।
‘जाँठा तेरो झोल फाल्दैनस, अहिले एकछिनमा पक्रेर ख्वाइदिन्छु ।’ (माइलुङगेले छोरालाई झपार्यो)

छोरा लुरुलुरु बाहिर निस्केर सिँगान फ्याकेर आयो ।

‘किना भातखाने बेला चै झपार्नु हौ छोरालाइ’ (उसकी स्वास्निले सम्झाउँदै भन्यो)

‘देखेनस तेरो बाउको झोल, तेरै ढगं छैन । नानिहरुलाई सफा नि राख्न सक्दैनस’ (उ जङिगदै बोल्यो)

‘कहाँको रिस कहाँ नपोख्नु है’ (उसकी स्वास्निले भात थप्दिन खोज्दै भनिन्)

‘भो भो’ (यति भनेर मुछेको भात नि खाइनसकी उ बाहिर निस्कियो)

उसकी स्वास्नी र नानिहरुले चुपचाप हेरि पठाए ।

दुई तीन दिनपछि

बिहानै माइलुङगे घाँसमा जान भनी खुकुरी उध्याउँदै थियो । उसकी स्वास्नी चुल्हामा बसेर मकै भुट्दै थिइन् । छोरा काठको गाडी ढुइँ ढुइँ गर्दै कुँदाउदै थियो । त्यतिकैमा उसले ढननन गर्दै बजिरहेको गह्रौँ आवाज सुन्यो । यताउता हेर्यो । पर सेसेहाङको घर हुँदै स्काभेटर आइरहेको थियो । अघिअघी बाइकमा अध्यक्ष र इन्जिनियरहरु आइरहेको थियो । स्काभेटरको पछिपछी भने अरु गाउँलेहरु नि आइरहेका थिए । उसले खुकुरी उध्याउँदै चुपचाप स्काभेटरलाई हेरि पठायो । बिस्तारै स्काभेटर उसको बाउआमाको चिहान भएको ठाउँमा पुग्यो र एकछिन बन्द भयो । ड्राइभर बाहिर निस्कियो । त्यसपछी अध्यक्षले यताउता गर्दै हातले नापी गरेको ठाउँ देखायो । सबैजना खैलाबैला गर्दै उसलाइ हेर्दै छलफल गरिरहेको थियो । माइलुङगेले चुपचाप त्यो सब हेरिरहेको थियो ।

त्यत्तिकैमा ड्राइभर भित्र पसेर स्काभेटर स्टार्ट गर्न थाल्यो ।

हतारहतार उध्याउँदै गरेको खुकुरी बोकेर माइलङगे त्यतातिर हिँड्यो । उसको स्वास्नी भुट्दाभुट्दैको मकै छाडेर बाहिर निस्किन् । छोरा नि कुँदाउदा कुदाउदैको गाडी बोकेर आमासगैं उभियो ।

‘खबरदार ! एकइन्च पनि खनेर हेर्लाउ’ (खुकुरी नचाउँदै माइलुङगे उफ्रिन थाल्यो)

‘काम सुरु हुने बेला के नचाहिँदो उपद्रो गर्छौ हौ माइलुङगे’ (अध्यक्षले भन्यो)

‘ए मैले पो उल्टै उपद्रो गरे । जग्गा चैं छोएर हेर न’ (उ जङिगयो)

‘हैन सबैजना राजी भको बेला तँलाइ चै के भाको हौ, तेरो जग्गा त्यसै त खन्दैनौ त, पैसा दिने हो पैसा’ (सुब्बा खड्गसिङ सेतो दाह्री मुसार्दै बोल्यो)

‘कुरा पैसाको हैन सुब्बासाप ! अस्तित्वको हो, यो मेरो पुर्खौली जग्गा हो, थाहा छ त, फेरि मलाइ सोधेर गरेको पनि हैन, सबैको सहमतिबिना किर्ते गर्दा हुन्छ र ?’ (उ जङिगन छाडेन)

‘हैन अध्यक्ष ज्युले तँलाइ जानकारी गराउनु भएन ?’ (सुब्बा खड्गसिङले अध्यक्षज्युतिर इङ्गित गर्दै भन्यो)

‘मैले त अस्ति नै सुझाव देको नि ! यो माइलुङगे भाई मूर्ख बनि घमण्ड मात्रै गर्छ’ (अध्यक्ष हतास हुँदै बोल्यो)

‘ए मैले घमण्ड पो गरे’ (उसले झनझन खुकुरी नचाउन थाल्यो)

त्यतिन्जेलमा उसको स्वास्नी र छोरा उसको छेउमा आइसकेका थिए ।

स्काभेटरको ड्राइभर र इन्जिनियरहरु छक्क पर्दै एकअर्कालाइ हेरिरहेको थिए ।

‘लु यसरी त हुँदैन, ढिलो हुन्छ, काम सुरु गर्नु पर्छ’ (अध्यक्षले ड्राइभरलाई अह्राउँदै भन्यो)

ड्राइभरले स्काभेटर अघि बढाउन थाल्यो, माइलुङगे हतार हतार अगाडि आएर भुइँमा खुकुरी गाडेर स्काभेटर अगाडी उभियो, स्काभेटर टक्क रोकियो ।

‘हैन किन मुर्ख्याइँ देखाउँछौ हौ माइलुङगे भाई, मर्नु मन छ, त्यहाँ छोड’ (अध्यक्षले उसलाइ सम्झायो)

तर उ अलिकती नि हटेन ।

‘हैन किन रमिता देखाउँछौ हौ भाइ’ (यति भन्दै अध्यक्ष उसको नजिक आएर उसलाइ हटाउन खोज्यो)

तर उसले उल्टै अध्यक्षलाई ठेलेर भित्तामा पुर्यायो ।

‘अरे अध्यक्षले भनेको सुन्दैनौ, दादागिरी देखाउँछौ’ (पाखुरा सुर्काउँदै अध्यक्षले उसलाइ ठेलेर गह्रामुनी झार्यो)

माइलुङगेको छोरा रुन थाल्यो, उसकी स्वास्नी उसलाइ हेर्न हस्याङफायाङ गर्दै डिलछेउमै उभिइन, अध्यक्षले ड्राइभरलाई खन्न सुरु गर्न लायो, ड्राइभरले खन्न सुरु गर्यो, चिहान अगाडीको माटो एकचपरी जति खनी सिध्यायो, त्यत्तिकैमा माइलुङगे खुकुरी बोकेर हतारहतार डिलमाथी उक्लेर अध्यक्षमाथी जाइलाग्यो । हेर्दाहेर्दै उसले अध्यक्षको टाउकोमा खुकुरी बजार्यो, ऐय्या भन्दै अध्यक्ष भुँइमा ढल्यो । रगत एकैछिनमा अध्यक्षको टाउकोबाट खसेर भुइँमा आहाल भयो,स्काभेटर फनक्क फर्काएर ड्राइभर आफ्नो घरतिर लाग्यो, सुब्बा खड्गसिङ र एकदूईजनाले घाइते अध्यक्षलाई बोकेर बाइकमा राख्यो । पुर्णे दर्जिले हतारहतार माइलुङगेको हातबाट खुकुरी थुत्दै उसलाई पक्रन थाल्यो ।

‘कन च्याठा अध्यक्षेन् सेरुङ’ (माइलुङगे अझै बल गर्दै अध्यक्षको तिर लम्किदै थियो, उसलाई थप दूईतीनजना गाउँलेहरुले समात्यो र झपार्दै खुकुरी प्रहार गरेकोमा एकदुइ थप्पड हाने)

इन्जिनियर र सुब्बा खड्गसिङले बाइकमा राखेर अध्यक्षलाई अस्पतालतिर लग्यो, गाउँलेहरु सब आत्तिदैं एकअर्काको मुख हेराहेर गर्दै उभिरहे ।

एकैछिनमा नजिकैको प्रहरी चौकीबाट पुलिसहरु आएर माइलुङगेलाई चौकी लग्यो । उसकी स्वास्नी र छोरापनि रुँदै पछ्याउँदै चौकितिर लाग्यो ।

पछि एकसाता जति चौकी बसेर एकलाख जति जरिवाना तिरेर अध्यक्षको सम्पुर्ण खर्चपानी बेहोरी माइलुङगे चौकीबाट निस्कियो भन्ने खबर सुनियो । त्यो घटनापछि वार्ड अफिस अर्कैतिर राख्ने कुरो समितिबाट निर्णय भएछ ।

माङसेबुङ–५, इलाम

सम्बन्धित खवर