भाषा, साहित्य तथा लिपिको विकास र विवादको सन्दर्भ - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भाषा, साहित्य तथा लिपिको विकास र विवादको सन्दर्भ

  • नेम्बाङ नन्दकुमार ‘गाउँलेजी’

प्रारम्भ

अहिले हामी हरेक विषयमा विवाद गरिरहेका छौं चाहे त्यो उचित या अनुचितनै किन नहोस् । सामान्यतया विवाद हुनु नराम्रो होइन तर नियत र संसय राखेर विवाद गरियो भने निष्कर्षमा पुग्न सकिँदैन । पवित्र भावना र सोचाइले विवाद गरियो भने बहस र छलफल मार्फत समस्याको समाधान गर्न सकिन्छ ।

हुन त विवाद र बहसहरु मानवीय विकास र चेतनाका आधारमा हुने हो । धर्म, संस्कृति र इतिहासको अध्ययन नगरिकन अन्य भाषा, साहित्य र लिपि बारेमा अध्ययन गर्दै जाने क्रममा अनेकन अन्योल्ताहरु आदिवासी समुदायमा विकास हुँदै गएको देखिन्छ ।

विशेषतः वि.स.२०४६ पछि नेपालमा आएको राजनीतिक परिवर्तनपछि खुल्ला भएको समाजले आफ्नोपनको खोजी गर्ने क्रममा अनेकन विवादहरुको विकास शुरु भएको हो । यसअघि पञ्चायतले एक धर्म, एक भाषाको नीति लिएको कारण भाषा र लिपिको प्रयोगबारे विवाद थिएनन् । जब समाज खुल्ला भयो तब विवादको नयाँ नयाँ अवतार लिँदै गएको छ । सबैभन्दा पुरानो विवाद लिपिको विषयमा थियो । त्यसपछि अहिले धर्म, संस्कार, भाषा, साहित्य र संस्कृतिमा समेत प्रवेश गरेको छ ।

नेपालमा भाषा, लिपिको प्रयोग र अभ्यास

वि. सं २०४६ को दशकमा नेपाली भाषा, लिपि र साहित्य बाहेकका अन्य सबै भाषा साहित्य प्रतिबन्धित थियो । एक भाषा, एक धर्मको नीतिलाई पञ्चायत सरकारले अवलम्बन गरेको कारण आदिवासीजन्य भाषाभाषिहरु माथि निर्मम प्रहार भयो ।

सरकारी कार्यालय र कार्यक्रममा जाँदा समेत बोलचाल मै अघोषित प्रतिबन्ध गरियो । यस कारणले नेपालका आदिवासीहरुले खुलेर आफ्नो भाषा, लिपि र साहित्यको प्रयोग र प्रवद्र्धन गर्न सकेनन् । यति हुँदाहुँदै पनि नेपालका मैथिली (सन १३२४ देखि), भोजपुरी ( वि सं २००९ देखि), थारु वि सं १६४४ देखि) र तामाङ (सन १८४८ मा एच बि हजसन ले) साहित्यको लिपिवद्ध प्रचार–प्रसार भएको देखिन्छ ।

पञ्चायत सरकारको दमन हुँदाहुँदै पनि कछुवा गतिमा भए पनि राजनीतिक पहुँचका आधारमा (नेपाली साहित्य बाहेकका) भाषा तथा साहित्यको विकास भएको देखिन्छ । वक्ताको संख्या अनुसार राजनीतिक प्रभाव पर्ने भएकोले पनि ठूला संख्यामा वक्ता रहेका भाषा तथा साहित्यहरुलाई राजनैतिक संरक्षण दिइएको प्रष्ट रुपमा देख्न सकिन्छ । जस्तैः मैथिली वक्ता २७ लाख ९७ हजार ५ सय ८२, भोजपुरी, १७ लाख १२ हजार ५ सय ३६, थारु १३ लाख ३१ हजार ५ सय ४६ र तामाङ ११ लाख ७६ हजार १ सय ४५ वक्ता रहेको उल्लेख छ ।

माथि उल्लेखित वक्ता भएको भाषा तथा साहित्यलाई पहिलो समूहमा राखिएको छ भने, दोस्रो समूहमा मगर, अवधि, वान्तावा राई, गुरुङ, लिम्बू र शेर्पा भाषा तथा साहित्यलाई राखिएको छ । भाषा तथा साहित्यको अध्ययनका लागि एच बि हजसनले तामाङ, मगर, अवधी, गुरुङ र लिम्बू (जर्ज ग्रियर्सनले समेत सन १९०८ मा) शेर्पा (जर्ज ग्रियर्सन ले समेत १९०८ मा) महत्वपूर्ण योगदान दिएको पाइन्छ । यसरी तेस्रो समूहमा रहेका चाम्लिङ, सुनुवार, माझी लगायतका भाषा साहित्यहरु पर्दछ ।

माथिको तथ्यांकअनुसार तामाङ, मगर, अवधी, गुरुङ र लिम्बूहरु पञ्चायती शासनको त्रासका कारण भाषा तथा साहित्यको अध्ययन र प्रवद्र्धन गर्न एच बि हजसन र जर्ज ग्रियर्सनको बैशाखी कुर्नु परेको देखिन्छ । त्यहीँ पीडा चांैथो समूहका मातृभाषिका लेप्चा, पहरी, वाहिङ, हायु, लोहोरुङ लगायतको पनि भएको पाइन्छ ।

नेपालमा भाषा लिपि र साहित्य माथि दमन भइरहेको बेला छिमेकी मुलुक सिक्किममा भने सन् १९६८ (वि सं २०२५) देखिनै औपचारिक रुपमा सरकारी शिक्षण शुरु भएको थियो । यसको प्रभाव पूर्वी नेपालको लिम्बुवानमा प्रत्यक्ष अप्रत्यक्ष परेको थियो । आफ्नो भाषा तथा लिपि प्रति चासो लिने वर्गहरुले लुकिछिपी पुस्तकहरु ल्याएर अध्ययन अध्यापन गरेका थिए ।

नेपालमा किरात लिपिको प्रयोग

नेपालमा किरात लिपिको प्रयोग कहिलेदेखि शुरु भयो भन्ने कुराको यकिन तिथि मिति उल्लेख भएको छैन् । तत्कालीन श्री ५ सरकार, शिक्षा मन्त्रालय, पुरातत्व विभागबाट प्रकाशित लिपि विकास तालिका र उपप्राध्यापक सोमप्रसाद खतिवडाद्वारा लिखित नेपालका लिपी र मुद्राहरुको परिचय नामक पुस्तकमा पनि सामान्य अभिलेख मात्रै प्रस्तुत गरिएको छ ।

तथापि, पुरातात्विक महत्वका साथ अध्ययन अनुसन्धान गरिएकोले नेपालमा किरात लिपिको प्रयोग शताब्दी औं अघिदेखि थियो भन्ने देखिन्छ । तत्कालीन किरात राज्य र पछिल्लो लिम्बुवान राज्यको नेपाल एकीकरणसँगै भाषा, लिपि माथि निर्मम प्रहार भएकोले लिपि प्रयोग अवरुद्ध भएको अनुमान लगाउन कठिन छैन् । नेपालमा लिपिको प्रयोग नभए पनि भाषाहरु जीवित रह्यो ।

लिपि उत्पत्तिबारे शिरिजङगाहाङको कथा

इतिहासविद् इमानसिं चेम्जोङले मुन्धुमको चर्चा गर्दै शिक्षाकी देवी निसाममाङ्ले उनीसँगै शिरिजङगाहाङलाई फक्ताङलुङ (कुम्भकर्ण) लगेर ठूलो ओढारमा लगिन् । उनले पनि निसाममाङ्लाई अन्तिम कोठासम्म पछ्याउ‘दै गए । जहाँ केही लेखिएको पातलो ढुङ्गाको टुक्रा दिइन ।

निसाममाङ्ले अक्षर पढ्ने र लेख्ने तरिका सिकाइन र आफ्नो देशका प्रजाहरुलाई सिकाउन निर्देशन दिए । शिरिजङगाहाङले ३ महिना लामो अध्ययन् सकेपछि आफ्नो दरबार फर्के । त्यसपछि आफ्नो मन्त्रीमण्डल र भलाद्मीहरुलाई भेला गराएर किरात लिपि, संस्कृति र विज्ञान उनले कसरी प्राप्त गरे ? निसाममाङ को हुन ? भन्ने सन्दर्भमा चर्चा गरे ।

निसाममाङको साथमा ३ महिना विताएर शिक्षा दीक्षा लिएका शिरिजङगाले किरात लिपि र भाषामा किरात साम्लो साप्ला लगायतका विभिन्न ग्रन्थ तथा पुस्तकहरु समेत लेखेको कुरा उल्लेख छ । माथि उल्लेख गरिएको कथा अनुसार किरात लिपिलाई पहिलो पटक प्रयोगमा ल्याउने व्यक्तिनै शिरिजङ्गा हुन भन्ने प्रष्ट भएको छ । र, उनकै पालादेखि किरात लिपिको व्यापक प्रयोग भएको देखिन्छ ।

अर्काे कुरा निसाममाङले फक्ताङलुङ (कुम्भकर्ण) लगेको भन्ने वाक्यांशले लिपिको उत्पत्ति र विकास नेपालको पूर्वी लिम्बुवान क्षेत्रबाटै भएको पनि बुझ्न सकिन्छ । तथापि, कुन समयमा शिरिजङगाले लिपिको प्रयोग र विकास गरेको हो भन्ने विषयमा अहिलेसम्म इतिहास मौन रहेको पाइन्छ ।

फाल्गुनन्दको देन

तत्कालीन श्री ५ सरकार शिक्षा मन्त्रालय पुरातत्व विभागमा सिमित रहेको किरात लिपिलाई महागुरु फाल्गुनन्द लिङ्देनले मुन्धुमीकरण गरेर व्यापकता दिनुभयो । राष्ट्रिय विभूति समेत बन्न सफल फाल्गुनन्दले किरात लिपिलाई कुन मितिदेखि लिपिवद्ध गरेका हुन भन्ने यकिन छैन् ।

यद्यपि वि.सं १९५० ताका ८ वर्षको उमेरमा इलामको देउमाई नपा ९ साविक जीतपुर ८ खत्रक्पामा तपस्यारत अवस्थामा माई नदीमा ठूलाठूला सुनौलो अक्षरहरु युमामाङ (देवी) ले देखाएको भनी हेमबहादुर गुरुङ र कुलानन्द दाहालले तपस्वी फाल्गुनन्दको जीवनीमा उल्लेख गरेका छन् ।

महागुरु फाल्गुनन्दले ८ बर्षको कलिलो उमेरमा प्राप्त गरेको सुनौलो लिपि नै किरात लिपि थियो । गरीब र सामान्य किसान परिवारमा जन्मेका वहाँले व्यवहारिक कठिनाइका कारण निरन्तरता दिन सक्नु भएन । व्यापार, लाहुरे जीवनयापन गरेपछि बल्ल आफ्नो जन्मभूमि फर्केपछि किरात लिपिको प्रयोगलाई व्यापकता दिन मुन्धुमीकरण गर्नुभयो ।

किरात साम्जिक मुन्धुम र माङसिवाखाहुनलाई समेत लिपिवद्ध गराएर किरात लिपिलाई संस्थागत गर्नुभयो । मुन्धुमलाई लिपिवद्ध भएको मिति यकिन नभए पनि महागुरु फाल्गुनन्दले सैनिक जीवनबाट फिर्ता भएपछि मात्रै किरात लिपिलाई मुन्धुमीकरण गरेका हुन भन्नेमा दुइमत छैन् ।

हेमबहादुर गुरुङ र कुलानन्द दाहालद्वारा लिखित तपस्वी फाल्गुनन्दको जीवनीका अनुसार महागुरु फाल्गुनन्द वि.सं १९७८ मा जन्मभूमि चुक्चिनाम्बा आगमन भएको छ । त्यसपछि मात्रै वहाँले ठूलाठूला अभियानहरु चलाएको पाइन्छ । यसैको दशकमा उनले तत्कालीन सुब्बा, तालुकदार, कारबारी, भद्रभलादमी भेला गराई सत्य धर्म मुचुल्का खडा गर्नुभएको थियो । यस मुचुल्कामा पनि किरात भाषा लिपिलाई निसामहिम स्थापना गरेर पढ्ने र पढाउने भनेर नियमन गराएका छन् ।

किरात भाषा, लिपि र धर्मको प्रचारप्रसार गरेकै कारण राणाशासन कालमा महागुरु फाल्गुनन्द लिङ्देनको हातमा हत्कडी लागेको थियो । वि.सं २००५ मा वहाँको देहान्तपछि फेरि अन्यौल सिर्जना भएपनि महागुुरु फाल्गुनन्दद्वारा लिपिवद्ध गरिएको मुन्धुमहरु सुरक्षित रह्यो ।

लिपि विकासमा धर्मगुरु आत्मानन्दको योगदान

किरात भाषा तथा लिपिको प्रयोग र विकासमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले ठूलो योगदान गर्नुभएको छ । महागुरु फाल्गुनन्दको उपदेश अनुसार मुन्धुमको प्रयोग र प्रचार–प्रसार गर्न क्रममा वि.सं २०३६ सालमा पञ्चायत सरकारले वहाँको टाउकाको मोल ३ लाख तोकेको थियो । तैपनि सरकारको धरपकडलाई छल्दै दृढतापूर्वक आफ्नो अभियानमा लागिरहनु भयो ।

वि.सं २०२७ (भदौ १ देखि माघ १ सम्म) मा ६ महिना कठोर तपस्या पश्चात अनौपचारिक रुपमा रहेको धर्म, भाषा, लिपि तथा साहित्यको प्रचार–प्रसारलाई औपचारिकता दिँदै तिव्रता दिनुभयो । महागुरु फाल्गुनन्दले लिपिबद्ध गरेको किरात साम्जिक मुन्धुम, माङसिवाखाहुनहरुलाई संस्थागत गर्न वि.सं २०३६ मा किरात धर्म तथा साहित्य उत्थान संघको दर्ता गर्नुभयो । त्यसपछि संस्थागत रुपमा विभिन्न पुस्तक पुस्तिका, पत्रपत्रिका प्रकाशित गरेर किरात लिपि तथा साहित्यको विकास र प्रवद्र्धन गर्नुभएको छ । किरात भाषा, लिपि र साहित्यको विकास सन्दर्भमा निम्न स्मरणीय रहेका छन् ।

प्रेस स्थापना

किरात लिपि, भाषा तथा साहित्यलाई मुर्तरुप दिनका लागि वि सं २०४७ फागुन ८ गते किरात प्रिन्टिङ प्रेसको स्थापना गर्नुभएको थियो । यहीँ प्रेसलाई विश्वको पहिलो किरात लिपि छाप्ने प्रेसको रुपमा लिइन्छ ।

निसामहिमको स्थापना

महागुरु फाल्गुनन्दद्वारा लिपिबद्ध गरिएको किरात साम्जिक मुन्धुम र भाषा, लिपि तथा साहित्यलाई संस्थागत रुपमा विकास गर्ने उद्देश्यले किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाको मातहतमा (२०५० मा स्थापित) रहने गरी किरात साम्जिक मुन्धुम निसामहिमको स्थापना गर्नुभयो । वि सं २०४० मा निजी गुरुआश्रम लारुम्बाबाट अध्ययन अध्यापन शुरुवात भएको निसामहिमलाई वि सं २०५० कात्तिक २५ गते औपचारिक रुपमा उद्घाटन गर्दै संस्थागत गरिएको हो ।

यस निसामहिममा मुन्धुम, भाषा साहित्य तथा ज्योतिष शिक्षा दिने गरिएको छ । वार्षिक ७ सय बढी माङसेवासाबा उत्पादन हुने गर्दछ ।

साम्जिक मुन्धुम प्रकाशन

किरात धर्मदर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनले लिपिवद्ध गरेको किरात साम्जिक मुन्धुमलाई विश्व व्यापीकरण गर्दै संस्थागत गर्नका लागि वि सं २०५३ मा किरात साम्जिक मुन्धुमको प्रकाशन गराउनुभयो । पहिलोपटक आधुनिक प्रेसमा छापिएको यो मुन्धुम प्रकाशन गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाले अगुवाइ गरेको थियो । दश हजार प्रति प्रकाशित उक्त पुस्तक ऐतिहासिक मानिएको छ ।

लिपिको नाममा विवाद

किरात लिपिको उत्पत्ति र प्रयोग बारेमा माथि उल्लेख भएको सन्दर्भ र स्रोतहरुलाई हेर्दा यसको विकास नेपालबाटै भएको देखिन्छ । किरात लिपिको प्रयोग र विकास कहिलेदेखि भएको हो भन्ने तथ्यांकहरु पाइएको छैनन् ।

तथापि शिरिजङगाहाङले ८÷९ औं शंताब्दीतिर किरात लिपिको प्रयोग र प्रचार–प्रसार गरेको भन्ने दस्तावेजहरुमा उल्लेख भएको पाइन्छ । सत्यतथ्य जे भए पनि किरात लिपि प्राचिन लिपि हो भन्नेमा दुइमत छैन् । पहिलो शिरिजङगाहाङले ठूलो त्याग र तपस्यापछि प्राप्त गरेको किरात लिपिको प्रचार–प्रसार दोस्रो शिरिजङगाले गरेको पाइन्छ । नेपालमा किरात लिपि प्रयोगमा तत्कालीन शासकहरुले प्रतिबन्ध लगाएपछि उनले सिक्किम भाग्नुपरेको थियो ।

किरात लिपि प्रचार–प्रसार गरेकै कारण उनलाई मृत्युदण्ड दिने अवस्थामा पुगेपछि शिरिजङगा सिक्किममा शरण लिएर बसेका थिए । सिक्किममा शरण लिएर बसेका बेला त्यहाँका शासकले पनि किरात लिपिको प्रयोगमा प्रतिबन्ध लगाए र शिरिजङगाको निर्ममपूर्वक हत्या गरियो ।

माथि उल्लेखित सन्दर्भहरुलाई हेर्दा किरात लिपिको प्रयोग र प्रचार–प्रसारबारे शताब्दी अघिदेखि विवाद भइरहेको देखिन्छ । तर, उति बेलाको र अहिलेको विवादमा केही तात्विक भिन्नता देखिन्छ । किरात लिपिको विकास क्रममा प्रयोग सम्बन्धि विवाद थियो भने अहिले नाममा विवाद गरिरहेका छौं । कतिपय लेखकहरुले शिरिजङगा लिपी उल्लेख गरेका छन् भने कतिपयले लिम्बू लिपि समेत उल्लेख गरेको पाइन्छ । र, किरात लिपि भनेर केही संस्था तथा लेखकहरु पनि लागिपरेका छन् ।

विवादको शुरुवात

नेपालमा किरात लिपि भनेर चिनिएको लिपिलाई सिक्किमका लिम्बूहरुले लिम्बू लिपि भनेर प्रचार–प्रसार गर्न थाले । सिक्किम सरकारले सन् १९६८ देखि सरकारी दरबन्दी सिर्जना गरेर लिम्बू लिपिकै नाममा शिक्षा दीक्षा दिन प्रारम्भ गरेपछि लिपिको नाममा विवाद बढ्दै गयो ।

व्यक्तिगत रुपमा रहेको लिपि विवाद सिक्किम सरकारले लिम्बू लिपि भनेर वैधानिकता दिएसँगै लिपि विवादले संस्थागत रुप लिएको देखिन्छ । सिक्किमबाट शुरुवात भएको लिपि विवाद अहिले आएर नेपालमा समेत पेचिलो बन्दै गएको छ ।

लिपि सम्बन्धि प्राचीन इतिहास र महागुरु फाल्गुनन्द लिङ्देनले लिपिबद्ध गरेको मुन्धुमलाई आधार मानेर किरात धर्मले किरात लिपि भनेर प्रचार–प्रसार गरिरहेको छ । त्यस्तै किरात याक्थुङबाहरुको संस्था किरात याक्थुङ चुम्लुङले किरात शिरिजङगा लिपि भनेर प्रचार गरिरहेको छ । त्यस्तै, केही लिम्बू लेखकले भने लिम्बू लिपिनै भन्न थालेका छन् ।

लिपि सम्बन्धि विवादको विषयलाई पर्गेलेर हेर्दा फरकफरक विवादहरु देखिएका छन् । शुरुवातमा नेपाली शासकले लिपि प्रयोगमा प्रतिबन्ध लगाएर विवादको बीउ रोपेको देखिन्छ । उता सिक्किमले शुरुमा प्रतिबन्ध गरे पनि पछिल्लो अवस्थामा दरबन्दी सिर्जना गर्ने क्रममा स्थायी विवादको बीउ रोपेर छाडेको देखिन्छ ।

निष्कर्ष

कुनै पनि विषयमा विवाद र बहस हुनु नराम्रो कुरा होइन तर हरेक तर्कहरु तर्कसंगत र बहस योग्य हुनुपर्छ । अहिले हाम्रो सामु भइरहेको कतिपय बहस र तर्कहरु सतही र हचुवातालमा भइरहेको देखिन्छ । तथ्य र आधारहीन बहसले समाजमा विकृति र वैमनस्यता मात्रै उत्पन्न गराउँछ । तसर्थ, हरेक बहस पैरवीहरु तथ्यको आधारमा हुनुपर्छ । पछिल्लो हाम्रा बहसले हाम्रो विद्वतालाई उछालिदिएको छ ।

हाम्रो प्राचीन इतिहासलाई हेर्दा र लिपिको विकासक्रमलाई अध्ययन गर्दा किरात लिपि नै भन्न उपयुक्त देखिन्छ । किन कि लिपि शिरिजङगाले पनि निर्माण गरेको होइनन् र (केही शंताब्दी यता मात्रै लिम्बू भएको) लिम्बू या राईले बनाएको लिपि होइनन् । शिरिजङगाहाङले पनि प्रचार–प्रसार र संरक्षण मात्रै गरेका हुन् । दोस्रो शिरिजङगा र महागुरु फाल्गुनन्दले पनि संरक्षण र प्रचारप्रसार मात्रै गरेको हो । नेपाल र सिक्किमका लिम्बूले पनि प्रयोग मात्रै गरेको हो ।

लिपिको संरक्षण र प्रचार–प्रसारको स्वामित्व लिम्बूले लिन सक्छ तर संरक्षण गर्दैमा लिम्बू लिपि हुँदैन । यसले पुरातात्विक र प्राचिनता वोध गर्दैन । लिपि विकास सम्बन्धि विभिन्न दस्तावेज र अध्ययन् सामग्रीहरुका अनुसार लिम्बू, राई, याक्खा, सुनुवार आदिको साझा लिपिनै किरात लिपि हो । यसको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार मात्रै लिम्बूले गरेको हो ।

सन्दर्भ सामग्री र व्यक्तिहरु

१, किरात इतिहास र संस्कृति, इमानसिं चेम्जोङ
२, नेपालका लिपि र मुद्राहरुको परिचय, सोमप्रसाद खतिवडा ।
३, इमेत्नासुङ, याक्थुङ साप्सक्किबा सक्पेक्वा ३३, सम्पादक हर्क खाम्दाक सिक्किम ।
४, महागुरु फाल्गुनन्द, प्रकाशक संघीय मामिला संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, राष्ट्रिय प्रतिभा अनुदान कोष र महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान दमक झापा ।
५, फक्ताङलुङ, प्रकाशक लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पस इलाम ।
६, तपस्वी फाल्गुनन्दको जीवनी, लेखकहरु हेमबहादुर गुरुङ र कुलानन्द दाहाल ।
७, किरात लिम्बूवान र लिम्बूहरु २०६५, लेखक सेर्मा साम्जिरी सेमी ।
८, त्येअङसी शिरिजङगाको जीवनी एवंम इतिहासको केही झलक, लेखक सेन्छेनहाङ हरि हुक्पा चङबाङ ।
९, पूर्वी नेपालमा लिम्बू जातिको किपट र सामाजिक फेरबदल, लेखक केओनेल कपलान ।
१०, व्यक्तिहरु
क. एच बी पन्धाक, (हेड लिम्बू शिक्षक) सोम्बारे सिक्किम ।
ख. डा चन्द्रकुमार सेर्मा (ज्योतिषविद्) काठमाडौ नेपाल ।

लेखक  : किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका पूर्व सचिव हुन ।

सम्बन्धित खवर