कलाले समाज बदल्न सक्छ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कलाले समाज बदल्न सक्छ


भनिन्छ कलाको माध्यमबाट सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्न सकिन्छ । समाजमा रहेका कुरीति र कुसंस्कारहरुलाई बदल्न कलाको अहम भूमिका हुन्छ । तिनै कला क्षेत्रमा सम्भावनाले भरिएकी प्रतिभा हुन् मोडल तथा नायिका याम्नीङवा योङहाङ भावना । उनी कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेकी उम्दा प्रतिभा हुन् ।

दिलिप फुरुम्बोको शव्द तथा संगीत रहेको ‘याम्मो सुम लःरे’ भिडियो संग्रहमा संग्रहित पालाम साम्लोको भिडियोमा अभिनय गर्दै, मोडलिङमा पैला चालेकी याम्नीङवा दशक यता आफनै मेहेनत र परिश्रमले कलाकारिता क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेकी छन् । आफ्नै इच्छा शक्तिलाईनै प्रेरणाको स्रोत मान्ने उनी लिम्बू कथानक चलचित्र ‘केःसाङला’ बाट नायिकाको रुपमा उनले डेब्यू गरेकी हुन् ।

कला समाज रुपान्तरणको आधार हो भन्ने याम्नीङवा कलाले समाज बदल्न सक्छ भन्ने तर्क राख्छिन् । लिम्बू भाषा र नेपाली खस भाषा गरी दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी उनी जो कोहीसँग खुलेर पेश हुने, मिठो बोली र सबैजनासँग हाँसी मजाक गर्न सकेकै कारण सबैकी प्रिय बनेकी छन् । मोडल तथा नायिकाको अलवा मेकप आर्टिष्ट समेत रहेकी याम्नीङवा, कला क्षेत्रमा पारिवारिक सपोर्ट रहेको बताउँछिन् ।

नेपाली कथानक चलचित्र ‘लाम्देङमा’ को मुख्य नायिकाको भूमिका अभिनय गर्दै चलचित्रमा समेत दर्विलो उपस्थिति जनाएकी याम्नीङवा प्रेममा परेको स्वीकारेकी छन् । उनी प्रेममा परेकै कारण जिन्दगीलाई नजिकबाट चिन्ने अवसर पाएको बताउँछिन् । जीवनलाई सार्थक बनाउन अनेकौं दुःख कष्टहरुसँग पौंठेजोडी खेल्दै यतिसम्म आइपुगेको बताउने याम्नीङवाले भविष्यमा निर्देशक बन्ने सपना बुनेकी छन् ।

इलामको माङसेबुङ गाउँपालिका २, डाँडागाउँमा जन्मेकी उनीले फागुन २९ गतेलाई जन्मदिन मनाउँछिन् । हाल दमकमा बस्दै आइरहेकी उनी किरात याक्थुङ चुम्लुङ दमकमा समेत आबद्ध रहेकी छन् । आदिम किरातकालीन सभ्यता र अहिलेको अत्याधुनिक सभ्यतासम्म आइपुग्दाको किरात ऐतिहासिक भेषभूषा प्रदर्शनीहरुमा समेत प्रस्तुति दिइसकेकी याम्नीङवाले एकताका गायिका बन्ने सपना बुनेकी थिईन । उनले सेसेमी से नाल्बोको शव्दमा ‘आङगाग लथीक सेक्मुरी फुङ आ’ बोलको गीत समेत गाएकी छन् । सो गीतबाट निकै प्रशंसा बटुलेकी थिइन् ।

माङसेबुङ मासिकको फागुन अंकमा प्रकाशित फिचर

सम्बन्धित खवर