१ नं प्रदेशको बजेट अधिवेशन अन्त्य - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१ नं प्रदेशको बजेट अधिवेशन अन्त्य

विराटनगर । १ नं प्रदेशको चालु छैटौँ बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ ।

शुक्रबार १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सदनमा प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाए संगै चालु छैटौँ बजेट अधिवेशन अन्त्य भएको हो ।

सभामुख भण्डारीले चालु अधिवेशन गत जेठ १४ गतेबाट सुरु भएर ३७औं बैठकसम्मा १० वटा विधेयक सर्वसम्मतिले पारित भएको जानकारी दिँदै बैठक अवधिमा ६२ घण्टा ३० मिनेट समय खर्च भएको र पटक–पटक गरी १ सय ५६ सदस्यले सभामा विशेष समय र शून्य समयमा बोलेको बताए ।

मुख्यमन्त्री शेरधन राईले चालु अधिवेशनमा सदस्यहरुले उठाएको प्रश्न एवं जिज्ञासामा सरकार गम्भीर रहेको बताए । उनले सदनमा प्रवेश भएका सबै विषयप्रति सरकार सहमति र सहकार्यको मार्ग पहिल्याउँदै अघि बढेको धारणा राख्दै सरकारले कसैलाई पनि पेल्ने र होच्याउने काम नगरेको प्रष्ट पारे ।

मुख्यमन्त्री राईले राजनीतिक दलहरुको सकारात्मक भूमिकाबाट नै प्रदेशसभा र सरकार सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको धारणा राखे । उनले कोभिड–१९ को अवस्थामा पनि सदन अत्यन्त सहज र सुखद वातावरणमा सञ्चालन भएकोले नै सदन र सरकार जनताको समस्यामा केन्द्रित हुन सकेको बताए ।

मुख्यमन्त्री राईले अहिले मुलुकमा भारी वर्षा भइरहेको कारण बाढी र पहिरोबाट पीडित परिवारलाई राहत वितरण भइरहेको जानकारी दिँदै कोरोना भाइरसलाई समुदायमा प्रवेश गर्न नदिन सीमा क्षेत्र र उपचार केन्द्र व्यवस्थित बनाइएको जानकारी दिए ।

उनले प्रदेशको नामकरण र यसका संरचनाहरु निर्माण गर्न राजनीतिक दलका साझा प्रतिबद्धताबाट नै अघि बढ्ने विश्वास व्यक्त गरे ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले सरकार कोरोना, बाढी पहिरो र किसानका लागि मलखादप्रति गम्भीर बन्नुपर्ने बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले प्रदेशको नाम लिम्बूवान किराँत प्रदेश राख्नुपर्ने माग गरे ।

यसअधि प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले ‘प्रदेश नम्बर १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

सम्बन्धित खवर