टाउको रहे न पुच्छर र कण्डोको चिन्ता गर्ने, नरहे गर्ने के..? - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टाउको रहे न पुच्छर र कण्डोको चिन्ता गर्ने, नरहे गर्ने के..?

विक्रम फागो वनेम



देश लुटिंदा र लिलाम भई बेचिन्दा अनि हजारौं निहत्था नागरिकजनको गर्धन छिनाल्दा नदुख्ने, समबेदना नघोप्टिने फिर जाबो नाथे एउटा कपडाको त्यान्द्रो जल्दा वा जलाउँदा देशै सकिएको र देशको अन्तिम श्वासको नाभि नै त्यहीँ एकभित्ते कपडाको भोटोमा बाँचेको छ जस्तो रोइलोधोइलो गरेको प्रहसन देखियो । मानौं कि त्यहीँ कपडाको त्यान्द्रो भित्र देशको एकमुठ्ठी श्वास अल्झेको छ । जसलाई अग्निदह गर्दै गर्दा यता देशको परान र प्राण जादैंछ के ।

अतः देशको भुमी, माटो र हजारौं ज्यानहरुको किम्ती भन्दा यो कपडाको ल्याम्टा नै बहुमुल्य किम्ती हो र लाग्छ भने देश लुट्न, लिलाम गर्न दिई रहौं । आखिर माटोभन्दा त उहीँ राष्ट्रियताको नामधारी ट्याग बोकेको त्यहीँ झण्डा नै त ठुलो ठाने । अपितुः यो ज्यानको हकमा भने भुमी, माटो र नागरिकजनको ज्यानहरु भन्दा यो कथित झण्डा किमार्थ ठुलो र महत्वपुर्ण हुदैं होईन र हुनै सक्दैन् के ।
अन्ततः यसलाई संज्ञा र नाम दिंदा न त्यो राष्ट्रिय झण्डा हो भन्ने भो । आखिर त्यो नहुंदो हो त..? त्यो कसैको लगौंटी र धोती बन्न सक्थ्यो÷बन्थ्यो । कसैको ग्ल्यामरस रंगमा टु पीस वा विकिनी (ब्रा र पेन्टी) पनि निर्माण हुन सक्थ्यो होला । किन र..? कोही कसैले यहीँ झण्डालाई, मसलाको रूपमा आफ्नो सर्वाङ्ग आङ छोप्न प्रयोग गरेनन् र..? जल्दा दुख्नु पर्ने तर कसैले गुप्ताङ छोपेर टिस्यु पेपरको रूपमा प्रयोग गर्दाचेन् नदुख्ने भन्ने नि हुन्छ र..?

पुनश्चः ओली सरकारले देशै त केकमा पीस–पीस काटी खाए । केकमा मात्र होईन, यथार्थ मै पनि देश बेच्दै खादैन्छन् । आन्तः देशै हसुर्ने अघोरीलाई भने स्यावास र धन्य हुने रे । उनैचेन् देशभक्ती र राष्ट्रवादीको अग्लो कद बनाईनु पर्ने । आनि जावो तिनको विरुद्ध देशको नामधारी ट्यागको एउटा भोटो जलाउँदा उसलाई अराजक देशद्रोहीको आरोप लगाईनु पर्ने रे । नानाभाँतीको साम्प्रदायिक जातिवादी र विखण्डनकारी कुकुर खाते रे । वाफ रे..! हन यो शासकीय रवाफको असमान विभेदकारी पराकाष्ठा होईन र..? मिडियाकर्मीहरुको यो कुन आँखाको पावर लेन्सबाट हेर्या हो..? जुन आँखाहरुले अर्घेलो र होचो देख्दैन । जुन तेमेरुँको कलमी मसीले मानवीय समानताको न्यायिक सम्पादनको सम्बोधन गर्न सक्दैन भने,नेपाली कथित मिडिया हाउसहरुमा शासकीय बाहुनवादको गन्ध छैन भनेर कसरी पत्याउँन सकिन्छ..?

खाली जातीय भावबेगको लहडमा झन बलेको आगोमा घ्यु थप्ने कार्यमा प्रेरित भएको र आम समुदायलाई झन् अराजक निर्माण गर्नमा थप उत्साहित गर्न सघाउ गरे जस्तो लाग्छ । जातीय सदभावमा खलल पुग्ने र सहिष्णुतामा आँच आउँने गतिविधि गायक ¥यापर भाईको गीतमा प्रस्तुत भिडियोमा देखिए/भए वा दोषी नै ठहरिए, त्यसलाई मिडियाकर्मीहरुले सुजबुझका साथ समाचार संप्रेषणलाई check and blance को रूपमा news cover गर्नुपर्ने हो । तर मिडियाकर्मीहरुको त्यो भुमिकाको धर्म कहिं कतै निभाएको देखिएन । खाली झण्डा जलाईएको भावबेगको रिसरागमा मात्र गायक ग्याल्जेन दोर्जे विरुद्ध मात्र कलमी मसीको विष वमन गरि रहे ।

अझ मुलधारको टेलिभिजन भनौंदाहरुले उस्तै आक्रोश पोख्ने माध्यम पो बनाए । कति न देशकै महा आतंकवादी र अपराधी फेला पारे झैं गरि प्रस्तुत भए । त्यसले झन् आम समुदायको आत्मासमानमा समाज विथोल्ने र परस्पर गालीगलौज र हिंसात्मक द्वन्द्वहुने प्रश्रयको माहोल क्रेट गराई दिए । जसको कारण सामाजीक संजालभरी यहीँ विषयले परस्परमा कित्ता काटाकाट र पक्ष–विपक्षीको रेखाङ्कन कोर्न पुग्यो । जसको कारण,जातीय बिग्रहले असहिष्णुता मात्र जन्माउँदै लगेको छ । फेसबुक वालमा आएर लाईभमा वक्तव्यबाजी गर्ने अतिवादका कथित राष्ट्रवादी मनुवाहरु नि काफी देखिएका छन् । जसले आफ्नै शासकहरुले देशमा मनपरी रत्यौली खेल्दै देश लिलाम गरेको र अकुत सम्पतीहरु कुम्ल्याएको प्रती भने एकरत्ति देख्दै देख्दैनन् के । जसको आँखाहरुले सिर्फ ग्ल्याजेन दोर्जेले र राष्ट्रिय झण्डा जलाएको मात्र देखि रहे । र एकखालको उग्रराष्ट्रवादको विवेकहीन शून्य भ्रष्टताको आवेग स्खलित गरि रहे । ओहो..! कत्रो आवेगको उद्वबेग रिसराग हो यो..? खोइ त पुर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो जन्मदिनमा उहीँ राष्ट्रिय झण्डा नै केकमा काटी खाए त..? अन्ततः जय जननी, जय नेपाल नै पुकार गर्छन् त यी ज्ञानेन्द्रले । फिरःगायक ग्याल्जेन दोर्जेले पनि सम्बोधन पुकार गर्ने त उहीँ जय मंगोल र जय नेपाल नै हो त । आन्तः यहीँ आवेग खोई त ओली सरकार र ज्ञानेन्द्रप्रती..? कुकुरले टोक्यो भन्दैमा के अव कुकुर नै टोक्न जाने हो त..?

भलै : तेमेरुँको यो ओली शासकसंग देशको भुमीहरु लिलाम गरेको फिर्ता गर्छौ । अनि क्रप्सन गरिएका खर्वौ कुम्ल्याएको रकमहरु देशको राजस्व ढुकुटीमा जम्मा गर्ने साहस वा दम राख्छौ । ओली सरकारलाई कानुनी कठघरामा उभ्याउँने तागत र नैतिकता देखायौ भने यो झण्डा जलाएको बरु जिम्मेवारी बहन गरौंला । प्रस्तुत म्युजिक भिडियोका गायक तथा मोडेल ग्याल्जेन दोर्जो लामाको ठाउँमा आफू जेल भुक्तान गर्न तयार छु । कानुन त सहुँला बुझौंला । यदी त्यो काम गर्न सक्दैनौ र फतुर बकबक मात्र गर्दै यो गोहीको आँसु झार्ने नौटंकी प्रहसन पटक्कै नगरौं । उसै नि रोम जली रहन्दा निरोले बाँसुरी बजाई रहेको देश यो पनि हो भन्दा के नै फरक छ र..?

खैरः यति विषय हेक्का राख्न सकौं कि देशमा विद्रोह किन बारबार जन्मन्छ के.? त्यसको पहिलो कारण खोज्ने गरौं । कारणहरुको सहि सलामत शल्यक्रिया गरौं र सदालाई निदान पनि गरौं । तब न ग्याल्जेन दोर्जे लामा जस्ता विद्रोहीहरु जन्मदैनन् । कारणको सतहसम्म नपुग्ने आनि खाली न्वाराँन देखिको वल लगाएर गालीगलौज गर्ने र कानुनी कारवाहीलाई मात्र यसको उपचार र निदान सम्झने हो भनेदेखिनलाई यी यस्ता विद्रोही ग्याल्जेन दोर्जेहरु त हजारौं जन्मन्दै जानेछन् । आखिर विभेदीकरण कै वलमा यदी दमन र बर्बरताकै रुपमा यो शासकहरुले लिन्छन् भने, उत्पीडित जाती र बर्गले त्यसको विरुद्ध प्रतिवाद गर्नु र युद्वमा जानुको विकल्पै त हुन्न क्यारे..! विद्रोह, आन्दोलन र हिंसात्मक गतिविधिहरु त्यो देशमा जन्मनुको मुख्य कारकतत्व नै त्यो देशको शासकीय स्वरुप र शासकहरुको कार्यशैलीले निर्धारण गर्ने गर्छन् । जवकी संसारको कुनैपनि राजनीति इतिहासमा बिना कारण त्यसै जनविद्रोह र क्रान्तिकारी युद्वहरु भएका छैनन् ।

जो शासकहरुको स्वेच्छाचारी अधिनायकवाद र क्रुर शासकीय पद्धतिहरुको कारण यस्ता विद्रोहको विगुल फुक्ने क्रान्तिकारी ग्याल्जेन दोर्जेहरु जस्ता युवापुस्ताहरु एकाएक जन्मन्दै जान सक्नेछन् । र निरन्तर जन्मी रहन्छन् भन्ने मुल सारलाई यी शासक र समाचार संप्रेषण गर्ने मिडियाकर्मीहरुले पनि नबुझी धरै छैन् । जति समाचार टिप्पणीहरु नश्लीय गन्धमा संप्रेषित हुन्छन्, त्यसले देश र समाजलाई थप द्वन्द्वतर्फ मात्र धकेल्ने छ । जो शनैःशनै हिंसात्मक द्वन्द्वतिर मुखरित हुन जान सक्नेतीर कसैले रोकेर रोक्न सक्ने छैन् । जुन हिंसाको रुप आफैमा जातीय, धार्मिक या सांस्कृतिक रुपले जे पनि हुन सक्छ । देशलाई कता लैजाने हो, त्यो शासकहरुमा निर्भर रहेको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापीत हुदैंमा आम नागरिकजनले (केही अपवाद बाहेक) यो मेरो पनि देश हो भन्ने अपनत्ववोध गर्न र हुन सकिरा छैन् । म यो देशको नागरिक हुँ भन्ने स–गौरवपुर्ण आफ्नो छाती फुलाएर ब्यक्त गर्न सक्ने अवस्था रत्तिभर छैन् ।

सिमान्तकृत भनिएका सल्वार्ट्न जाति र वर्गहरु जो अहिलेसम्म यो देशको दोश्रो नागरिक पनि के भन्ने र..? दोश्रो अनागरिक दलित जस्तै भएर÷बनेर बाँच्न विवश छन् । आम आदिवासी जनजाती लगायत मधेसी दलित सप्पै जाति र वर्गहरु जो राज्यको मुलधारबाट अझै नि कयौं कोष दुर दराजमा छन् । राज्यले सम्बोधन गर्न त के, देख्न र सुन्न पनि चाहेको छैनन् । हो राज्यको बाहुनवादी शासकहरुले गरेको र थोपरेको यहीँ असमान विभेदको कारणहरुले नै ग्याल्जेन दोर्जेहरु जन्मेका हुन् । हिजोको इतिहासमा माक्स, लेनिन, चे ग्वेभरा, माओत्सेतुङ र नेल्सन मण्डेलाहरु उसै जन्मेका थिएनन् । समयकाल र परिस्थितिहरुले उनेरुँलाई देश र जनताको मुक्ती विधाताको रूपमा जन्मावतरण गरायो । विश्व राजनीति रंगमञ्चमा जनआस्थाको महान युगपुरुष राजनेताको रूपमा उभ्यायो । जवकी यी यस्ता विद्रोह र क्रान्तिकारी लडाइँको सुचीहरुको फेहरिस्त आफ्नै देशमा काफी छन् । यहाँ भन्दा पर के जानू छ र..? तर स्वंय क्रान्तिकारीताको लडाइँ गरेर सत्ताभोग्न पुगेपछी शासकीय शैलीमा क्रमभंगता रत्तिभर भएन । झन् फ्ल्यासब्याकमा देखिएको शासकीय रुपभन्दा झन् डरलाग्दो पुरानावृति हुँदै गएको छ ।

भनेसी लोकतान्त्रिक भनौंदा यी शासकहरु पुरानै शासकीय शैली उन्मुख उल्टो दिशा हिड्छन् भने ग्याल्जेन दोर्जेहरु नजन्मेर के अवः यी शासकहरुका स्तुत्य, भजनकिर्तन गाउँने र तेमेरुँका फेरो समाईदिने, आज्ञाकारी पालक, जो कमराकमारी दासहरु जस्तो मात्र जन्मी रहलान् भन्ठानेको हो र..? कम्तिमा के हेक्का राखौं भने ग्याल्जेन दोर्जेले आफ्नो अब्यक्त कुण्ठाको भावबेग राजनीति विचारलाई कमरेड प्रचण्ड उर्फ पुष्पकमल दाहालले जस्तो १७ हजार निहत्था बबुरा निरिहय नागरिकजनको बध गरेका छैनन् । यानेकी त्यस्तो प्रचण्ड जस्तो रक्त पिपासु अघोरी ज्यानमारा त भएका होईनन् । उनले आफ्नो कुण्ठाको विद्रोहलाई देशको राष्ट्रिय झण्डा जलाएर राजनीति अभिब्यक्तको शुभ मुहुर्त गरि दिए । जुन प्रचण्डले क्रान्तिकारी विद्रोहताको जनयुद्धको शुभ मुहुर्त गर्दाखेरि राष्ट्रसेवक प्रहरीहरुको ज्यानलाई वलि चढाएर गरेको हुन/थिए। त्यस्तै अहिलेका ओली सरकारले नि झापामा ४/५ जनाको टाउको गिडेरै सत्तामा आएका ज्यानमारा अपराधी हुन/थिए। आरे..! भन्नुपर्दा ग्याल्जेन दोर्जेले कसैको ज्यान लिने हुर्मत बटुलेनन् र लिएका छैनन् ।

अवः भनु त कमरेडजन र काँग्रेसीजन हो, क्रान्तिकारी विद्रोहताको ऐंलानेजंगको प्रतिकात्मक स्वरुप तेमेरुँको प्रचण्ड, केपी.ओलीको सहि हो की, ग्याल्जेन दोर्जेको..? तेमेरुँको आत्मामनले त भन्दो हो नि, आ..! ज्या है, मान्छे मार्नु र मर्नु भन्दा त जाबो त्यो एक त्यान्द्रो कपडाको भोटो च्यात्नु र जलाउँनु नै सोर्है आना मुनासिफ हुन्छ । त्यसो त अन्तरमनले भन्छ नै । ता पनि किन–किन शासकहरुको कित्तामा उभिन्दा र नश्लीय जात रंगमा घोत्लिन्दा प्रचण्ड र केपी. भन्दा त्यहीँ ग्ल्याजेन दोर्जे महा क्रुर अपराधी भए झैं लाग्छ । हो यहीँ गैर समबेदना हीनताको पराकाष्ठाले सिर्जना गरेको बेथितिको भद्दा मजाकको अमानवीयता हो । फेरि यो कलमी हस्ताक्षरले, ग्याल्जेन दोर्जेले झण्डा जलाउँनु ठिक गर्यो भन्नेचेन् आशयता होईन । तर यी निर्दयी ज्यानमारा हत्यारा प्रचण्ड र केपी.भन्दाचेन् ग्याल्जेन दोर्जे कति सफेद, निष्कलंक र निरपराधी छन् के । उनले देशलाई सिध्याउने र बेची खाने यीनै बाहुनवादी शासकहरु नै देशद्रोही हुन् भनेर ठाडै औंल्याएका छन् । तिनको विद्रोहको ऐंलान स्वरुप प्रतिकात्मक रुपले देशको राष्ट्रिय झण्डालाई म्युजिक भिडियो मार्फत जलाई दिएर राज्य शासकहरुको ध्यानाकर्षण गराई दिएका छन् । उनको सम्बोधन छ, जसको कारण र उपायको खोज अनुसन्धान हुन सकोस् । त्यो जुन राजनीति बहसका रूपमा सर्वत्र छाउँन र उच्छाल तरंगहरु ल्याउँन सकोस् भन्ने हो ।

जुन अहिले उनले सोचे जस्तै बहस र छ्लफल नभई रहे पनि यसले १० रेक्टर स्केल बराबरको भुईंचालो चेन् ल्याई दिएको छ । सप्पैको मथिंगल चाटी दिएको छ । देशलाई शासकहरुले लिलाममा खुलेआम टेण्डर बोल आव्हान गर्दै बिक्री वितरण गरेकोमा भन्दा यहीँ एउटा भोटोलाई अग्नि दाह गरेकोमा कहनै नसकिने खालको राष्ट्रवादी चिन्ताको शोक र समबेदनाहरु सामाजिक संजालहरुमा घोप्ट्याई रहेको काफी हेर्न सकिन्छ । जुन राष्ट्रिय झण्डा राजनीति बहसमा आउँनै पर्ने थियो । आउँन जरुरी नि थियो । जसलाई उनले फरकधारमा बहसमा ल्याएर उभ्याई दिए । देशको शासकीय स्वरुप र पुनर संरचना हुदैंगर्दा यो झण्डा देखि लिएर अन्य थुप्रै प्रतिक चिन्हहरु बदल्नु आवश्यकता थियो । यो आफैमा प्रविधिको युग पनि हो । मान्छेलाई त आफ्नो शारीरिक बनौटको गेट अप मन परेन भने स्वरुप अनुहार र लिङग नै त चेञ्ज गर्न सक्छ भने नयाँ स्वरुपमा विनिर्माण किन नगर्ने..? किन हुन नसक्ने हो नि..? नयाँ संविधानसभाताका उसबेला प्रचण्ड र बाबुराम भट्टराईले, झण्डाको रुप परिमार्जन गर्ने भन्ने बहस खुव चलेथ्यो । जुन बहसमै सिमित भो । जस्ताको तस्तै एकछापे दर्ज भो ।

उसो त आम आदिवासी जनजातीले अहिले पनि यो झण्डा र गाईलाई राष्ट्रिय प्रतिकका रूपमा स्वीकार्न सकेको छैनन् । जवर्जस्त दस्तखत गरिएको यो नयाँ संविधान प्रति अझै त्यस्ता थुप्रै विमती र असंगत लाग्ने अनेकन विषयहरु छदैंछन् । जुन यो नयाँ संविधान पुनः संशोधन नगरी धरै छैन् । संशोधन गर्न आलटाल र शासकीय रवाफ देखाए, संविधान फेरि च्यात्न सक्नेछन् । जुन संविधानले सिंगो नेपाली नागरिकलाई अपनत्वबोध गर्न सकेको छैन् । संविधान घोषणा हुदैं गर्दा उसै पुर्व विद्रोही माओवादी कित्ताका बाबुराम भट्टराईले संविधान अपुरो र अपुर्ण छ । पुनः संशोधन गर्नुको विकल्पै छैन् भन्दै हस्ताक्षर गर्दै बाहिरिएका हुन् । त्यस्तै मोहन वैद्यले पनि यो संविधान प्रति सहमत थिएनन् । झन् अहिलेका क्रान्तिकारी भनिने विप्लव (नेत्र विक्रम चन्द) ले त ठाडै अस्वीकृत नै गरेका हुन् । जो पुनः जनयुद्ध लड्ने मिसनमा भुमिगत झैं भएका छन् । प्रचण्डले जनयुद्धको राजनीति मुद्वा र जनवादी सत्ता निर्माण गर्ने जस्तो प्रमुख कार्यनीति सत्ताभोग्न पाएसी छोड्यो भन्ने बैद्य, सीपी.गजुरेल र विप्लपले आरोप लगाए । अन्ततः प्रचण्डलाई नै छोडी दिए ।


सत्ताभोगी शासकहरु भन्दा यो नयाँ संविधानप्रति अनिच्छुक हुने र असहमति राख्ने नेपाली नागरिक उनेरुँभन्दा दुई तिहाई बढी छन् । तापनि फेरि वहीँ बाहुनवादकै हिन्दु सांस्कृतिक बुल्डोजरलाई पुनः अविलम्ब अख्तियार गरिएको छ । अबःयसले कतिदिन समयको फेरो धान्न सक्छ भन्ने मात्र हो । क्रान्तिकारी विद्रोह गर्न समयले एकदिन बाध्यात्मक पार्छ नै । यसमा दुईमत नै छैन । ग्याल्जेन दोर्जेहरु त अहिले भीडहरुमा देखिएका प्रतिनिधि पात्रहरु मात्र हुन् । शासकहरुको कारण देशमा विद्रोह गर्ने ग्याल्जेन जस्ता युवापुस्ताहरु कति जन्मन्छन् कति के ।

काशः यो कलमी हस्ताक्षर सदा सिमान्तकृत सल्वार्टन उत्पीडित जाति, बर्गहरुको पक्षमा खुलेर ऐंलान गर्ने एउटा स्वतन्त्र नागरिक हुँ । एक पक्षिय थिचोमिचो सहय छैन् । ग्याल्जेर्नेको आक्रोश र विद्रोहीे च्यालेन्जचेन् यो देशको बाहुनवादी शासकहरुसंग हो । बाहुन क्षेत्रीहरुसंग होईन । उनको गीतको भावांसमा साम्प्रदायिकता बाँड्ने केही अराजकता छ । त्यो गलत हो ।

उनको भावबेगको आवेग र प्रतिवादी शुभेच्छुकहरुको भावबेगको टीका टिप्पणीहरु पनि कम छैनन् । ओली सरकारले देशको नक्शा अवतारी अघोरी झैं हसुर्दा ग्याल्जेन दोर्जेले नि झण्डा मार्फत आफ्नो देशको देशद्रोही लेण्डुपे शासकहरु को–को हुन्, चिन र विद्रोह गर÷गरौं भन्ने उनको भावबेगको एउटा आग्रह छ । बस….!

अतः अव उनलाई कानुनी कठघरामा उभ्याएर झन् थप विद्रोही बन्ने अवसर नदिऔं । र ऊनी जस्ता अन्य विद्रोही युवापुस्ताहरु नजन्मिउन् । शासकहरु पनि दमनकारी नीति लाद्ने र न्यायलयले पनि उहीँ बाहुनवाद कै न्याय सम्पादन गरे भने छिट्पुटे राजनीति विद्रोह कुनै दिन सुनामी बेगमा अवतारित हुन सक्छ । उदाहरण त हिजोको माओवादी जनयुद्ध नै हामेरुँसामु काफी छ । तसर्थ, राजनीति सुझबुझका साथ उनलाई लोकतान्त्रिक विधि र मूल्य मान्यता भित्र आफ्नो राजनीति मौलिक हक, अधिकार खोज्ने र लड्न पाउँने दिशा निर्देश गरौं । आवाजहीनहरुको आवाजहरुलाई दबाउँने र घाँटी न्याँक्ने दमनकारी नीति अपनाउँने भुल नगरौं । सहि सलामत संविधान भित्र स–सम्मान राखेर सम्बोधन गरौं । देशको राष्ट्रियतालाई बलियो निर्माण गर्ने हो भने बाहुनवादको हथौड़ा मार्न छोड । जवतकसम्म यो जातिवादीताको गन्ध चुहाई रहन्छौ नि, एकदिन त्यस्तो दिन आउँन सक्छ । त्यो दिन हामेरुँ कित्ताकाट गरेर अलग–अलग बसौं भन्नेदिन पनि नआउला भन्न सकिन्न ।

स्मरण गरौं कि, दोस्रो विश्वयुद्व पछी UN(संयुक्त राष्ट्र संघ)को स्थापना हुँदासंसारमा जम्मा ४५ वटा मात्र देशहरु थिए । त्यसपछी निर्माण भएका नयाँ देशहरु थप ६० हुँदै अहिकेतकसम्म २०० वटा देशहरु भन्दा बढी निर्माण भएर स्थापीत बनेका छन् । त्यसमा अझै थपिनु, जोडिनु र अलग्गै अंश लिएर स्वतन्त्र अस्तित्व निर्माण गर्नलाई अहिलेको लोकतान्त्रिक मुलुक भएको देशमा त्यो हक अधिकारको प्रत्याभुतचेन् लोकतान्त्रिक विधिबाटै हुन सक्ने संविधान नै हुने गर्दछ । जुन यस्तो अभ्यासहरु युरोपियन देशहरुमा काफी हुँदै आएका पनि छन् । अतः यस्तो अभ्यास नभएको हामेरुँको यो देशमा भने, उहीं विद्रोह मार्फत लडेर कब्जामा राख्न सक्नु र जीत्न सक्नु नै हो । झण्डा जलाईनुलाई त्यत्रो ठुलो विद्रोह रुपधारण बनाईनु किन.? यी शासकहरुले देश त राख्लान्, नराख्लान् कठै..! देश रहे न झण्डा हुने हो । देशै नरहे झण्डा कहाँ रहने हो..? तसर्थ, टाउको नै नरहे पुच्छर र कण्डोको भुत्रो चिन्ता गर्ने । राष्ट्रिय झण्डा र राष्ट्रिय गीत नै नभएको देशहरु पनि यो लोकमा काफी छन् । जो नभएर पनि समृद्धशाली देशहरुको सुचीमा दर्ज भा छन् । देश र नागरिकजन राष्ट्रिय संकटकालीन विपतहरुमा जल्दा नरुने आँखाहरु र समबेदना घोप्ट्याउँन नसक्ने हृदयह बाः बिना वित्थामा एउटा जावो कपडाको भोटो जल्दाखेरि रे, अलापबिलापको विलौंना गाउँनु पर्ने रे । यो भन्दा हद् अतिवादी उग्रराष्ट्रवादको आत्माघाती राजनीति चिन्तनको पराकाष्ठा कहाँ पाईएला ..? कहाँ भेटिएला र नि लै लै..?

भलैः राष्ट्रिय झण्डाको परिभाषा सिंगो देश र आम नेपालीजनको प्रतिनिधित्व गर्ने प्रतिकका रूपमा ग्रहण गर्न उत्प्रेरित गराए पनि यो झण्डालाई बाहुनवादी हिन्दु धार्मिक प्रतिकका रूपमा यसको अस्तित्व उठान गरिएको छ । जुन परापुर्वकाल देखीको ऐंतिहासिक दस्तावेजहरुले उल्लेख गरेको काफी दशी प्रमाणहरु छदैंछ्न् । दशी प्रमाण–पत्रहरु बटुल्न उति टाढा जानै पर्दैन । जनक शिक्षा पाठ्यक्रम पुस्तकालयले तयार पारेको कक्षा–९, को नेपाली पुस्तकमा यो झण्डालाई हिन्दु धार्मिक झण्डाको रूपमा परिभाषित छ । जवकी देशको शिक्षालयलेनै यो झण्डालाई हिन्दुहरुको हो भनी स्कुलिङ गराईन्दै ल्याईन्दैछ भने, आन्त यसले गैर–हिन्दु जाति र वर्गलाई कसरी सम्बोधन गर्छ नि..? सिंगो देशको प्रतिनिधित्व गर्ने भन्नलाईचेन् राष्ट्रिय झण्डाको मानक बनाउँने, तर विडम्बना परिभाषामा भने त्यो हिन्दुवादीहरुको प्रतीक हुनुपर्ने..? यो छ्लकपट, बेईमानी र जालझेल गर्नुको नि सिमा होला नि..? समग्रमा यी यस्तै चलखेलहरु गर्ने प्रवृत्तिलाई नै बाहुनवादी सत्ता भन्ने गरिन्छ ।


एउटा देशको २०ं प्रतिशत जाती र वर्गको आधार भएका त्यो पनि भारी अल्पमत शासक वर्गहरुको ८० प्रतिशत बहुमत भएका आम आदिवासी जनजाती र वर्गहरुले उनेरुँले स्थापीत गरेका राज्यका हरेक मानकहरुलाई जवर्जस्त आस्था राखी दिनुपर्ने । स्वीकारी दिनुपर्ने बाध्यताको झेल बनाएका छन् । अवः भनुँ त त्यो जवर्जस्त घोप्ट्याउँनु लगाएको आस्थामा कसरी श्रद्वा औं प्रेम जन्मन सक्छ के..? जसले अपनत्वबोध गराउँदैन र बाँकी ८० प्रतिशत जनधार भएको जाति र वर्गलाई, असमान विभेदको जाल ओछ्याएर त्यसले सम्बोधन नै गर्दैन् भने त्यसलाई ए नि लै लै..! भनेर अन्तर हृदयले आशिम आस्थाको प्रेम औं श्रद्वा घोप्ट्याएर सुमसुम्याउँनुको कुनै अर्थबोध छ त..? जुन राष्ट्रिय एकताको प्रतिक मानिएको ध्वजाबाहक झण्डालाई जातीय कित्ताकाट र सिमानाकाट गरिन्छ भने ग्याल्जेन दोर्जे जस्ता कयौंन युवापुस्ताहरुको मन मष्तिष्कमा आगो सल्किनुलाई अनर्थ मान्न नसकिएला कि..? ग्याल्जेन दोर्जेले आफ्नो अडान दावीका साथ राखेका छन् कि एकदिन यो झण्डा फेर्नै पर्ने हुन्छ । यदी यसले हिन्दुत्वको मात्र प्रतिनिधित्व गर्छ भने उनले गरेको बैचारिक विद्रोहको ऐंलानमा शत प्रतिशत न्यायिक लडाँईं छ ।

अहिले सामाजीक संजालहरुमा राजनीति चिन्तन नभएका र देशको शासकीय सत्तालाई बाहुनवादी शासकहरुले यो देशलाई कसरी उपयोग गरिरहेछन् भन्ने विषयलाई नजिकैबाट शल्यक्रिया गरि हेर्न सकेका छैनन् । यथार्थमा चाहेका पनि छैनन् । झण्डाको विषयलाई लिएर comment.टीका, टिप्पणी गर्नेहरु ९९.५ प्रतिशत आर्यमुलका शुभेच्छुक देखिन्छन् । यसमा गैर आर्यहरु अधिकांश मौन देखिएका छन् भने छिटफुट ब्यक्तीहरुले आक्रोश पोखेका छन् । केहीले ग्याल्जेन दोर्जेको लडाँईलाई खुलेर सपोर्टहरु गरेको देखिन्छन् । ग्याल्जेन दोर्जेप्रति उनेरुँले राखेका बैचारिक अभिव्यक्तिहरु ज्यादै रुखो, असभ्य र जंगलीशैलीका छन् । उनेरुँको त्यो टीका टिप्पणीहरुको comment हरु हेर्ने र विश्लेषणात्मक रुपले अध्यायन गर्ने हो भने उनेरुँमा बाहुनवादी हिन्दुत्व र शासकीय रवाफको अहंकारको राग पालेर, खुलेआम ऐंलान गरेको हाँक दिएको बुझ्नलाई गार्हो हुन्न के । यसैले पनि राजनीति आस्था र वैचारिक चिन्तनको कित्ताकाट को कहाँ छ..? भन्ने क्लियर गराएको देखिन्छ । अधिकांश आम आदिवासी जनजाति पक्षधरहरुले मौनता साँध्नु चुपचाप देखिनुलाई निश्चयनै,वैचारिक रुपले त्यो साईलेण्ड किलरको रूपमा उभेको हो भन्ने बुझ्नलाई उति गार्हो छैन् । उहीँ २/४ जना आदिवासी अनुहार भएका तर आत्माचेन् बाहुनवादी कित्तामा आफ्नो चोला विसर्जन गर्न गएकाहरुको केही झुण्डहरु छन् । तिनेको राजनीति ईहलिलाचेन् एकदिन वहीँ ताप्केको माछो,उफ्रन्दा उहीँ भुङग्रोमा परे जस्तै हुनेछ ।

पुनश्चः बिट्यौंनीमा भन्नुपर्दा, ग्याल्जेन दोर्जेलाई कानुन लाग्ने र पुर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओली सरकारलाई भने कानुनै नलाग्ने भन्नेचेन् कदंकदाचित नहोला के । ओली सरकार विरुद्ध दिईएको उजुरी जाहेरी प्रहरी प्रशासनले दस्तखत र दर्ता गर्न किन स्वीकार्दैन ? के यो देशमा मुल संविधानको भावनामा आर्यन मुलका बाहुन क्षेत्रीहरुलाईचेन् कानुनमा विशेष छुट हुने उल्लेख होला र..? के यो वहीँ जंगे (जंगबहादुर राणा) शासनको मुलुकी ऐंनकै निरन्तरता हो त । जहाँ बाहुन जातिहरुले जतिनै गल्ती त्रुटि र महाअपराध नै किन नगरेको होस् । उसलाई आम माफी सहित केश मुण्डन गरेर डाँडा कटाउने हो बस् । परन्तु, त्यो बाहेका आदिवासी जनजाति र अन्य वर्गहरुले त्यहीँ बाहुनले गरेको गल्ती त्रुटिहरु किन नहोस् । उसलाई सिधै गोली कि, शुली र फाँसी हो के । अहिले यसो टाउको माथी हात राखेर गम्छु कि लोकतान्त्रिक देशको यी बाहुनवादी शासकहरु ठ्याक्कै वहीँ जंगे शासनको पुनाराबृतिमा पश्चगामी कदमतर्फ बढी रहेको यदाकदा गन्धहरुको छनक आउँन थालेको आभाष हुन्छ । यदी त्यसो हो भने त्यो झण्डा जल्नु गौण हुनेछ । बाहुनवादी सत्ताको पिल्लर हल्लाउँनु र जलाउँने क्रान्तिकारी युद्वको आन्दोलन घोषणा गर्न ढिला भई सकेको हुनेछ । येनारुँलाई सत्ताच्युत नगरेसम्म र नलढेसम्म देश र नागरिकजनले काँचुली फेर्न सक्दैन । मुक्ति पाएको एहेसास गर्न सक्दैनन् । जुन यी शासकहरुको विरुद्ध त्यो तेश्रो जनयुद्ध गर्न ढिला र अपरिहार्यता भई सकेको अवस्था छ ।

विशेष ध्यानाकर्षण गराएँ कि, ओली सरकारलाई जीन्दावाद र ग्याल्जेन दोर्जेलाईचेन् मुर्दावाद कवै हुँदै हुँदैन् । यदी यस्तो जातीय विभेदीकरण कानुनी हकमा नि न्यायलयले गर्छ भने अवका दिनहरुमा समान राजनीति हक र अधिकारको खातीर महासंग्राम हुन सक्छ । शासकहरु स्वंयले देशमा युद्व होस् भन्ने चाहेको देखिन्छ । उनेरुँलाई शासक हुनुको रवाफिलो अंहकार छ । चाहेको खण्डमा जे पनि हुन्छ र गर्न सक्छु भन्ने उन्मादले बहुलाएको छ । अव भनुँ त यो देशलाई इथोपीया, रुवाण्डा र युगाण्डा जस्तो कस्ले बनाउँन खोज्दैछ..? लेण्डुपे चरित्र पालेर महिषासुर भष्माषुर बन्ने सपनाहरू नदेखौं ।

अन्ततः शक्तिको दुरुपयोग गर्दा भष्माषुर जस्तै आफै खागरखरानी हुनुपर्ला । यो शिक्षा बुर्जुवा शासकहरुलाई दिन उति मुनासिफ हुन्न पनि । तथापि कानुन तः ग्याल्जेन दोर्जेहरुलाई आम माफी दिएर सफाई गर्ने कि कानुनी सजाएको तोक ठोकि दिने हो..? बारबार सोंच, उसलाई झनै क्रुर विद्रोही बनाउँने हो भने जेलबन्दी बनाऊ । ऊनी जस्ता असंख्य ग्याल्जेन दोर्जेहरु जन्मि रहने स्थितीहरु निर्माणहरु गरि रहौ, बस्…। उनी बैचारिक रुपले ज्यादै एकेडेमिक लाग्छन् । उनको राजनीति लोजिकली विश्लेषण र चिन्तन नेपाली राजनीतिमा सोर्हैआना मुनासिफ छ । मात्र आबेगभावमा सम्बोधन गरिएका कटु तुच्छ लाग्ने जातीय कुराहरुको ऐंलानेजंगको हाँक भने युग सुहाउँदो र सामाजीक परिबेशमा क्रसम्याच हुने न्यायिक लडाइँचेन् होईन । आफ्नो मौलिक हक अधिकारहरु राज्यसत्तासंग लडेर र खोसेर नै लिने हो । तर अधिकारहरु खोसिन्दा, अन्य समुदाय वर्ग वा जातिहरुको हक अधिकारहरु माथी अन्याय नहोस्÷नखोसियोस् । जसरी दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले रंगवाद विरुद्ध लडे र देशलाई सदाको निम्ति मुक्ती दिलाए । तथापी उनले त्यहाँका गोरे शासक र तिनको जातिलाई देशबाट लघारेनन् । बरु झन् हार्दिक सम्मानपुर्वक समान आफ्नै अश्वेत र काला जातिहरुसंगै राजनीति अग्रधिकाहरु सहित मिलाएर राखे । अवको शासकहरुको विरुद्ध हुने लडाईं आदरणीय आईडल पर्शन नेल्सन मण्डेलाको रंगवाद विरुद्धको भए जस्तैचेन् हुनुपर्छ । ग्याल्जेन दोर्जे साथीहरुले बुझुन् र राजनीति चिन्तन नि गरुन् बस..!

स्मरण रहोस् की, पशुपति शर्माको लुट्न सके लुट् कान्छा, लुट्न सके लुट भन्ने गीत र यो ग्याल्जेन दोर्जेको विद्रोही ¥यापर गीतबाट शासकहरु उसै नि तर्सन्दै छन् । हिजो उनेरुँ सत्ता बाहिर हुँदा यिनै गीतहरु जनवादी सम्बोधन हुन्थे । अहिले उनेरुँ सत्तामा हुँदा यी गीतहरु देशद्रोही र जनघाती भएका छन् कठै..! यो पनि वैचारिक सांस्कृतिक क्रान्तिकारिताको महान लडाँईं नै हो के । अन्त्यमा,ग्याल्जेन दोर्जे र उनको टिमलाई विना शर्त स–सम्मान पुर्वक रिहाई गरियोस् सरकार..!

सम्बन्धित खवर