
एजेन्सी । भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको दक्षिणी पेङ्गोंग इलाकामा गोली हानाहान भएसँगै दुबै देशका सेनाले युद्धका लागि तयारी गरेका छन् ।
भारत–चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक गएराति गोलीहानाहान भएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार इमेरजेन्सी बैठक बोलाएका छन् ।
भारतीय सेना प्रमुख एमएम नरवानेले सीमा क्षेत्रको वास्तविक अवस्थाबारेमा मंगलबार बिहान जानकारी गराएपछि रक्षामन्त्री सिंहले आपतकालिन बैठक बोलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इमेरजेन्सी बैठकमा रक्षामन्त्री सिंहले सिडिएस एवं पूर्व सेना प्रमुख बिपिन रावत र तीनवटै सेनाका प्रमुखसँग चीनसँगको सीमा क्षेत्रमा भइरहेका क्रियाकलाप र अबको रणनीतिका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् ।
भारतीय सेनाले गएरातिको घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गरेर चिनियाँ सेनाले सुरुमा फायरिङ गरेको र त्यसको जवाफ दिइएको जनाएको छ ।

यसैगरि विज्ञप्तिमा चीनले आफूहरुलाई उत्तेजनामा ल्याउनका लागि उत्तेजक गतिविधि गरिरहेको उल्लेख गरिएको छ ।
चिनियाँ जनमुक्ति सेनाले भने भारतीय आरोपको खण्डन गर्दै भारतले एकतर्फी फायरिङ गरेको जनाएको छ ।