
दमक । लिम्बू विद्यार्थी मञ्चले दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई आर्थिक सहयोग गरेको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्सम सहितको टोलि मंगलबार दमक पुगि लावतीलाई ५४ हजार ५ सय ६० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।
लिम्बु विद्यार्थी मञ्च झापाका उपाध्यक्ष समेत रहेकी लावतीलाई सहयोग हस्तान्तरण गर्न मञ्चका अध्यक्ष दिपा लक्समसँगै उपाध्यक्ष विक्रम शेर्मा, उपमहासचिव प्रदिप नेयोङ, सचिव सेमी तुम्वापो, पूर्व सचिव योवाहाङ तुम्बाहाम्फे, आदिवासी विद्यार्थी नेता आकाश ताङहाङ लिम्बु, समाजसेवी सोनि लिम्बु लगायतको उपस्थित रहेको थियो ।
मञ्चले आन्तरिक रुपमा रकम संकलन गरि पहिलो चरणमा सो रकम सहयोग गरेको मञ्चका अध्यक्ष दिपा लक्समले बताइन् । लक्समको अनुसार तत्काल उपचारको लागि सहज होस् भनेर मञ्चमा रहेका समिति भित्रबाट संकलित रकम हस्तान्तरण गरिएको हो । आगामी दिनमा पनि आवश्यक रकमका लागि सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी गरिरहेको लक्समले बताए ।
पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई दमक बहुमुखी क्याम्पस दमकमा अध्ययनरत लावती केहि समय देखि दुवै मृगौला खराब भइ उपचार गराइरहेकी छिन् । लावतीको विगत लामो समयबाट Systemetic Lupus Erythematosus -SLE_को कारण मुटुमा समस्या भएको र दुबै मृगौला फेल भई हाल नोवेल हस्पिटलमा विराटनगरमा उपचार भइरहेको छ ।
लावतीको उपचारका लागि थप आवश्यक रकम संकलनका लागि लिम्बू विद्यार्थी मञ्चसँगै अन्य संघ संस्थाहरुसँग पनि छलफल सरसल्लाह भइरहेको मञ्चका उपाध्यक्ष विक्रम शेर्माले बताए । मञ्चसँगै अन्य संस्थाहरुसँगको समन्वय, सहकार्यमा आवश्यक उपचार रकम संकलन गरिने बताए ।
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ लगायत अन्य विभिन्न संघसंस्थामा आवद्ध लावतीको उपचारका लागि दमकमा समेत सहयोग संकलन अभियान सञ्चालन गरिने आदिवासी विद्यार्थी नेता आकाश ताङहाङ लिम्बुले बताए । लिम्बुका अनुसार आर्थिक रकम संकलनका लागि अन्य संघसंस्था, साथिहरुसँग छलफल भइरहेको र चाडै एउटा समिति बनाएर सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।