
एजेन्सी । भारत–चीन सीमा विवाद उत्कर्षमा पुगेपछि दुई देशका विदेशमन्त्री स्तरमा रुसमा वार्तामा ५ बुँदे सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नेपाली समय अनुसार गएराति भएको वार्तामा सीमा क्षेत्रमा तैनाथ हजारौ सैनिक कम गर्दै जाने सहमति सहित ५ बुँदे सहमति भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
सांघाई सहयोग संगठन (एससिओ)को बैठकमा भाग लिन मस्को पुगेका जयशंकर र वाङबीच झण्डै २ः३० घन्टा भेटवार्ता भएको थियो ।
भेटवार्तामा सैनिकको संख्या घटाउने, दुबै देशले सीमा क्षेत्रमा उचित दूरी बनाउने, विगतका सहमति पालना गर्ने, भारतले प्रतिबन्ध गरेका विभिन्न एप्सहरुसहित चीनविरुद्धका नीति परिमार्जन गर्ने र उच्चस्तरीय वार्ता गर्ने लगायतका सहमति भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय ४५ वर्षपछि भारत चीन सम्बन्धमा दरार आएर सीमा क्षेत्रमा फायरिङ भएको थियो ।