ऐतिहासिक चलचित्र ‘देउमाईको किनारमा’ का निर्देशक प्रेम सेर्माको निधन - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ऐतिहासिक चलचित्र ‘देउमाईको किनारमा’ का निर्देशक प्रेम सेर्माको निधन

उर्लाबारी। शहिद रत्नकुमार वान्तावा राईको जीवनीमा आधारित ऐतिहासिक नेपाली कथानक चलचित्र ‘देउमाईको किनारमा’ का निर्माता तथा निर्देशक प्रेम सेर्मा ‘माङजाबुङगे’ कोे निधन भएको छ ।

२०५१ साल माघ ११ गते रिलिज भएको ‘देउमाईको किनारमा’ नेपालकै पहिलो वामपन्थी धारको प्रगतिशिल चलचित्रका निर्माता तथा निर्देशक सेर्माको मोरङको उर्लाबारी नगरपालिका–७ स्थित आफ्नै घरमा आइतबार बिहान १०ः३० बजे ६० बर्र्षको उमेरमा निधन भएको हो ।

निर्देशक सेर्मा पाँच वर्षदेखि पक्षघातका कारण थलिएका थिए । उनलाई उच्च रक्तचापको समस्या पनि थियो ।

पाँचथर माङजाबुङमा जन्मिएका सेर्मालाई लामो समयदेखि घरमै अक्सिजन दिएर राखिएको थियो । सेर्माले आफ्नो जन्मथलो माङजाबुङलाई चिनाउन थरपछि ‘माङजाबुङगे’ जोडेका थिए ।

सेर्माको निर्देशनमा ‘चेतनाको लहर’, ‘लिम्बूवान’ जस्ता अलग धारका चलचित्र र याक्खा भाषाको ‘छालुम्मा’ चलचित्र निर्माण भएका छन् ।

‘माङजाबुङगे’ले दर्जन बढी नाटकको निर्देशन गरेका छन् भने कथा–कविता समेत रचना गरेका छन् ।
‘माङजाबुङगे’को आइतबारनै लिम्बू परम्परा अनुसार सुनझोडामा अन्त्येष्टि गरिएको छ । उनका एक मात्र छोरा अमेरिकामा छन् ।

‘देउमाइको किनारमा’ जस्तो नेपाली सिने क्षेत्रकै ‘माइल स्टोन’ चलचित्र दर्शकलाई सुम्पिएर सदा–सदाका लगि अमर भएर बिदा भएका छन् प्रेम सेर्मा ‘माङजाबुङगे’ ।

‘माङजाबुङगे’को निधनले नेपाली चलचित्र क्षेत्रमा एउटा इतिहासको अन्त्य भएको छ ।

सम्बन्धित खवर