‘नौले माइली’का दूई कविता - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘नौले माइली’का दूई कविता

  • सेन्छे एवाई ‘नौले माइली’

१, यसै गरि फुल्छु म

यसै गरि फुल्छु म
यसरी नै
जसरी फुल्छौ तिमी
सबको हृदयको
मीठो मुस्कान बनी
सबको ओँठमा लाली छर्दै

त्यसैगरि
जसरी
कैयौं चोट भुल्ने गर्छौ
सयौं मन्दिरमा भुल्ने गर्छौ
दुनियाको सामु खुल्ने गर्छौ
रुचाउदैन कोहि तिमी भन्दा पर सर्न

जहाँ तिम्रो मुस्कान छरपस्ट देखिन्छ
त्यहीँ न्यानो अनुभूति भेटिन्छ
कसैले पनि चुकाउदैन तिमीलाई झुम्न
अनि तिमी सङ्ग सङ्गै तिम्रै लयमा घुम्न

सधै
सुमधुर मुस्कान छाड्दै
भरपुर खुसी बाँड्दै
निरन्तर निरन्तर
हार्दिकता टक्र्र्याउदै
हाँसिरहने
निस्कपट
सांसारकै सुन्दर
प्रकृतिको देन हौ तिमी
सबको हृदयमा झर झर बले झैं

जसरी फुल्छौ तिमी
त्यसैगरी फुल्छु म
सबको मन मन्दिरमा
चम्किलो ज्योति बनि ।

२, मालिकको जुत्ता

मालिकको जुत्ता पोतिरहदा
मेरो मनमा अनेक कुरा खेलिन्छन
र म एकैछिन सोच्मग्न हुन्छु

किन मान्छेको सोचाई
जुत्ताको जत्ती पनि स्तरिय हुँदैन

मेरो मालिकको जस्तो दामी जुत्ता
अरु कसैले पनि लाउन पाउदैँन
मालिकले जस्तो टिलिक्क टल्काएर
अरु कसैले पनि लाउन जान्दैन
सधैं टिलिक्क टल्कने जुत्ता लाई
एक दिन
मैले त्यसो गरि टल्काउन नसक्दा
म माथी कोर्रा मार्छन मालिक साहाब

तै पनि
म सहिरहन्छु
मालिकको हिलाम्मे जुत्तालाई
कहिले घिन मानिन
जुत्तालाई हातले समायेर
काखमा अड्याउदै
केश्रा सेश्रा बनायेर सफा गरिरहे

मालिकले टेकेर ल्याएको सर्वसाधारणको रगत
मालिकले टेकेर ल्याएको मजदुरको पसिना
मालिकले टेकेर ल्याएको तरुनीको यौवन
र मालिकले सधैं टेकिरहेको आफ्नै मर्यादा
मैले कालो पोलिसले छोपिदिए पछी
एक टक मुसुक्क मुस्कुराउछन मालिक

म अबुझ बन्छु
सोधिन मालिक किन मुस्कुराउनुभो ?
र मालिक लाई किन मन पर्दैन
आफ्नै जुत्तामा टाँसिएको छिरबिरे दाग

जुत्ता फुकालेपछी
त्यस भन्दा धेरै टाढा सरेर बस्नुहुन्छ
ताकी नसोधोस कसैले
जुत्तामा केको दाग लाग्यो मालिक
र कसैलाई थाहा हुदैन
मालिकको जुत्ताको छिरबिरे दाग

अ:हो !

कत्ती इमानी मालिकको जुत्ता
आफू फोहोरी भएर पनि
मेरो मालिक लाई जोगाइरहन्छ
रत आज सम्म बाँचिरहेछ मालिकको
इमान, इज्ज्त र प्रतिष्ठा

मालिकको जुत्ता टल्काउदा टल्काउदै
अब त जुत्ता नै ठम्याउन नसक्नेगरी
मेरो अँखा कुनै ओडार झै पर गाडिसके
मैले झारेको जुत्ताको दाग
मै माथी टासियेर
हात खुट्टा खक्रक पारिसके
आफुलाई नै बिर्सनेगरी
चाउरिएछ मेरो अनुहार
तर मालिक त अझै पनि
उस्तै झर झर जवानै देख्छु

आहा !
मालिक जस्तै टल्कने जुत्ता
मालिक सगं सगैं महल भित्र पस्न पाउछ
जहाँ त्यो जुत्ता टल्काउने
म कहिले पस्न पायिन र पाउदिन

तर
अब
सावधान रहनुहोस मालिक साहब
मलाई बर्षौ पछि आज
हजुरको जुत्ताको छिरबिरे दागको झटारोले
हजुरकै अनुहारमा हान्ने
ठूलो इच्छा जागेर आएको छ ।

माङसेबुङ–५, इलाम

सम्बन्धित खवर