निशुल्क बृहत स्वास्थ्य शिविर यासोकमा सम्पन्न, ३ हजार भन्दा बढि बिरामीले पाए उपचार - Mangsebung News
  • शुक्रबार, जेठ १५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निशुल्क बृहत स्वास्थ्य शिविर यासोकमा सम्पन्न, ३ हजार भन्दा बढि बिरामीले पाए उपचार

  • पदम सुखी सम्बाहाम्फे

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जेठ १३ र १४ गते सन्चालित निशुल्क बृहत स्वास्थ्य शिविर बिहिवार सम्पन्न भएको छ ।

पुर्वी पृतना हे. क्वा. को महा निर्देशन श्री न. २१ बाहिनी अड्डाको पहल, बिरदल गणको आयोजना, सैनिक अस्पताल इटहरीको सङ्युक्त सहभागिता तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापन र कुम्मायक आधारभूत अस्पतालको समन्वयमा निशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन भएको थियो ।

१५ सैया कुम्मायक आधारभूत अस्पतालमा दूई दिन सम्म सन्चालित शिविरमा ३ हजार २ सय ३४ जना विभिन्न रोग लागेका बिरामीले निशुल्क उपचार र आवस्यक डाक्टरको परामर्श पाएका थिए । सामान्य चिकित्सक सेवा तथा विशेषज्ञ सेवा अन्तर्गत सर्जरी, बालरोग, स्त्री रोग, छाला तथा यौन रोग, हाडजोर्नी, सुगर, प्रेसर, क्यान्सर, मुटु रोगी, नाक, कान, घाटी, हाडजोर्नी, वाथ रोग, युरिकएसिड जस्ता रोग र आँखा, महिनावारी गडबडी बाँझोपन लगायत शरीरमा हुने विभिन्न किसिमका रोगिको रोग प्रारम्भिक पहिचान गरि निशुल्क उपचार तथा सेवा प्रदान गरिएको थियो ।

शिविरमा वालक एक सय ६१ जना, वयस्क ८ सय ९१ जना, बृद्धअवश्थाका ४ सय २६ जना, महिला ९ सय १० र पुरुष ५ सय ६८ जना बिरामीले उपचार पाएको सैनिक अस्पताल इटहरीका प्राविधिक महा सेनानी अनिलकुमार सिंह डङ्गोलले बताए । यसैगरी प्याथलोजी तर्फ एक सय ६९, नाक, कान, घाटी र एलर्जी विभागमा एक सय ८० जना, दन्त सेवामा एक सय ७० जना, छाला रोगका एक सय ७५ जना, आँखा सेवामा ३ सय ८० जना, औषधि प्रयोग कर्ता ६ सय २२ जना, हाडजोर्नी सम्बन्धि समस्यामा ७ सय ९८ जना, सर्जरी तर्फ एक सय ३५ जना, मानसिक रोग तर्फ ४५ जना, रेडियोलोजी अल्ट्रासाउन्डमा एक सय ७१ जना, बालरोग विशेषज्ञ तर्फ ७४ जना र स्त्रीरोग विशेषज्ञ तर्फमा २ सय ५० जना बिरामी सेवाग्राहीले सेवा पाएको पनि डङ्गोलले बताए ।

२० जना भन्दा बढी दक्ष डाक्टरहरुद्वारा माइनर ओ टि सेवा, सिष्ट लाइपोमा, भिडियो एक्स रे इसिजी प्रयोग शाला, निशुल्क औषधि बितरण र परामर्श दिइएको शिविरमा आखाका रोगी र पुरुष भन्दा महिला रोगीको सङ्ख्या बढी भएको तथ्यांकमा रहेको बताइयो । बिहान ७ बजे देखि साँझ ५ बजे सम्म सन्चालन भएको शिविरमा नेपाली सेनाले जिल्ला रेडक्रस सोसाइटी र शाखा यासोक रेडक्रस तथा नगरपालिका गाउँपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीहरु सङ्ग समन्वयकारी भुमिकामा शिविर सन्चालन गरेको भएता पनि नतिजामुखी हुन नसकेको नागरिकको गुनासो छ । आवस्यक उपकरणको अभाव अनि शिविरको समयावधि छोटो हुनाले कैंयौ रोग पालेर बसेका बिरामीको उपचार हुन नसकेको गुनासो छ ।

फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्ल,े हिलिहाहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, श्री न, २१ बाहिनीपति झलेन्द्र भट्टराई, विरदल गणका गणपति प्रमुख सेनानी किशोर अधिकारी र कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल, कुम्मायक स्वास्थ्य शाखा प्रमुख केदार खड्का, जनप्रतिनिधि सुरक्षाकर्मीहरुको उपस्थिति र पुर्वी पृतनापति उपरथी गौरव कुमार केसीको अध्यक्षतामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम समापन भएको थियो ।

सम्बन्धित खवर