माङसेबुङमा ‘लिम्बू’ भाषा सरकारी कामकाजी भाषा कार्यान्वयनमा - Mangsebung News
  • मङ्गलबार, जेठ २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा ‘लिम्बू’ भाषा सरकारी कामकाजी भाषा कार्यान्वयनमा

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजीको भाषाका रूपमा कार्यान्वयनमा आएको छ ।

जेठ १२ गते एक कार्यक्रम गरी गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याइएको घोषणा गरेको थियो । प्रदेश १ प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष हेमन्त राईले उक्त घोषणा गर्नुभएको थियो ।

नेपालको संविधान धारा ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा घोषणा गरिएको हो । संविधानको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारलाई प्रयोग गर्दै लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा घोषणा गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले नेपाल विभिन्न जाति, भाषा, संस्कृति भएको देशमा भएको विविधिता देशको सम्पत्ति रहेको बताउनुभयो। उहाँले सबै समुदायको भाषा, संस्कृति, लिपिले समानुपातिक रुपमा संरक्षण र सम्मान पायो भने मात्र राष्ट्रिय पहिचान बलियो हुने विचार राखुभयो ।

२०८३ वैशाख ११ गतेको ६६ औं कार्यपालिका बैठकले ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ ले २०७५ मङ्सिर १३ गतेदेखि ‘लिम्बू भाषा’लाई वडाको कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइसकेको थियो ।

अब गाउँपालिका अन्तर्गतका वडा कार्यालय तथा अन्य सरकारी कार्यालयमा प्रयोग हुने बोर्ड, लेटरप्याड, फाराम लगायतका सामग्रीमा नेपाली भाषासँगै लिम्बू भाषा तथा किरात सिरिजङ्गा लिपि प्रयोग हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर