सन्दीप आबद्ध दिल्लीमाथी पन्जाबको शानदार जीत - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दीप आबद्ध दिल्लीमाथी पन्जाबको शानदार जीत


एजेन्सी । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्स माथी किङ्स इलाभेन पन्जाबले शानदार जीत निकालेको छ ।

युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए । यस्तै क्रिस गेलले २९ रन, कप्तान केएल राहुलले १५ रन र जेम्स निशम १० रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १ र १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् ।

धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको कीर्तिमान समेत बनाए । धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् । यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४ र १४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए ।

पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल, जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए ।

यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।

दिल्लीको यो तेस्रो हार भए पनि शीर्ष स्थानमा यथावत रहेको छ । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ ।

सम्बन्धित खवर