राष्ट्रिय जनगणनामा किरात धर्म लेख्न, लेखाउन महासमितिको अपिल - Mangsebung News
  • बुधबार, माघ १४, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनगणनामा किरात धर्म लेख्न, लेखाउन महासमितिको अपिल

माङसेबुङ । किरात धार्मिक तथा सामाजिक संघसंस्थाको साझा संगठन किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले ‘राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा ‘किरात धर्म’ लेख्न, लेखाउन अपिल गरेको छ ।

किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले जातजाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मको महलमा लेख्नुपर्ने विषय उल्लेख गरी अपिल पत्र सार्वजनिक गरेको हो ।

महा समितिले धर्मको महलमा किरात धर्म, जात जातिको महलमा आआफ्नो जाति (जस्तै ः राई, याख्खा, सुनुवार, थामी, जिरेल, सुरेल, धिमाल, लिम्बू, मगर, गुरुङ, थारु, हायु, तामाङ, शेर्पा, लेप्चा, छन्त्याल, थकाली, राजवंशी, सन्थाल, बराम, नेवार, थारु, मेचे, कोचे, बाहुन, क्षेत्री, कामी, दमाई, सार्की, शाह, आदि), पूर्खाको भाषामा आआफ्नो भाषा, मातृभाषामा आआफ्नो मातृभाषा र दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न, लेखाउन समेत अपिल गरेको छ ।

किरात धर्म दर्शन र किरात समुदायको विषयमा महासमितिद्धारा जारी अपील पत्रमा लेखिएको छ, ‘नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । किरातीहरु नेपालका आदिमवासीहरु हुन् । किरातीहरुको बेगल र विशिष्ठ धार्मिक, भाषिक र सांस्कृतिक परम्परा रहेको छ । किरातीहरुले प्राचीन कालदेखि आफ्नो मूल बृत्ति, प्रवृत्ति र सदाचार अपनाएर आफ्नो खास मार्ग रेखाङ्कन गरेर ल्याएका छन् । किरात समुदायले युगयुगदेखि अपनाएर ल्याएको मार्ग नै किरात धर्म हो ।’

किरात धर्मको विशेषताको सवालमा समेत प्रष्ट पार्दै अपील पत्रमा उल्लेख गरिएको छ, ‘विभिन्न धार्मिक अनुष्ठान, परम्परा र विश्वासको सामुहिक पहिचान हो, किरात धर्म । किरात धर्ममा मूलतः प्रकृति पूजा, पितृ पूजा, सत्मार्ग, समानता मूल वृत्ति र प्रवृत्ति हुन् । प्राकृतिक शक्तिप्रति अटुट श्रद्धा र विश्वास राख्नु, माङको शक्तिमा विश्वास गर्नु, फक्ताङलुङ, चोमोलुङ, मुक्कुमलुङ, माङहिम र मुन्धुम आदिलाई पवित्र ठान्नु, सेवा पूजा जस्ता उपासनाका माध्यमहरु अंगाल्नु, लोक र अदृश्यलोकबीचको सम्बन्ध र तिनलाई नियमित गर्न संस्कार विकास गर्नु आदि किरात धर्मको मुख्य विशेषता हुन् ।’

राष्ट्रिय जनगणनामा २०६८ मा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र किरात सुनुवार समाजको पहलमा ८,०७,१६९ जनाले किरात धर्म लेखाएको र यसले आदिमकालदेखि नेपालमा बसोबास गरिरहेको किरातहरुको धार्मिक पहिचान स्थापित भएको महासमितिद्धारा सार्वजनिक अपील पत्रमा उल्लेख गरिएको छ ।

किरात धर्मदर्शन नेपालको रैथाने र मुख्य धर्मको रुपमा स्थापित रहेको भन्दै महासमितिले किरात धर्मलाई मुलुकको एक रैथाने र मुख्य धर्मको रुपमा स्थापित गरेको थियो । किरात धर्मले किरात जाति र किरात धर्म मुहिङगुम अङसीमाङहरुले दिनुभएको प्रकृतिपूजा, मानवता, समानता, शान्ति र अहिंसा जस्ता दर्शनमा आवद्ध धर्मावलम्बीहरुलाई जोडेको जनाएको छ ।

किरात हुनुको गर्व किरात धर्म, महान किरात धर्मलाई कहिल्यै नभूलौं भन्ने मूल नाराका साथ देश व्यापी राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म लेखौं, लेखाऔं भन्ने अभियानलाई व्यापक र सशक्त ढंगले सञ्चालन गर्न गठन भएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले मातहत संगठन निर्माण र विभिन्न प्रचार प्रसार सामग्रीहरु तयारी गरिरहेको महासमितिका अध्यक्ष केहेरसिं योङहाङको भनाई छ ।

यसअघि किरात समुदायका ८ वटा जातीय संस्थाहरु हायु, जिरेल, सुरेल, थामी, याक्खा, सुनुवार, लिम्बू र राई जातिले किरात समन्वय समितिमार्फत आगामी जनगणनामा धर्मको महलमा किरात लेख्ने घोषणा गरेका थिए । उनीहरुले आआफ्नो समुदाय र क्षेत्रमा जनगणना सम्बन्धी अभियान चलाउने बताएका छन् ।

त्यसैगरी किरात समुदायका चार वटा विद्यार्थी संगठनहरु किरात राई विद्यार्थी संघ, सुनुवार विद्यार्थी समाज, लिम्बु विद्यार्थी मञ्च र किरात याक्खा विद्यार्थी संघलाई मिलाएर किरात विद्यार्थी समन्वय समिति गठन गरी जनगणना सम्बन्धी जनजागरणका कार्यक्रमहरु सुरु गरेको जनाएको छ ।

सम्बन्धित खवर