महागुरु फाल्गुनन्दको उपदेशको गहँनतालाई बुझ्न सकौं - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्दको उपदेशको गहँनतालाई बुझ्न सकौं

  • रमेश तुम्बापो ‘हाङसाम’

महागुरु फाल्गुनन्दको एक मात्र उद्देश्य मानव समाजमा सत्यका सामाज्य स्थापना गर्नु थियो भन्ने कुरा उहाँको सिवाखाहुन, उपदेश तथा उनका जीवनकालमा घटेका घट्नाहरुको अध्ययन्बाट स्पष्ट हुन्छ । वि. स. १९८८ साल बैशाख २४ गतेको वृहत किरात चुम्लुङ भन्दा पनि अझ् वृहत चुम्लुङ सोही सालको मंसिर महिनाको २४ गते बुधबारको दिन सोही स्थान (लब्रेकुटी) मा नै सम्पन्न भएको थियो ।

उक्त चुम्लुङमा चारखोला, पान्थर, छथर, फेदाप मेयङलुङ, ताप्लेजुङबाट जम्मा ९२ जनाले सहभागिता जनाएको थियो । यो चुम्लुङमा लिम्बू जाति इतर पान्थर रविका राई जातिका साधु सन्तहरुको उल्लेख्य सहभागिता रहेको थियो । यो ऐतिहासिक चुम्लुङको ८ महिना अगाडि निर्माण भएको सत्यधर्म मुचुल्काको बुँदाहरुलाई नै टेकेर थप परिमार्जनको प्रयास गरेको थियो । चुम्लुङ समापन भएपछि साँझ आफ्ना प्रतिष्ठित चेला पान्थर यासोक भदौरेका सुब्बा शेरबहादुर लावती र फेदाप मेयङलुङका सुब्बा काजीमान तुम्बाहाङफेहरुलाई नाम तोकेर यसरी प्रश्न गर्नु भएको थियो । ए… शेरबहादुर, काजीमान ! म को हुँ ? म के चाहान्छु ? म किन आएँ ? महागुरुको यस्तो प्रश्नको उत्तर तत्काल दिन नसकेपछि भोलिमात्र भन्छौं गुरु भनि शेरबहादुर र काजीमानले विन्ति गरे । चेलाहरुको बिन्ति सुनेपछि ए…. सपनामा विचार गर्छौं त ? भनेर महागुरु हाँस्नु भयो । रातभर चेलाहरुको ठूलो समूहमा यस विषयमा केन्द्रित रहेर विशेष छलफल भयो तर निष्कर्ष आएनन् ।

अन्ततः सुब्बा शेरबहादुर र काजीमान दुई जना मात्र बसेर गम्भिर छलफल भयो । विहान उज्यालो भयो । पुनः महागुरुले प्रश्न गर्नु भयो । सपनामा के पायौ त ? दुवै जनाले हात जोडेर एकै स्वरमा भने–गुरु ! हजुर सत्य बोल्ने, सत्य कर्म गर्ने, सत्य भोजन गर्ने, सत्य आहार, विहार गर्ने हुनाले हामीले तपाईलाई निस्सेहाङमा अर्थातः सत्यहाङमा भनेर चिन्छौं । म के चाहान्छु त ? सत्कर्म गर्न, गराउँन चाहानुहुन्छ । त्यसो भए म के गर्न आए त ? संसारको असत, (पाप) कर्म हरण गरी सत्य धर्मको राज्य महिमा फैल्याउन आउँनु भएको हो । त्यसो हो भने, आजदेखि तिमीहरु सत्यको मार्गमा हिड्छौ त ।

हिड्छौं गुरु उपरोक्त गुरुचेलाबीचको सवाल जवाफले महागुरु फाल्गुनन्दको जन्म अवतरण किन र के का लागि भन्ने कुरो स्वत स्पष्ट हुन्छ । वि. स. १९९४ सालमा फक्ताङलुङको फेदी चोगम्बा भन्ने स्थानमा एउटा धर्मशाला भवनका साथै पारुङमारुङ माङहिम निर्माण गर्नु भएको थियो । उक्त धर्मशाला भवन निर्माणका लागि तत्कालीन राजगुरु पण्डित दिपराज उपाध्यले पनि रु. १००÷– एक सय रुपैयाँ पठाउनु भएको थियो । तर राजगुरुले पठाएको १००÷– मध्ये रु. २०÷– मात्र खर्च गरी बाँकी ८०÷– रुपैयाँ फिर्ता गरी पठाउनु भयो । यस घट्नाले वहाँको महान निस्वार्थ भावना र आर्थिक मोह सून्यतालाई स्पष्ट पारेको छ । श्रद्धेय गुरुको यस्तो व्यवहारले पाए भन्दैमा आवश्यकता भन्दा बढी लोभ नगर भन्ने सन्देश दिएको स्पष्ट हुन्छ ।

उदाहारणको लागि उनै महागुरु फाल्गुनन्दका विचार दर्शन बोक्ने संघ–संस्थाका उपल्लो तहका नेतृत्वले कुनै योजना सम्पन्न गर्न कुनै पनि व्यक्ति, संस्थाहरुबाट रु एक लाख प्राप्त गर्छ र विस हजार प्रयोग गर्दा योजना सम्पन्न हुन्छ भने बाँकी असी हजार रुपैयाँ के गर्छ होला । सबैले एकै स्वरमा बिना संकोच भन्न सक्छ घर बनाउँछ, गाडी किन्छ, आम महागुरुका अनुयायीहरु यस्तो स्थितिको अन्त्य होस भन्न चाहान्छु । महागुरु फाल्गुनन्दको त्यस्तो आदर्शयुक्त व्यवहारबाट नेतृत्वले केही पनि सिक्नु पर्दैन ? सत्यको साम्राज्य स्थापना गर्न महागुरु फाल्गुनन्द नेपाल, भारत, भूटानको कुना कन्दरासम्म चप्पलसम्म नटेकी खाली खुट्टा टेक्दै अहोरात्र खट्नु भयो ।

उनको समयमा इतिहासकै कुरुप क्रुर निरंकुश राणा शासन व्यवस्था कायम थियो । जतिबेला कानुनत मृत्युदण्डको व्यवस्था यिथो । त्यस्तो अवस्थमा ५÷५ पटकसम्म पक्राउ पर्नु भयो । वि. स. १९९३ सालमा ३ जना राजगुरुहरुको नेतृत्वमा २१ जनाको टोली महागुरु फाल्गुनन्दलाई पक्राउ गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाको काबेलीमा आई पुग्यो । तिनीहरुले ५ दिनसम्म महागुरुको गतिविधिहरु गोप्य रुपमा अध्ययन गरेपछि महागुरुलाई निर्दोष ठहर गरेर पक्राऊ नगरी त्यसै फर्किने निधो गर्दा समेत महागुरु आफैले मलाई नलगि जानु भयो भने तपाई राजगुरुहरुलाई पनि श्री ३ र श्री ५ ले अप्ठ्यारो पार्न सक्छ ।

त्यसकारण मलाई लगेर जानुहोस । श्री ३ र ५ लाई उहीँ पुगेर चित्त बुझाई दिनेछु भनि जेल जान आफै तयार हुने कति निर्भिक र कति महान सोचका प्रतिमुर्ति हुनुहुन्थ्यो होला महागुरु ! अरुलाई परेको अप्ठ्यारो आफ्नै अप्ठ्यारो ठानेर काबेलीदेखि काठमाण्डौसम्म खाली खुट्टा हिडेरै जान तयार हुने । कति उच्चकोटिको मानवीय व्यवहारको नमूना थियो त्यो । काबेलीदेखि काठमाण्डौ, काठमाण्डौदेखि काबेलीसम्म ओहोरदोहोर खाली खुट्टा पैदल गर्दा कति दिन वितेको थियो होला ! आफ्ना श्रद्धेय गुरुबाट प्रदर्शित यी व्यवहारबाट नेतृत्वमा आसिन व्यक्तित्वहरुले धेरै कुरा सिक्नु आवश्यक छ ।

आज एउटा समाजको हिस्साले महागुरु फाल्गुनन्दलाई सानो लगानीमा ठूलो मुनाफा दिने उद्योगको रुपमा प्रयोग गर्दै आएको छ । उसलाई महागुरुको तस्वीर कसले कहिले कहाँ खिचेको थियो भन्ने कुरा थाहा पत्तो केही नभए पनि यसबाट उसले प्रत्यक्ष रुपमा लाभ प्राप्त गर्दै आएको छ । यी त सबै भौतिक बस्तुहरु हुन् । जो नाशवान छन् । प्राप्तीको लागि शुल्क पनि तिर्नुपर्छ । तर यी भौतिक बस्तुहरु भन्दा कैयौ गुणाले मुल्यवान उहाँका सिवाखाहुन उपदेश निःशुल्क प्राप्त भए पनि त्यसलाई ग्रहण गरेर त्यसबाट अविनाशी आत्मिक लाभ लिने तर्फ कसैको ध्यान गएको देखिन्दैन । यो आफैमा सोचनीय स्थिति हो । यसको मूल कारण नेतृत्वले महागुरुको महानता र गहँनतालाई बोध गर्न र गराउँन नसक्नु हो । एउटा परमार्थ सत्य कुरा के पनि हो भने, महागुरु फाल्गुनन्दका अनुयायी वृत्तमा अरुको आफ्नै साथीको शिकायत गरेर आफू हितैसी बन्ने शिकायतको व्यापार निकै फस्टाएर गएको छ । यसले स्वयम महागुरु फाल्गुनन्दको ुआजदेखि तिमीहरुलाई एउटै भाँडामा पाकेको भान्सा खाने एउटै परिवार बनाएँ है भन्नु भएको उपदेशको उपहास गरेको छ । शिकायत गर्ने प्रवृत्तिले मानव–मानवलाई जोड्ने प्रेम र सद्भावको बन्धनलाई चुडाल्ने काम गर्छ । यसबाट एकतामा धोका पुग्न जान्छ यो अर्को सोचनीय विषय हो । सत्य निष्ठाको प्रतीक निधारमा सेतो टिका, गालामा अध्याधिक साधनाको प्रतिक जपमाला अनि छातिभरी महापुरुषहरुको तस्वीर चित्राङ्कित लकेट टाँसेर कसैको सिकायत गर्नु आफैमा सुहाउँदिलो कुरा हुन सक्दैन । हुन त जुन बस्तुले बजारमा मूल्य पाउँछ, व्यापारीहरु त्यसैको खरिद विक्रीमा लाग्नु स्वभाविकै हो ।

तर महागुरुका अनुयायीहरु सत्यको साधक बन्नु पर्छ । शिकायतका व्यापारी बन्नु हँुदैन । यसले संगठनको जीवनमा नोक्सान बाहेक अरु केही परिणाम दिन सक्दैन । महागुरुको उपदेशले केही कतै कसैको शिकायत गर्ने अनुमति दिएको छैन् । हामी कहाँ अर्को विचारणीय पन्त के छ भने–हामीसँग दुनियाँको कमी कमजोरी देख्ने आँखा मात्र खुलेको छ । आफ्नै कमी कमजोरी देख्ने आँखा अद्यपि खुल्न सकेको छैन् । त्यसैकारण अरुको जीऊमा हिडेको जुम्रा देख्यौं, आफ्नो जिऊमा हात्ति हिडेको पनि देखेनौं । अब आन्तरिक आँखा खोलेर आफैले आफूलाई हेर्न ढिलो गर्नु हुन्न । किनकि आफूले आफैलाई नबुझी अरुलाई कदापि बुझ्न सकिन्न । आफूले आफैलाई नहेरी अरुलाई चिन्न पनि सकिन्न । विचारणीय विषय यो पनि छ कि, हामीलाई आफैमा अरु कसैको आचरण, व्यवहार, स्वभाव प्रति टिकाटिप्पणी गर्नमा माहिर छौं । तर, आफ्नो आचरण व्यवहार प्रति कसैले टिप्पणी ग¥यो भने हाम्रा लागि त्यो सह्य हुन सक्दैन । यस्ता प्रवृत्तिहरुले सांगठनिक जीवनलाई बलियो बनाउँनको सट्टा दुर्बल नै बनाउँनेछ, भइरहेको यथार्थ पनि यहीँ नै हो । यस्ता प्रवृत्तिहरुलाई त्याग वा सुधार नगर्ने हो भने, हाम्रो साझा यात्रा अतिवाद, अन्धबाद हुँदै बर्वाद तिर मोडिन्दैन भन्न सकिन्दैन । भगवान बुद्धले भन्नु भएको छ, आँखा नभएको अन्धाले सही गन्तव्यमा पु¥याउँदैन ।

महागुरु फाल्गुन्दले संसार परिवर्तन गर्ने मुलत ३ वटा अश्त्रहरु दिनु भएको छ । १. सत्य, २. अहिंसा, ३. माङसेवा । यी अश्त्रहरु कुशलतापूर्वक चलाउने क्षमता राख्यौ भने सत्यको साम्राज्य स्थापना गर्न सक्छौं भन्ने उहाँको उपदेशको सार हो । उनको उपदेशले भन्ने गर्छ सत्यको साम्राप्य वाह्य लोकमा भन्दा पहिला तिमी आफै भित्र स्थापना गर र सत्यलाई शासन गर्न देऊ । के हामी सत्यद्धारा शासित हुन तयार छौं । तिनै महागुरुको विचार दर्शन बोक्ने संघ संस्थाहरुको नेतृत्व वर्ग नै लोभ, मोह, स्थार्थ, अहंकारबाट शासित भइरहेको घाम जतिकै छर्लङ देखिन्दै छ भने, सर्वसाधारण भक्तहरुको अवस्थ के होला । अहिंसाको परिभाषा र व्याख्या केवल काटमार गर्नमा मात्र सिमित छैन, चोरी, ठगी, जालझेल, छलपकट, ढाउपेच, षडयन्त्र, भ्रष्टचार, व्याभिचार, अहंकार आदि सबै हिंसात्मक कार्यहरु हुन् । त्यसैगरी माङसेवाको परिभाषा र व्याख्या पनि व्यापक छ । बेसाहारा, अनाथ, दीन दुःखी, गरिब अन्यायमा परेकाहरुलाई साथ सहयोग गर्नु देखि निस्वार्थ भावले जपतप, ध्यान, तपस्या, पूजापाठ गर्नु माङसेवा हो ।

माङसेवाले समाजमा प्रेम, सदभावको भावना जागृत गर्छ । मुन्धुममा यसैलाई माङलाक पोक्मा भन्ने गरिन्छ । पराईको सेवाबाट आफूलाई शान्त र आनन्द प्राप्त हुन्छ भने यसले अहिंसालाई महत्वपूर्ण बल प्रदान गर्छ । हाम्रो अग्रज नेतृत्वमा आसिन व्यक्तित्वहरुले महागुरुले देखाउनु भएको यी सुन्दर लोक कल्याणकारी बाटोहरु पहिलाउँन ढिलाई गर्नु हुन्न । सत्यको राज्यमा न त संविधान कानुन न त प्रहरी प्रशासन । न त अड्डा अदालत । सबै सत्तवादी भएपछि झै झगडा, मनमुटाव, चोरी, ठगी, षडयन्त्र, भ्रष्टचार, व्याभिचार, अपराधिको घट्नाहरु सुन्य नभए पनि न्युन भएर जान्छ । तसर्थ यी शीर्षकमा हुने खर्चलाई नविनतम खोज अन्वेषण तथा विकासमा प्रयोग ग¥यो भने संसारले सहजै मुहार फेर्न सक्छ । महागुरु फाल्गुनन्दको विचार दर्शनले यहीँ कुरालाई स्पष्ट संकेत गरेको छ ।

(लेखक मङसेबुङ मासिकका स्तम्भकार हुन्/प्रस्तुत लेख माङसेबुङ मासिकको पुस अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर