इलाम–२ उपनिर्वाचन : ‘मुढा’ले ठुला दललाई टेकाउला घुँडा ? - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम–२ उपनिर्वाचन : ‘मुढा’ले ठुला दललाई टेकाउला घुँडा ?

बैशाक १०, इलाम । अबको ५ दिनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम–२ मा उम्मेदवारहरूको प्रचारप्रसार तीव्र बनेको छ । प्रचारप्रसारका लागि अब २ दिनमात्रै बाँकी छ ।

विगत २५ वर्षदेखि एकछत्र जितेको एमाले र निरन्तर प्रतिस्पर्धामा रहेर पनि जित्न नपाएको कांग्रेसको जग यस पटक स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले हल्लाइरहेका छन् ।

यो उपनिर्वाचनमा १२ दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । इलाम–२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको चुनावी माहौल नियाल्दा मुख्य प्रतिस्पर्धा चार जनाबिच हुने देखिन्छ । नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको चर्चा नागरिक तहमा बढ्ता छ ।

कोशी प्रदेश नामकरण पछि स्थापना भएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिको साझा उम्मेदवारका रूपमा थेगिम चुनाव मैदानमा छन् । उनलाई विभिन्न ४१ वटा जनजातिसँग सम्बन्धित सङ्घसंस्थाले सहयोग गरिरहेका छन् । जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी लगायतको पनि उनलाई समर्थन छ ।

माङसेबुङमा वडाध्यक्ष जितेको जनमुक्ति पार्टी र चुलाचुलीमा वडाध्यक्ष जितेको सङ्घीय लिम्बुवानले इलाम–२ मा आफ्ना उम्मेदवार उठाएका छैनन् । दुवै दलले थेगिमलाई साथ दिएका छन् । माङसेबुङको उपाध्यक्षसमेत जितेको र क्षेत्रमा राम्रै मत रहेको उपेन्द्र यादव नेतृत्वको जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि थेगिमलाई साथ दिएको छ ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनलाई आधार मान्ने हो भने इलाम–२ मा थेगिमलाई समर्थन गर्ने दलहरूको समानुपातिकतर्फ करिब ४ हजार मत छ । थेगिमको आक्रामक प्रचारमा चुनाव चिह्न ‘मुढा’लाई अत्यधिक ब्राण्डिङ गरिएको छ । तुल, ब्यानरदेखि स्टेजका कार्यक्रमसम्ममा सक्कली मुढा झुण्ड्याइएको छ ।

निर्वाचन क्षेत्रका हरेक गाउँ, टोल, चोक, बजारदेखि सडकका डिलहरूमा पनि ‘मुढा’ चिह्न अङ्कित झण्डा छ्याप्छ्याप्ती बनाइएको छ । जसका कारण थेगिमलाई कांग्रेस, एमालेले मात्रै होइन, नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पनि ‘थ्रेट’का रूपमा लिइएको छ ।

थेगिमको चुनावी अगुवाहरूमा आत्मविश्वास र ऊर्जा देखिन्छ । उनीहरूको भाषण आक्रामक र विद्रोही छ । आन्दोलनकै झल्को दिने गरी पहिचानको मुद्दालाई सशक्त पारिएको छ । आदिवासी र मूलवासीहरूको आत्मसम्मानमा चोट पारिएको उनीहरूको तर्क छ । हरेक कार्यक्रममा पहिचानको आन्दोलनमा सहिद भएकाहरूको नाम लिइन्छ र राज्यविरुद्ध विद्रोही आवाज मुखरित गर्ने गरिएको छ । उनलाई सहयोग गर्न १४ वटै जिल्लाका पहिचानवादीहरू खटिएका छन् ।

विगतमा पहिचान पक्षधर लिम्बुहरू कहिल्यै मिल्दैनथे । यसपालि मिलेर उनीहरूले थेगिमलाई साझा उम्मेदवार उठाएका छन् । उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चुनावी मोर्चामा साथ दिएका छन् ।

हेभेनलीपथ लगायत इलाममा रहेका सबै धर्मावलम्बीहरूले पहिचान पक्षधर थेगिमलाई सघाउने सम्भावना बढी छ । इलाम जिल्ला पहिचानको आन्दोलनको रापतापमा रहेकाले सङ्घीयता र प्रदेशको अधिकारप्रति रास्वपाको कमजोर प्रतिवद्धताले थेगिमलाई फाइदा देखिन्छ । इलाम–२ मा राई, लिम्बु मतदाताको उल्लेख्य उपस्थिति छ । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खाजस्ता संस्थाले सघाए इलाम–२ ले स्वतन्त्र उम्मेदवार थेगिमलाई अनुमोदन गर्न सक्छ ।

मतदाता तान्न कलाकारहरू उत्तिकै प्रयोग गरिएको छ । कार्यक्रमहरूमा कलाकारको प्रस्तुति र जनजाति संस्कृति झल्किने पोसाक अनिवार्यजस्तै देखिन्छ । पहिचान आन्दोलनका लागि युवा दस्ताको मार्चपास नियमित जस्तै हुन्छ । थेगिमको चुनावी अभियानमा सक्रिय भवीराज लिम्बू भन्छन्, ‘हाम्रो आक्रामक अभियानले एमाले र कांग्रेसको १४ हजार मत हल्लिएको छ । त्यो मत हामीले कन्ट्रोल गर्न सक्यौँ भने हामी जित्छौँ ।’

लिम्बुवान आन्दोलनका एक अगुवा तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनका अनुसार ४२ वटै वडामा पहिचानका लागि युवा दस्ता तयार गरिएको छ । ‘हामीले ४२ वटै वडामा पहिचानका लागि युवा दस्ता तयार पारेका छौँ । इलाम नगरपालिकामा अलिक कमजोर जस्तो देखिन्छ । त्यसलाई हामी गाउँबाट ओभरल्याप गर्छौं,’ उनले भने ।

‘मुढा’ले माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिकालाई आधार क्षेत्रको रूपमा लिएको छ ।

लिङ्देनले समाजमा समुदायगत ध्रुवीकरण भइरहेको बताए । जनजाति समुदायको प्रतिष्ठा भएकाले झण्डा एमाले र कांग्रेसको बोके पनि भोट मुढामा दिने उनको विश्वास छ । ‘यो आम जनजाति समुदायको प्रतिष्ठाको विषय हो । पार्टीमा जताजता रहे पनि भोट हामीलाई आउने विश्वास छ । कांग्रेसको र एमालेको झण्डा गाडेका घरबाटै हामीलाई भोट आउँछ,’ उनी भन्छन् ।

लिङ्देनको विश्लेषणमा इलाममा एमालेभन्दा कांग्रेस सङ्गठित रूपमा आएको छ । ‘प्रतिपक्षीमा पुगेको हिसाबले पनि हुनसक्छ या एमालेबाट कमजोर उम्मेदवार भएकाले पनि हुनसक्छ । यहाँ एमालेभन्दा सङ्गठित कांग्रेस देखिन्छ,’ उनी भन्छन्, ‘हामीलाई कांग्रेसबाट भन्दा बढी एमाले मतदाताको मत आउने देखिन्छ ।’ उनले चुनावमा एमालेको लथालिङ्ग बनेको सङ्गठनको फाइदा उठाउने आफूहरूको तयारी रहेको बताए ।

थेगिम माइ नगरपालिकाको वडा नम्बर ७ मा भेट्दा मत माग्न दौडिरहेका थिए । त्यही क्रममा छोटो प्रतिक्रिया दिएका उनले आफ्ना लागि तीन चुनौती रहेको बताए । ‘समय अभाव र सङ्गठन नहुनु मेरा चुनौती हुन् । हाम्रो प्रचारप्रसारका लागि सङ्गठन छैन । अर्को चुनौती भनेको कतिपय मतदाताले पहिचानलाई जातीय राजनीतिको रूपमा बुझ्नु भएको छ । यसलाई मैले चिर्न सकेको छैन,’ उनले भने ।

यद्यपि उनले आफ्नो प्रतिस्पर्धीको रूपमा कांग्रेस, एमाले र रास्वपा तीनै पार्टीलाई लिएका छन् । ‘मतदाताको मनोविज्ञान हेर्दा यस पटक मत परिवर्तन गर्ने र हामीलाई दिने खालको देखिएको छ,’ उनले भने ।

थेगिमका लागि सांगठनिक संरचनाको अभाव, पहिचानको मुद्दालाई बनाइएको जातीय भाष्य चिर्न नसक्नु चुनौतीको रूपमा छ । थेगिमको चुनावी सभा तथा प्रचार प्रसारमा जनजाति अनुहार बाहेकको विश्वास जित्न नसकेको देखिन्छ । सभाहरूमा खस आर्यहरूको सहभागिता देखिँदैन । इलामको बजार क्षेत्रमा ‘मुढा’ले अझै प्रभाव विस्तार गर्न सकेको छैन ।

बजार क्षेत्रमा कांग्रेस–एमालेबाट असन्तुष्टहरूको भोट रास्वापालाई जाने चिन्तामा छन् थेगिम । यस्तै उनका लागि किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको मौनताले पनि समस्या पारेको छ । थेगिममाथि धार्मिक संस्थामा हुँदा आर्थिक हिनामिना गरेको आरोप छ । उनलाई उक्त चार्ज लगाएर साइजमा राख्ने विपक्षीहरूको दाउ देखिन्छ । उनी उम्मेदवार बन्ने परिस्थितिमा पनि यो विषयमा पहिचानवादीहरूले छलफल गरेका थिए । यद्यपि तत्कालका लागि केही नहुने कानुनीविद्को परामर्शपछि थेगिमले उम्मेदवारी दिएका थिए ।

इलामको फाकफोकथुम–३ आमचोकस्थित रातमाटे गाउँमा २०१८ साल जन्मिएका थेगिम पाको र बौद्धिक उम्मेदवार मानिन्छन् । दुई दशक अध्यापन र एक दशक स्रोत व्यक्तिका रूपमा विभिन्न विद्यालयमा काम गरेका उनी मतदातामाझ परिचित छन् । ०६३ देखि फाकफोक र गजुरमुखी स्रोतकेन्द्रमा स्रोत व्यक्तिका रूपमा काम गरेका उनी ०७२ सालमा सेवानिवृत्त भएका थिए । त्यसपछि थेगिम किरात धर्मको संस्था नालिफूवादेखि किरात धर्म साहित्य उत्थान समितिको विभिन्न तहको पदाधिकारी भएर काम गरे । उनी आफूलाई लारुम्बाका किरात धर्मगुरु आत्मनन्द लिङ्देनको चेला भन्न रुचाउँछन् ।

माङ्सेबुङ गाउँपालिका–५ को लारुम्बामा धर्मगुरुको ठुलो प्रभाव छ । त्यहाँको २ हजार ७ मत धर्मगुरु लिङ्देनको इशारामा चलायमान हुने बताइन्छ । २ हजार मतदाता रहेको यो वडामा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई एक्लैले ८३७ मत ल्याएका थिए । खरायो चुनाव चिह्न लिएर सुव दल सेलिङ पनि स्वतन्त्र उठेका थिए । तर अन्य दलबाट त्यहाँ उम्मेदवारी परेको थिएन । धर्मगुरु लिङ्देन सार्वजनिक रूपमा थेगिमको पक्षमा नखुले पनि यसपटक पहिचानको पक्षमा त्यहाँको मत जाने धेरैको बुझाइ छ ।

अर्जुन आचार्य, लोकेन्द्र भट्ट/रातोपाटी

सम्बन्धित खवर