यसरी बढ्छ किरात धर्म - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यसरी बढ्छ किरात धर्म

  • आङबुहाङ अवोध अविरल

थालनी

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ बाह्रौं राष्ट्रिय जनगणना २०७८ (बैसाक—असार) मा गरिंदै छ । नेपालमा वि.सं. १९६८ देखि प्रत्येक १० वर्षमा जनगणना गर्ने काम शुरु गरिएको हो । जनगणनामा गणकहरुबाट घरमै पुगेर परिवारका सबै व्यक्तिहरुको जनसांख्यिक, धार्मिक, सामाजिक तथा आर्थिक विवरणहरु संकलन गरिन्छ । जनगणनाबाट प्राप्त नतिजा देशको लोककल्याणकारी नीति तथा कार्यक्रमहरु तर्जुमा, प्रदेश, स्थानीय तह र निर्वाचन क्षेत्रहरु विभाजन, सामाजिक तथा आर्थिक विकासका लागि योजना तर्जुमा र अध्ययन—अनुसन्धान गर्न प्रयोग हुन्छ ।

जनगणनाले जाति र समुदायको भाषिक, धार्मिक पहिचानलाई स्थापित गर्न सहयोग गर्दछ ।

के हो किरात धर्म ?

किरातीहरु नेपालका आदिमवासीहरु हुन् । किरात एक ठूलो मानव शाखा हो । किरात सभ्यता नेपालको एक प्राचीन सभ्यता हो । किरातीहरुको बेगल र विशिष्ठ धार्मिक, भाषिक र सांस्कृतिक परम्परा रहेको छ । किरातीहरुले प्राचीन कालदेखि आफ्नो मूल वृत्ति, प्रवृत्ति र सदाचार अपनाएर आफ्नो खास मार्ग रेखाङ्कन गरेर ल्याएका छन् । सम्पूर्ण किरात जनसमुदायले युगयुगदेखि अपनाएर ल्याएको यस मार्गलाई किरात धर्म भनेर चिनिन थाल्यो । किरात धर्ममा मूलतः प्रकृति पूजा, पितृ पूजा, सत्मार्ग, समानता मूल वृत्ति र प्रवृत्ति हुन् । किरात कूलमा जन्मनुभएका विभिन्न मुहिङगुम अङसीमाङहरुले किरात धर्मलाई शान्ति, अहिंसा, समानता र मानवताका मार्गमा डो¥याइरहनु भएको छ ।

किरात धर्म नेपालको एक प्राचीन, मौलिक र रैथाने धर्मको हो । प्राकृतिक शक्तिप्रति अटुट श्रद्धा र विश्वास राख्नु, माङको शक्तिमा विश्वास गर्नु, फक्ताङलुङ, चोमोलुङ, मुक्कुमलुङ, डाँडा पाखा, ढुङगा माटो, नदी नाला, माङहिम, मुन्धुमआदिलाई पवित्र ठान्नु, सेवा पूजा जस्ता उपासनाका माध्यमहरु अंगाल्नु, लोक र अदृश्य लोकबीचको सम्बन्ध र तिनलाई नियमित गर्न संस्कार विकास गर्नु आदि किरात धर्मको मुख्य विशेषता हुन् ।

जनगणनामा किरात धर्म

किरात धर्म राष्ट्रिय जनगणना वि.सं. २०४८, २०५८ र २०६८ मा चौथो ठूलो धर्मको रुपमा रहेको छ । किरात धर्म प्राचीन धर्म भएपनि नेपालमा करिब दुई हजार वर्षदेखि हिन्दु राज्य सञ्चालन गरिएकोले यसले विकास र विस्तार हुने राम्रो अवसर पाएन । किरातीहरुलाई राज्यले राष्ट्रिय जनगणना २०४८ अघि हिन्दु धर्मावलम्बीहरुको रुपमा चिनायो ।

नेपालको आधुनिक इतिहासमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले किरात धर्म पुनः उत्थानको काम थाल्नुभयो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले २०३८ सालको राष्ट्रिय जनगणनादेखि किरात धर्म लेखाउन पहल थाल्नुभयो । राष्ट्रिय जनगणनामा २०६८ मा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्या, किरात याख्खा छुम्मा र किरात सुनुवार समाजको पहलमा ८,०७,१६९ जनाले किरात धर्म लेखाएका थिए । यसले किरात धर्मलाई एक प्राचीन र रैथाने धर्मको रुपमा स्थापित गरेको थियो ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा १० धर्महरु रहेका छन् । २ करोड ६४ लाख ९४ हजार ५०४ जना धर्मावलम्बी रहेको हिन्दु धर्म नेपालको सबैभन्दा ठूलो धर्म हो । ६०९ धर्मावलम्बी रहेको शिख सबैभन्दा कम जनसंख्या रहेको धर्म हो । किरात र बौद्ध धर्म नेपालबाट विकास भएका धर्महरु हुन् ।

यसरी बढ्छ किरात धर्मावलम्बीको संख्या

राष्ट्रिय जनगणना २०६८ मा किरात धर्मावलम्बीहरुको संख्या ८,०७,१६९ रहेको छ । यो कूल धार्मिक जनसंख्याको ३.०४ प्रतिशत हो । नेपालमा आफूलाई किरात दावि गर्ने जातिहरुको संख्या लगभग १२ लाख रहेको छ । राई, लिम्बू, याख्खा, सुनुवार, थामी, जिरेल आदि जातिले आफूलाई किरात जाति भनी गर्व गर्दछन् । यसअघि राईका थरको रुपमा चिनिएका वान्तावा, चाम्लिङ, याम्फू, नाछिरिङ, साम्पाङलगायतले राष्ट्रिय जनगणनामा फरक जाति उल्लेख गरका छन् । किरात जातिमध्ये ६७.४९ प्रतिशत किरातहरुले मात्र धर्मको महलमा किरात धर्म लेखेको देखिन्छ । बाँकी ३२.५१ प्रतिशत अर्थात चारलाख किरातीहरुले हिन्दु र अन्य धर्म उल्लेख गरेको देखिन्छ ।

नेपाल लामो समयसम्म देखि हिन्दु राज्यको रुपमा रहेकाले हिन्दु धर्मको प्रभाव अन्य धर्ममा परेको छ । राष्ट्रिय जनगणना २०३८ सम्म नेपालमा हिन्दु धर्मावलम्बीहरुको संख्या ९० प्रतिशत रहेको तथ्यांकहरुले देखाउँछ । नेपालमा प्रजातन्त्र पुनर्वहाली पश्चात भने बौद्ध, किरात, मुस्लिमलगायतका धर्मावलम्बीहरुले निर्धक्कका साथ आफ्नो धर्म उल्लेख गर्न पाएका थिए ।

किरात जातिहरुको जनसंख्या

यसअघिका जनगणनामा हिन्दु, प्रकृति र अन्य धर्म लेखाउने किरातीहरुलाई किरात धर्म लेख्न ‘कन्भिन्स’ गर्न सकेमा किरात धर्मावलम्बीको संख्या ४.५ प्रतिशत पुग्न सक्छ । किरात धर्ममा प्रकृति धर्म लेख्ने जातिलाई समेट्न सके किरात धर्मावलम्मबीहरुको संख्या ५ प्रतिशत पुग्नेछ । थारु, मगर र नेवार समुदायका कतिपय विद्धानहरुले आफूहरु किरात जाति भएको बताइरहेका छन् । यद्यपि, प्रकृतिपुजक अधिकांश थारुहरुले आफूलाई हिन्दु धर्मावलम्बीहरुको रुपमा चिनाउँदै आएका छन् । केहीले भने प्रकृति धर्म उल्लेख गरेको बुझिन्छ । मगर जातिले भने हिन्दु र बौद्ध धर्मावलम्बी उल्लेख गरेका छन् । नेवार समुदायमा अधिकांश हिन्दु र बौद्ध धर्मावलम्बी छन् । तर, नेवारभित्रको पूराना काठमाण्डौंबासी ज्यापूहरु भने आफूहरु किरात भएको दावि गर्दछन् ।

मगर र थारुभित्र आफूलाई किरात भन्न रुचाउनेहरुलाई किरात धर्म लेख्न प्रेरित गर्न सकेमा किरात धर्मावलम्बीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि हुन सक्छ । यसका साथै धिमाल, मेचे, बराम लगायतका जातिहरु पनि किरात महा जाति भित्रै पर्दछन् । यी जातिहरुले साझा धार्मिक पहिचान स्थापित गर्न किरात धर्म जनगणनामा लेखाएमा किरात धर्मावलम्बीहरुको संख्यामा उल्लेख्य वृद्धि हुनसक्छ ।

किरात धर्मका शान्ति, समानता, मानवता, एकता र प्रकृतिपूजाजस्ता दर्शनमा आवद्ध भएर किरात धर्मावलम्बी बन्ने क्रम पनि बढिरहेको छ । किरात धर्मलाई व्यापक प्रचार प्रसार गर्न सके गैह्र किरात जातिमा पनि आकर्षण बढ्न सक्ने देखिन्छ ।

(लेखक मङसेबुङ मासिकका स्तम्भकार हुन्/प्रस्तुत लेख माङसेबुङ मासिकको कातिक अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर