सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको तयारी पूरा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको तयारी पूरा

माङसेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहको तयारी अन्तिम चरणमा पुगेको छ ।

हरेक वर्ष माघ ४, ५ र ६ गते वृहत रुपमा मनाइदैं आएको खिबेक्वा याक्वा सेवा जोखिमका कारण यसवर्ष सोमबार (भोली) आयोजना गरिएको याक्वा सेवा कार्यक्रम प्रभावित भएको आयोजक समितिले जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी खिबेक्वा याक्वा सेवा मनाइने सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह आयोजक समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

कोरोनाका कारण विगतमा जस्तो यसवर्ष याक्वा सेवाका लागि प्रचारप्रसार गरी भक्तजनहरुलाई निमन्त्रणा पनि नगरिएको अध्यक्ष योङहाङको भनाई छ । अध्यक्ष योङहाङका अनुसार व्यापक प्रचारप्रसार नगरी सामान्य रुपमा सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा मनाउन लागेको हो ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने समारोहमा यस वर्ष जिल्ला समन्वयन समितिका संयोजक गणेश बराल आउने भएका छन् । कार्यक्रमको उद्घाटन समारोहमा दीप प्रज्वलन गर्न तथा शुभकामना दिन संयोजक बराल माङसेबुङ आउन लागेका हुन् ।

नाम्धुङ लाधुङ सेमी सेवा

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहको अवसरमा विगतका वर्ष झै येत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको छ ।

समारोहको सेवा सञ्चालन विभाग किरात साम्यो माङसेवासाबा पान्जुम्भोको संयोजनमा शनिबार साक्मुरा वादेम्मा गरिएको र आइतबार (आज) किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको जनाइएको छ ।

यसरी समारोहको सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोले पनि कार्यक्रममा प्रस्तुत गरिने स्वागत गीतहरु तयारी गरिसकेको जनाएको छ । विगतका वर्षमा भव्य सांस्कृतिक कार्यक्रमको संयोजन गर्दै आएको साक्थिम्गेनले यसवर्ष कोरोनाका कारण सामान्य औपचारिक कार्यक्रममा चाहिने प्रस्तुति मात्र तयार पारेको सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष रामबहादुर थुलुङले बताए ।

समारोहको स्वंयमसेवक विभाग संयोजक किरात साम्यो नालीफूङवा पान्जुम्भो र सरसफाई विभाग संयोजक किरात साम्यो थामेन्दीङमा पान्जुम्भोले पनि सम्पूर्ण जिम्मेवारी पूरा भइसकेको जनाएको छ । विभाग उपसमितिहरुले आइतबार (आज) साँझसम्ममा सम्पूर्ण आआफ्ना विभागीय जिम्मेवारी पूरा गर्ने गरी काम धमाधम गरिरहेको मूल समारोहका अध्यक्ष योङहाङको भनाई छ ।

समारोह कार्यक्रम अन्तर्गत मंगलबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट अमृतमय माङआशीर्वचन प्रदान हुने भएको छ । त्यसैगरी सोही दिन माङवाहाङवा (बीउविजन) वितरण समेत हुने मूल समारोहले जनाएको छ ।

सम्बन्धित खवर