महागुरुले देखाउनु भएको मार्ग दर्शन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरुले देखाउनु भएको मार्ग दर्शन

  • रमेश तुम्बापो ‘हाङसाम’

वस्तुतः महागुरु फाल्गुनन्दले मानव जातिलाई दिनुभएको मार्ग दर्शन सत्य प्रदान मार्ग दर्शन हो । मानव जातिले विहान उठेदेखि बेलुका नसुतेसम्म, जन्मे देखि मृत्यु नभएसम्म गरिने÷गर्ने कामहरु सम्पदान गर्दा सत्यलाई केन्द्रमा राखेर कर्म सम्पादन गर्नुपर्छ भन्नेमा विशेष जोड दिएको पाइन्छ ।

यसर्थ वहाँको सिवाखाहुन उपदेशले मानव जीवनमा बाञ्छित परिवर्तनको तडकारो माग गर्ने गर्छ । सत्य, अहिंसा, सेवा, माङसेवा, अनुचित लोप, क्रोध, घमण्ड र दुव्र्यसनबाट मुक्त हुन उनका उपदेशका सार्तकता हुन । तर गारो कुरा आफ्नो यथास्थितिको आचरण व्यवहारलाई परिवर्तन गर्नुमा रहेको छ । आफूलाई महागुरु फाल्गुनन्दको मत प्रचारक तथा अनुयायी ठान्नेहरु वास्तवमै सच्च अनुयायी भक्त हुन नसक्नुको कारण पनि आफ्नो पुरानो आचरण, व्यवहार, बानी व्यहोराबाट छुट्न नसक्नु नै रहेको देखिन्छ ।

जसरी रगत चुस्ने जुका जाडो याममा केबल निष्क्रिय मात्र हुँदैन कुन ठाउँमा कसरी सुरक्षित लुकेर बसेको हुन्छ कसैलाई थाहासम्म हुँदैन । तर गर्मीयाम सुरु हुन साथ थोरै मात्र पानी परे पनि अनुकुल वातावरण पाउनसाथ पुनः रगत चुस्न सक्रिय हुन्छन् । महागुरु फाल्गुनन्दको उपल्लो तहका (कार्यकर्ता) अनुयायीहरुको अवस्था पनि यी जुकाहरुको स्वभाव भन्दा फरक देखिन्दैन ।

अवसर पाउँदा उनीहरु भित्रको लोभ, मोह, आशक्ति, अहंकार जस्ता विकारहरु पुरानै अवस्थामा फर्केर सक्रिय हुँदारैछन् । यसका अनेक प्रमाणहरु चाङ लागेर बसेका छन् । यस्तो स्थितिले आफ्ना गुरुले देखाएको मार्गदर्शनमा म कहाँ छु ? भनेर अपन गरेको छ । नित्य, पूजापाठ, जपतप, ध्यान, तपस्या, अनुष्ठान, दान गरेपछि चेला हुनुको कर्तव्य पूरा भयो भन्ठान्नु सत्य परक हुनै सक्दैन । यथार्थमा उनको सिवाखाहुन, उपदेश अनुसार जीवन पद्धति निर्माण गरेर समाजमा प्रस्तुत हुन सक्नु नै उनका सच्चा भक्त हुन भन्ने कुरा बुझ्न आवश्यक छ । त्यसका लागि आफ्नो जीवनशैली, आचरण, व्यवहारमा भारी परिवर्तनको आवश्यकता पर्दछ । तसर्थ महागुरु फाल्गुनन्दको सत्य प्रदान उपदेशले भने अनुसार साँच्चिकै आफै परिवर्तन हुने कि नहुने ? आफू परिवर्तन नभई अरुलाई कसरी परिवर्तनको उपदेश दिने ।

अहिले महागुरु फाल्गुनन्दका मतावलम्बीहरुलाई यहीँ प्रश्नले जिस्काईरहेको छ । संक्षेपमा यस परिवर्तनको अर्थ असल कुराको ग्रहण र खराब कुराको त्याग गर्न सक्नुलाई भनिएको हो । वास्तमै भन्नुपर्दा जसले दिनहु (साँझ विहान) गुरुको दर्शन भेट गर्छ, त्यसले आफू चाँही गुरुको विशेष अनुग्रह प्राप्त चेला ठान्ने, अन्य वर्षौ दिनमा एक दुई पटक मात्र गुरु दर्शन गर्ने चेलाहरु कम अनुग्रहित ठान्ने प्रवृत्ति पनि हामी कहाँ नभएको होइन । के आफूलाई विशेष अनुग्रह प्राप्त शिष्य ठान्नु अहंकार होइन ? महागुरुको उपदेशले यहाँ गर्नु अनुमति दिएको छ र ? महागुरु फाल्गुनन्दको उपदेशले हिंसा शब्दलाई व्यापक अर्थमा परिभाषित गरेको छ ।

वहाँको भनाई अनुसार ‘आँसु खानु र मासु खानु एउटै हो ।’ यथार्थमा चोरी, डकैति, भष्टचार, व्यभिचार, जालझेल, षडयन्त्र, दाउपेच, छलकपड, अनुचित लोभ, अहंकार, आशक्ति आदि सबै हिंसाको परिभाषा भित्र पर्दछ । साँच्चिनै वहाँका विचार दर्शनलाई हाक्ने संघ–संस्थाका उपल्लो तहका कार्यकर्ताहरु यस्ता विकारबाट अछुतो रहन सकेको छन् त ? दुनियाँको अन्तर मनले सोधिरहेको प्रश्न यहीँ हो । अहिंसा, सत्यसम्म पुग्ने एक मात्र विकल्प रहित साधन हो । अहिंसाको पूर्ण पालना बिना सत्यसम्म कदापि पुग्न सकिन्न । यो स्वंयम महागुरुको वाणी हो । नित्य, पूजापाठ, ध्यान, तपस्या, जपतप, दान दक्षिणा, अनुष्ठान गर्नु र दुव्र्यसनबाट टाढा रहनाले अहिंसाको पालनामा सकरात्मक सहयोग मिल्न सक्छ ।

तर, इतिहासमा कैयौं साधु, सन्त, महन्तहरु पनि कर्तव्यबाट खण्डित भएका दृष्टान्तहरु छन् । त्यसकारण महागुरु फाल्गुनन्दका विचार, दर्शनका प्रचारक सम्बन्धित संघ–संस्थाका उपल्लो कार्यकर्ताहरु, अनुयायीहरुले वहाँको बहुमुल्यको उपदेशलाई भित्रि अन्तरमनले नै ग्रहण गरेर आफ्नो जीवन पद्धतिमा ढाल्न सक्नुपर्छ । वहाँको उपदेशको वरिपरि पूर्व परिपालनाले मात्र सत्य सामु पुग्न सकिन्छ । सत्य नै शान्तिको निर्विकल्प आधार हो । सत कर्मले मात्र शान्तिको जग हाल्न सक्छ । शान्तिको जगमा मात्र सुख, समृद्धि, आनन्दको बीउ अंकुरिन सक्छ । तसर्थ महागुरु फाल्गुनन्दका अनुयायीहरुले सत्यलाई मियो बनाएर कर्म गर्ने दृढ गर्ने संकल्प गर्नु सक्नुपर्छ ।

तब मात्र वहाँको सपना साकार हुन सक्छ । सुनपानी, तिलपानीले दिनहुँ चोखिएर आफू भित्रको सबैखाले कर्मको स्रोत ‘मन’ शुद्ध हुन सक्दैन । मन शुद्ध हुनका लागि दृढ संकल्प चाहिन्छ । सत्य संकल्पको पवित्र जलले कर्मको मुहान मनलाई धुएर सफा गर्नुपर्छ ।

मन सफा भएपछि कर्म आफै उज्यालो भएर आउँछ । कर्म उज्यालो भएपछि माङवा–हाङवा पेली पान्जाङ, नुमावा, तामावाको ढोका खुल्दै जान्छ । महागुरु फाल्गुनन्दले मानव मात्रलाई यहीँ सत्यको मार्ग देखाएर जानु भएको छ ।

महागुरु फाल्गुनन्द–अमर रहुन

(लेखक मङसेबुङ मासिकका स्तम्भकार हुन्/प्रस्तुत लेख माङसेबुङ मासिकको कातिक अंकमा प्रकाशित लेख हो)

 

सम्बन्धित खवर