संगीत मनको भाव प्रकट गर्ने माध्यम हो : आइन्द्र - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत मनको भाव प्रकट गर्ने माध्यम हो : आइन्द्र

कोक्मानु फाङजङ. सेल्लोवान हाप्पा लाजेहा कन्दुर… बिरपन थेगिम लिम्बुको शव्दभावहरुमा लेखनाथ चेम्जोङको संगीतमा सजिएको ह्दयस्पर्षी गीत गाएर कला क्षेत्रमा होमिएका सम्भावनाले भरिएका उम्दा प्रतिभा हुन्, उम्दा गायक आइन्द्र थेगिम लिम्बु । बिगत डेढ् दशक अघिदेखि गाउन सुरु गर्दै कला क्षेत्रमा पाइला चालेका आइन्द्र गीत संगीतमा स्थापित हुन संघर्ष गरिरहेका छन् ।

आफ्नै परिवारबाट गीत गाउने प्रेरणा मिलेर गायन यात्रा आरम्भ गरेको बताउने गायक आइन्द्र गाँउघरको परिबेशबाट हौसला अनि माया मिलेकै कारण कलाक्षेत्रमा निरन्तर अघि बढ्ने साहस जुटाउन सकेको बताउछन् । जीवनमा संघर्षलाई सधैं आत्मसाथ गरेर अघि बढ्ने साहस बटुलेर गायन यात्रामा कदम चालेका उनी कलाक्षेत्रमा सोचे अनुरुपको सहज परिस्थिति नरहेको तर निरन्तर संघर्ष, मेहेनत र लगशिल भएर अघि बढ्यो भने कलाक्षेत्रमा बाँच्न सकिने बताउँछन् ।

संगीत मनको भाव प्रकट गर्ने माध्यम हो भन्ने आइन्द्र संगीत त्यो ललित कला हो, जस्को माध्यमबाट मनका भावहरु सजिलै संग हजारौं, लाखौं मन मुटुमा सजाउन सकिने बताउछन् । किरात धर्म सम्वद्ध साँस्कृतिक समिति किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोको सचिवमा समेत रहेर कला क्षेत्रमानै भविश्य खोजिरहेका उनी भविश्यमा समेत गीत संगीतको अलावा किरात धार्मिक संघ संस्थामानै आवद्ध रहेर जीवन व्यतित गर्ने बताउछन् ।

प्रेम आभाष गर्नु, महसुस गर्नु हो, भन्दै मुसुक्क मुस्कुराउदै प्रेममा अन्धाधुन्ध परेको छु बताउने आइन्द्र इलामको फाकफोकथुम–३ साविक आम्चोक–२, रातमाटेमा अढाई दशक अगाडि जन्मेका हुन् । असोज १० लाई जन्मदिन मान्ने मिजासिलो, मनकारी, जो कोहि संग सजिलै घुलमिल हुन सक्ने स्वभाव भएका उनी परिवारको सपोर्टले गर्दा कला क्षेत्रमा निरन्तर अघि बढ्दै आएको र निरनतरता दिइरहने बताउँछन् । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नु छ त त्यसको गहिराईसम्म पुग्नु पर्छ भन्ने उक्तिलाई शिरोधार्य गर्दै गीत संगीतको गहिराईसम्म डुबुल्की मार्नै संकल्पका साथ संघर्षको मैदानमा उत्रेका उनी संगीतमै केहि गर्ने आँट समेत बटुलेका प्रतिभा हुन् ।

हाल सम्म ६ वटा गीतहरुमा र थुप्रै कोरसहरुमा आवाज दिइसकेका आइन्द्रले चाँडै तीन देखि पाँच वटा गीतहरु बजारमा ल्याउने बताउछन् । आफ्नै मेहेनत र लगनशिलतामा बिश्वास राख्दै रमाउने स्वभावका उनी गाउँ बेशी र मेलापातमा सधै सबैले गुनगुनाउने खालका लोक भाका देखि लिएर आधुनिक गीतहरु समेत गुनगुनाउन रुचाएको आफ्नो मनको कुरात पोख्छन् । संगीत प्रति अथाह प्रेम बढेको, रस भिजेको बताउने उनी संगीतलाई जीवनको अभिन्न अंगरुपमा मान्न थालेका छन् ।

प्रस्तुति :आन्छुमे नसान

(प्रस्तुत फिचर माङसेबुङ मासिकको माघ अंकमा प्रकाशित फिचर हो)

सम्बन्धित खवर