प्रदेशस्तरमा पूर्व राजपाको समिति छैन : यादव - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेशस्तरमा पूर्व राजपाको समिति छैन : यादव

दमक । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय नेता महेन्द्र राय यादवले पूर्व राजपातर्फ प्रदेश नम्बर १ मा आधिकारिक समिति नरहेको बताएका छन् ।

मंगलबार झापाको दमकमा आयोजित पार्टीको क्षेत्रस्तरीय प्रशिक्षण तथा अन्तरकृयामा बोल्दै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवले यस्तो बताएका हुन् ।

जसपा झापा क्षेत्र नम्बर ५ ले आयोजना गरेको सो कार्यक्रममा उनले भने– ‘पूर्व राजपातर्फ प्रदेशस्तरमा समितिहरु थिएनन् । प्रदेश १ मा पनि छैन । कसैले छ भन्छ भने त्यो जालझेल मात्र हो । जालझेलले पार्टी बन्दैन । त्यस्तो काम गर्नु हुँदैन ।’

समाजवादी पार्टी र राजपा एकताको समयमा राजपातर्फ अध्यक्ष मण्डल अध्यक्ष समेत रहेका उनले प्रदेश १ मा पूर्व समाजवादी पार्टीको समिति नै स्वतः एक मात्र कार्यकारी समिति भएको स्पष्ट पारे । प्रदेशमा प्राप्त मतका आधारमा पूर्व राजपालाई पनि समेट्न यादवले सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका यादवले प्रधानमन्त्री केपी ओलीले संविधानमा आघात र देशप्रति घात गरेको आरोप लगाए । उनले फागुन पहिलो हप्ताभित्र कांग्रेस, नेकपा (माधव(प्रचण्ड समूह) र अन्य अग्रगामी राजनीतिक शक्तिहरुसँग संयुक्त मोर्चा निर्माण गरेर ओलीको प्रतिगामी कदम विरुद्ध लड्ने बताए ।

कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले आफूहरु प्रतिगमन विरुद्ध जन जागरण अभियान सहित पार्टी समायोजन र रूपान्तरण कार्यमा जुटेको बताए ।


प्रदेश १ मा छिट्टै तहगत पार्टी समितिहरु समायोजन र रूपन्तरण गर्ने भन्दै चाम्लिङले मतका आधारमा जसपा तेस्रो शक्ति भए पनि अग्रगामी मुद्दाका आधारमा पहिलो राजनीतिक शक्ति भएको दावी गरे ।

कार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य पर्शुराम बस्नेत, केन्द्रीय सदस्यहरु दिपक मेन्याङ्बो, हरिदेवी राई, उमेश थापा, दिनेश मेहेता लगायतले बोलेका थिए ।

जसपा क्षेत्र नं ५ का अध्यक्ष ओममाया आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा दमक नगर अध्यक्ष खेम दाहालको स्वागत, क्षेत्रीय उपाध्यक्ष हिरालाल राजवंशीको धन्यवाद ज्ञापन र झापा क्षेत्र ५ (२) का अध्यक्ष दिपक न्यौपानेको सन्चालन रहेको थियो । २५ जनाले जसपा प्रवेश गरेका थिए ।

 

सम्बन्धित खवर