माङसेबुङमा आदिवासी अधिकारबारे कानूनी साक्षरता सञ्चालन - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा आदिवासी अधिकारबारे कानूनी साक्षरता सञ्चालन

माङसेबुङ । आदिवासी अधिकार र पहिचानका मुद्दाकाबारे २ दिने कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम सोमबार सुरु भएको छ ।

धार्मिक स्थल इलामको माङसेबुङ ५ निजी गुरु आश्रममा अवस्थित माङपान इङदङहिममा आयोजना गरिएको सो प्रशिक्षण कार्यक्रमलाई नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) का सचिव अधिवक्ता शंकर खापुङ लिम्बूले सहजीकरण गरिरहनु भएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देव समुपस्थितीमा सञ्चालन गरिएको प्रशिक्षणमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले आशीर्वचन दिनु भएको थियो ।

आदिवासी जनजातिको अर्थ, परिभाषा र पहिचान, आदिवासीको पहिचानको अधिकार, आदिवासीकाृ भूमि तथा प्राकृतिक स्रोध साधन माथिको अधिकार र आदिवासीको राजनीतिक अधिकार लगायतका विषयमा अधिवक्ता लिम्बूले महत्वपूर्ण प्रशिक्षण दिनु भएको थियो ।

सहजीकरणको क्रममा, अधिवक्ता लिम्बूले आदिवासी जनजाति भन्ने शब्द केही समय पहिले होच्याउने शब्द मानिएको तर अहिले यो शब्दमा होडवाजी चलेको बताए । अधिवक्ता लिम्बूले थपे, ‘आदिवासीको अधिकारलाई मानव अधिकारका कानूनले छुट्टै सामुहिक र व्यक्तिगत रुपमा मान्यता दिएको र संविधान, कानून र नीतिले आदिवासीको हक हितका विषयमा छुट्टै व्यवस्था गरेको छ ।’

आफ्नौ मातृभाषा र परम्परागत रीतिरिवाज भएका, छुट्टै सांस्कृतिक पहिचान भएका, छुट्टै सामाजिक संरचना भएका र लिखित र अलिखित इतिहास भएका जाति, समुदायलाई आदिवासी जनजाति भनि परिभाषा गरिएको अधिवक्ता लिम्बूको भनाई छ ।

नेपालका आदिवासीहरुको हक अधिकार खोसिएकोमा नाकमा साङली लगाएर सरकारलाई माफ मगाउने दिन समेत आउन सक्ने भन्दै, प्रधानमन्त्रीले संविधान, कानून र सन्धीहरु मान्नुपर्छ कि पर्दैन भनि प्रश्न गर्नुपर्ने लाहुर्निपका सचिव समेत रहेका सहजकर्ता लिम्बूले बताए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं. ५, का वडा अध्यक्ष नरेन्द्रकुमार राई, अतिथिहरु किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, प्रस्तावित लिङ्देन आत्मानन्द सेइङ बहुमखि क्याम्पसका प्रमुख होमबहादुर लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मंगलबारसम्म सञ्चालन हुने कानुनी साक्षरता प्रशिक्षण कार्यक्रममा अधिवक्ता एन.एस. फागोले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृषि समितिका सचिव उदयविक्रम तुम्बापोले राखेका थिए भने, कल्पना लिङ्देनले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा गुरु निजी आश्रम कृषि समितिको आयोजना र गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिको सह आयोजनामा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम कृषि समितिका अध्यक्ष टिका केरुङको अध्यक्षतामा सञ्चालन गरिएको हो ।

तस्वीर : सुमन लाओती

सम्बन्धित खवर